अपडेट 
२०८० जेष्ठ १७, बुधबार ०६:२६

जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालयको पठन पाठन बन्द गरिएको छ ।

आइतबारका दिन बाहिरबाट आएका अपरिचित समूहले विद्यालयका अखिलेश झालगायतका शिक्षकहरुमाथि हातपात गरी गम्भीर घाइते बनाएको थियो । सो घटनाको विरोध गर्दै विद्यालय बन्द गरिएको भन्दै सोमबार विद्यालयका प्रधानाध्यापक बलराम साहले एक सूचना जारी गरेका थिए । उनले जारी गरेको सूचनामा भनिएको छ ,‘दोषीमाथि कारबाही नभएसम्म विद्यालय बन्द रहने छ।’ विद्यालय भित्र प्रवेश गरेर शिक्षकमाथि भएको कुटपिटको घटना निन्दनीय मात्र होइन विद्यालयलाई बद्नाम गर्ने प्रयाससमेत रहेको विद्यालयका शिक्षक अरुण कुमार कर्णले बताए । उनले भने,‘शिक्षकले गल्ती गरेको नगरेको बारे विद्यार्थीहरुलाई बोलाएरै सोध्दा उनीहरुले कुनै पनि समस्या नरहेको बताएका थिए तर बाहिरबाट आएका केही व्यक्तिहरुले बिना मतलब अखिलेश झालगायतलाई कुटपिट गरे ।’ विद्यालयको निम्न माध्यमिक तहको कम्प्युटर शिक्षक अखिलेश झालाई एक समूहले योजनाबद्ध रुपमा विद्यालयमा प्रवेश गरेर कुटपिट गरेको र विद्यालयलाई बद्नाम गर्ने षड्यन्त्र नै गरिएको शिक्षक कर्णले स्पष्ट पारे ।

दोषीहरूलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने उनले बताए । विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट दोषीलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन–पाठन ठप्प रहने जनाइएको छ । पठन पाठन ठप्प भएपछि विद्यार्थी मारमा परेका छन् । विद्यालयमै कार्यरत एक शिक्षकले नाम नखुलाउने सर्तमा भने,‘संकटमोचनमै कार्यरत एक शिक्षक जसले कोचिंगसमेत संचालन गरेका छन् उसैले यो घटना योजनावद्ध रुपमा गराएकोले दोषीमाथि कारबाही हुनैपर्छ’। सो विद्यालयमा आइतबार घटेको घटनाको विरोधमा शिक्षकहरूले प्रहरीमा लिखित रुपमा कारबाहीका लागि उजुरीसमेत दिएका छन् तर सो निवेदनमाथि कुनै सुनुवाइ नभएको गुनासो शिक्षकहरुले पोखेका छन् ।

यसै बीच नेपाल शिक्षक संघ नगर समितिले शिक्षकमाथि हातपात गर्ने दोषी माथि कारबाही नभएको खण्डमा नगर भरिका विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरेर कडा आन्दोलनमा उत्रने जनाएको छ । संघका नगर अध्यक्ष गौरी शंकरलाल कर्णले असामाजिक तथा गैर अभिभावकले आइतबार विद्यालयमा प्रवेश गरेर शिक्षकमाथि हातपात गरेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News