अपडेट 
२०८० जेष्ठ १५, सोमबार ०७:४३

मधेश प्रदेश सरकारमा बिना विभागीय मन्त्री र राज्यमन्त्रीहरु अलपत्र परेका छन् । उनीहरुलाई सरकारले उपलब्ध गराएको सवारी साधन र अंगरक्षक रहे पनि बस्ने ठाउँ भने छैन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इञ्जिनियर वसन्त कुशवाहा र सो मन्त्रालयका राज्यमन्त्री सञ्जय यादवको विभाग खोसेका थिए । कुशवाहा र यादव जनमत पार्टीबाट सरकारमा रहेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी(जसपा)बाट सामाजिक विकास मन्त्री रहेकी सुरिता साहको पनि मन्त्रालय खोसिएको छ । त्यस मन्त्रायलमा रहेका राज्यमन्त्री शेष अब्दुल कलाम आजाद(फुलबाबु)पनि मन्त्रालय विहीन भएका छन् ।

कुशवाहाबाट खोसिएको मन्त्रालय नेकपा एसका गोबिन्द न्यौपानेलाई दिएको छ ।तर मन्त्री कुशवाहाले निवास खाली नगरेको कारण न्यौपाने शरणार्थी बनेका छन् । बिना विभागीय मन्त्री भएकाहरु मुख्यमन्त्री कार्यालयमा बस्नु पर्ने हो । तर त्यहाँ पनि कुनै काम नभएको कारण दिनभरि आवासमा नै रहने गरेको मन्त्री कुशवाहाले जनाए । आवासको व्यवस्था नहुँदा अधिकांश समय जिल्लामा र जनकपुरधाममा आउँदा साथीहरुको कोठामा बस्ने गरेको बताए । ‘जनकपुरधाममा शरणार्थी भएर बस्नु परेको छ’ उनले भने, भूमि व्यवस्था मन्त्रीलाई नै बस्ने भूमि उपलब्ध छैन् ।

अर्का बिना विभागीय मन्त्री सुरिता साह भने आफ्नै निजी निवासमा बस्दै आएकी छन् । विभाग खोसिएदेखि उनी पनि मधेश भवनमा देखापरेकी छैनन् । राज्यमन्त्रीहरुलाई सरकारी आवास उपलब्ध गराइएको छैन् । गत सरकारले पनि राज्यमन्त्रीहरुलाई आवासका लागि भाडा उपलब्ध गराएको थियो । उच्चस्रोतहरुका अनुसार मंगलबार हटाइने मन्त्रीहरु हट्न सक्ने र रहने भए मन्त्रालय तोकिने छ ।

हाल गृह तथा सञ्चार र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले लिएका छन् । जनमत पार्टीलाई सरकारबाट हटाइए कांग्रेसको भागमा थप १ मन्त्रालय पर्नेछ । एउटा भने जसपाले नै राख्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News