अपडेट 
२०८० जेष्ठ १७, बुधबार १७:१७

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन्।

​बुधबार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई विषेश धन्यवादसमेत दिएका छन्।

​‘मुलुकबाट नागरिकतासम्बन्धी समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने विषय दुरभाग्यपूर्ण हो’ उनले भने, ‘यस्तो मुलुक संसारमा कतै छैन्, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ-बोलाइ नागरिकता दिन्छन् तर यहाँ त नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ।’

​उनले विगतमा पनि लामो संघर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठूलो नै सघर्ष गर्नु परेको बताए।

‘मधेशमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं,’ उनले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो। संसदबाट दुई-दुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो।’

अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकतासम्बन्धी सबै समस्या समाधान हुनेमा आशावादी भएको अध्यक्ष यादवले बताए।

Comment


Related News