अपडेट 
२०८० जेष्ठ १६, मंगलवार ०५:१६

१५ औ गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा सोमबारदेखि शुरु भएको राष्ट्रिय स्तरको महेन्द्र नारायण निधि टि–२० प्रतियोगिता शुरु भएको छ ।

सो अवसरमा वक्ताहरुले जनकपुरधामको विकासका लागि जनकपुरधाम आगमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एकसय करोड सहयोग रकममा राजनीति भइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्। सोमबार जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित रामजानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा शुरु भएको सो प्रतियोगिताको गर्दै प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले पनि सो रकममा राजनीति भइरहेको आफूलाई जानकारी हुन आएको बताए । त्यो पैसा कसैले गोपाल धर्मशाला त कसैले अन्य कुनै धर्मशाला बनाउन खर्च हुनुपर्छ भनेर भनिरहेको मैले पनि सुनेको छु भन्दै उनले भने, ‘मैले बुझे अनुसार त्यो पैसा यस रंगशालामा पनि खर्च हुन्छ भनेर निश्चित भएको छैन ढुक्क भएर नबस्नु होला ।’ आफू यसबारेमा बुझ्ने बताउँदै उनले यद्यपि रंगशालामै त्यो पैसा भारतले लगानी गर्ने कुराको पनि अहिलेसम्म कुनै ग्यारेन्टी नरहेको पनि उनले धारणा राखे ।

कार्यक्रममा मधेश सरकारका शिक्षा तथा सामाजिक कल्याण मन्त्री महेश प्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले पहिलो मधेश सरकारको कार्यकालमा भौतीक संरचनाको व्यवस्थापन र कोरोनाको कहर र व्यवस्थापनमै समय व्यतीत भएको भन्दै वर्तमान सरकार खेलकुद क्षेत्रको विकासका लागि तत्पर रहने बताउदै भारत सरकारको सहयोग रंगशालामै सदुपयोग गर्नुपर्नेमा जोड दिए। जनकपुरधामका मेयर मनोज कुमार साहले भारतीय प्रधानमन्त्रीले घोषणा गरेको सय करोड रंगशालामा सदुपयोग हुने प्रक्रियामा राजनीति गर्नेहरुलाई आफुहरु नछोडने बताए । क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन कुमार सिंहले मधेश प्रदेश सरकारले बजेट प्राथमिकतामा खेलकुद क्षेत्रलाई पार्न नसकेको गुनासो गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह, क्यानका प्रतिनिधिहरुसहितकाले आ आफनो धारणा राखेका थिए ।

मधेशको जित शुरुवात

।जनकपुरधाममा सोमबारदेखि शुरु भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुरुवाती जित हासिल गरेको छ ।

रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा भएको उद्घाटन खेलमा कोशी प्रदेशलाई दुई विकेटले पराजित गर्दै मधेश प्रदेश विजयी भएको छ । टस जितेर मधेश प्रदेशले कोशीलाई ब्याटिङका लागि आमत्रण गरेका थिए । कोशी प्रदेशले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २६ रनको लक्ष्य मधेश टिम समक्ष प्रस्तुत गरेका थिए । सो लक्ष्य मधेशका खेलाडीहरुले १९ ओभर ३ बलमा आठ विकेट गुमाएर पूरा गरेका थिए । मधेशले क्यापटेन हरिशंकर साहको रुपमा पहिलो विकेट तीन रन हुँदा नै गुमाएको थियो । दोस्रो विकेटको रुपमा पवन सराफ र इमरान शेखले ६० बलमा ७५ रनको साझेदारी गरेपछि मधेशको अवस्था मजबुत भएको थियो । मधेशको लागि इमरानले ३० बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३८ रन बनाए । उनलाई सघाएका पवनले तीन चौका र दुई छक्काको मद्दतले ३६ बलमा ३७ रनको योगदान दिए ।

मधेशका लागि विशाल सुशलिङ १५, अनिल साह दश र रुपेश सिंहले दश रन जोडेका थिए । यस्तै, कोसीको तर्फबाट बलिङ गरेका दिपेश कंडेलले तीन, मुकुन्द यादव र प्रकाश कार्कीले दुई÷दुई विकेट लिए । कोशीले ब्याटिङमा खराब सुरुवात गरेका थिए । पहिलो ओभरको पहिलो बलमै कोशीका सोनु अन्सारीलाई मधेशका रुपेश सिंहले आउट गरेका थिए । कोशीका तीन ब्याट्स म्यान बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका फिरदोस अन्सारीले सार्वधिक ४७ बलमा ३७ रन बनाएका थिए । उनी घाइते भएपछि पबेलियन फर्किएका थिए । यसै टिमका लागि सुजन थपालिया २८ र सिद्धान्त लोहनीले २७ रन बनाएका थिए ।

यस खेलको म्यान अफ दी म्याच मधेशका विशाल सुशलिङ घोषित भए । उनले १५ रन बनाएका थिए भने चार ओभरमा बीच रन खर्चेर दुई विकेट लिएका थिए । मंगलबार दुई खेल हुने खेल तालिका रहेको छ । पहिलो खेल कोशी र वागमतीबीच हुने छन् भने दोस्रो खेलमा मधेश र गण्डकीले प्रतिस्पर्धा गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News