अपडेट 
२०८० जेष्ठ १४, आईतवार ०६:५३

जनकपुरधाममा हुन लागेको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आगामी सोमबारदेखि जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्य रंगशालामा सो प्रतियोगिता हुने छन् । मधेश प्रदेश क्रिकेट संघको आयोजनामा हुन लागेको यस प्रतियोगितामा मधेश प्रदेश सरकारसहितको लगानी छ । कुल लागत ७० लाख लाग्ने संघका अध्यक्ष हिरा भगतले जानकारी दिए । उनका अनुसार कुल लागत मध्ये ४० लाख प्रदेश सरकार र पाँच लाख नेपाल क्रिकेट संघ क्यानले सहयोग गरेका छन् । बाँकी रकम अन्य निकायलाई सहयोग गर्दिन आयोजकले अनुरोध गरेको छ । पहिलो खेल मधेश प्रदेश र कोशी प्रदेशबीच हुने खेल तालिका छ । प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी रहने छ । १२ दिनसम्म चल्ने यस प्रतियोगितामा कुल २२ वटा खेल नक आउट प्रणालीमा हुनेछन् । यही जेठ २६ गते प्रतियोगिताका फाइनल खेल गराउने आयोजक संस्थाको तयारी छ । प्रतियोगिताको विजेता टिमलाई तीन लाख र उपविजेतालाई दुई लाख नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि यही प्रतियोगिता सप्तरीको राजविराजमा जिल्ला स्तरीय भएको थियो । प्रतियोगिताको यो दोस्रो संस्करण हो । मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयको मुख्य सहयोगमा प्रतियोगिता हुँदै छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सांसद तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले गर्नेछन् । खेलकुद विकासको लागि प्रदेश सरकार तत्पर रहेको शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले बताए । उनले सरोकारवाला निकायसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता जनाए । सरकारले खेल सम्बन्धी विधेयक संदनमा प्रस्तुत गरेकोको पौराणिक खेल प्रवद्र्धन गर्ने उनले बताए ।

नगर प्रमुख मनोज कुमार साहले केन्द्रले निर्माणाधीन रामजानकी बहुउद्देशिय रंगशाला बन्न नदिन केही षड्यन्त्र भइरहेको सूचना आएको भन्दै पत्रकार सम्मेलन मार्फत खबरदारी गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनुदानमा दिन घोषणा गरेका एक अर्व भारतीय रुपैयाँ उक्त रंगशालामा लगाउने प्रदेश र स्थानीय सरकार तयार छन् । तर यही जेठ १८ प्रधानमन्त्री पुष्प कमल दाहाल भारत भम्रणमा जाँदै छन् । सोही भ्रमणमा सो रकम विभिन्न ठाउँमा खर्च गर्ने प्रस्ताव भारत सरकार समक्ष नेपालले राख्ने तयारी रहेको चर्चा छ ।

Comment


Related News

Latest News

Trending News