अपडेट 
२०८० जेष्ठ १५, सोमबार ०७:५३

जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरुले कुटपिट गरेका छन् ।

विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरुसंग दुव्र्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरुले अभिभावक समक्ष गुनासो गरेपछि आइतबार अभिभावक र शिक्षकहरुबीच छलफलको लागि बैठक बोलाइएको थियो । सो बैठकको क्रममा शिक्षक झाको व्यवहारबाट आक्रोशित बनेका विद्यार्थीहरुले कुटपिट गरेका छन् । कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुसँग विगतदेखि नै शिक्षक झाले अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै अश्लिल शब्दहरु प्रयोग गरेको भन्दै उनीमाथि कुटपिट गरिएको बताइएको छ । बैठकमा कुनै निर्णय हुन नसक्दा विद्यार्थीहरुले शिक्षकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय समेत घेराउ गरेका छन् ।

यता प्रहरीले विद्यालयमा विवाद हुँदा अरुण कुमार कर्ण तथा अखिलेश झागरी दुई जना शिक्षकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरेको थियो । साँझ उनीहरुलाई छाडिएको छ । विद्यालयले करीब एक हप्ता अगाडि मर्निङ्ग कक्षा सञ्चालन गरेर फेरि ‘डे सिफ्ट’ मा परिवर्तन गरी विद्यार्थीलाई दुःख दिएको तथा यस्तो क्रियाकलाप प्रधानाध्यापक बलराम साहलगायत शिक्षकहरुले आफू अनुकूल हुने गरी विगतदेखि नै पटक –पटक समय परिवर्तन गर्दै आएको विद्यार्थीको गुनासो छ । विद्यार्थीहरुले शिक्षक झा कक्षामा आएर छात्राहरुसँग अश्लिल शब्द प्रयोग गर्ने गरेको, यौनजन्य क्रियाकलाप गर्न खोजेको, अभद्र व्यवहार प्रदर्शन गरेको लगायतका आरोपहरु लगाएका छन् । यस विषयमा प्रधानाध्यापकोमा गुनासो गर्न जाँदा कुटाइसमेत खानुपरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

कुटाइबाट शिक्षक झाको मुखमा गम्भीर चोट लाग्नुका साथै नाथ्री फुटेर रगत बगेको छ । विद्यार्थीहरुले यसअघि गत बिहीबार र शुक्रबार पनि विद्यालयबाहिरसमेत प्रदर्शन गरेका थिए । यता, यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक बलराम साहले विद्यार्थीहरुले कसैको उक्साहटमा शिक्षकमाथि हातपात गरेको प्रतिक्रिया दिएका छन् ।

Comment


Related News

Latest News

Trending News