अपडेट 
२०८० जेष्ठ १४, आईतवार ०६:३१

जनता समाजवादी पार्टी( जसपा) धनुषाको विवाद चुलिएको छ । राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थिति र सहमतिमा घोषणा गरिएको धनुषा जिल्ला कमिटी विभाजित भएको छ ।

जिल्ला अध्यक्ष बनाइएका पशुपति यादवको नेतृत्वमा शुक्रबार पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरे । ५१ सदस्यीय जिल्ला कमिटीको २७ जनाले शपथ लिएका थिए । त्यसको २४ घण्टा नवित्दै केन्द्रीय सदस्य उर्मिला साहले शनिबार शत्रुधन यादवलाई अध्यक्ष घोषणा गर्दै बहुमत सदस्यले शपथ लिएको बताइएकी छन् । धनुषामा अब जसपाका २ जना अध्यक्ष भएका छन् । राष्ट्रिय अध्यक्ष यादवले बनाएका कार्यदलका संयोजक सांसद दीपक कार्कीले पशुपति यादव अध्यक्ष रहेको ५१ सदस्यीय जिल्ला समन्वय समिति घोषणा गरेका थिए । सो घोषणा कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष पशुपति यादवले आफूसँगै २७ जनाले शपथग्रहण गरेको बताउँदै थप ७ जनाले पारिवारिक कामको कारण आउन नसकेको जानकारी गराएको बताए । उनीहरुलाई प्रदेश अध्यक्ष रामबाबु यादवको निर्देशन अनुसार रामसेवक यादवले शपथ गराएका थिए ।

धनुषामा समानान्तर कमिटी गठन गरी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई सोझै चुनौती दिएको जिल्लाका नेताहरुको कथन छ । मधेश प्रदेशका अध्यक्षसमेत रहेका कार्यकारिणी समितिका सदस्य रामबाबु यादवले केन्द्रीय निर्देशन अनुसार बनेको कमिटीलाई प्रदेशले शपथग्रहण गराइ मान्यता दिइसकेको बताएका छन् । ‘पार्टी विधान विपरीत कार्यगर्नेहरुलाई कारबाही गरिनेछ ’ उनले भने, जिल्ला कमिटीको विरोधमा अर्को भेलागर्नेहरु मध्ये प्रदेशका सचिव जितेन्द्र यादवसहित सदस्यहरुलाई स्पष्टीकरण सोधिनेछ ।जसपा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष पशुपति यादव रहेको उल्लेख गर्दै उनले भने, पार्टीमा गुटबन्दी गर्नेहरुलाई सोझै कारबाही हुनेछ ।

प्रदेश सचिव यादव, प्रदेश सदस्य ज्ञानेन्द्र यादव, केन्द्रीय सदस्य चमेली दास, शैलेन्द्र यादवलगायतले धनुषामा पार्टी भित्र गिरोह खडा गर्न चाहेको आरोप लगाइएको छ । जिल्लामा समानान्तर कमिटी गठन हुनु पार्टीको हित विपरीत रहेको केन्द्रीय सदस्य महाजन यादवले जनाएका छन् । ‘कार्यदलले घोषणा गरेको कमिटीप्रति सबैले विश्वास गर्नुपर्ने थियो’ उनले भने, निकट भविष्यमै हुने महाधिवेशनको क्रममा नेतृत्वको विषयमा नयाँ ढंगले छलफल गर्न सकिन्छ । केन्द्रीय नेतृत्वको विरोधमा जिल्लामा समानान्तर समितिको घोषणा पहिलो पटक भएको र यसले नकारात्मक असर पार्ने केन्द्रीय सदस्य रामगोविन्द यादवले बताए । ‘गत आम निर्वाचनमा गुटबन्दीकै कारण पार्टीले नराम्ररी पराजय भोग्नु परेको हो’ उनले भने, गुटबन्दी समाप्त गर्न केन्द्रले गरेको निर्णयलाईसमेत नमानेर समानान्तर कमिटीको घोषणा गर्नु संगठनको हित विपरीत हो ।

Comment


Related News

Latest News

Trending News