अपडेट 
२०८० जेष्ठ १८, बिहीबार ०६:०९

वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले चुरे उत्खनन गरेर बिक्री नहुने बताएका छन् । बुधबार जनकपुरधाम विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका छन् ।

सरकारले बजेटमा चुरे उत्खननको कुरा नगरेको उनको कथन छ । ‘बाढी आउँदा चुरेबाट नदीमा तल आएको बालुवा ढुगां हामीले प्रयोग गर्ने कुरा गरेका छौं,’उनले भने,‘जुन बालुवा र ढुगां खोलामा जमेर जाम हुन्छ । र, बाढी आउँदा खेती योग्य जग्गा, जंगल र चुरेलाई नै विानाश गर्छ ।’ चुरे नै उत्खनन् इण्डियालाई सरकारले बेच्न लागेको बुझाइ गलत रहेको उनले दाबी गरे । खोलामा जमेको वालुवा, गिट्टी देशमा पर्याप्त भएपछि बाहिर पठाउने कुरा रहेको उनले बताए । चरे संरक्षणमा यसपालि बजेट पनि कम रहेको छ भन्दै सबै जना मिलेर चुरे जोगाउनुपर्ने उनले बताए । ‘चुरेको वन र नदी संरक्षण प्रदेशको क्षेत्रअधिकार भित्र पर्दछ । संघले चुरे दोहन रोक्न जति काम गरे पनि प्रदेशले यदि साथ दिएन भने चुरे संरक्षण कहिले पनि गर्न सकिदैन’,उनले भने,‘चुरे संरक्षणका बारेमा मधेश प्रदेश सरकारसँग पनि छलफल गर्छौं । चुरे दोहन रोक्नका लागि हामी सशक्तरुपमा अघि बढ्छौं ।’ चुरेको क्षेत्रमा सञ्चालित अवैध क्रसर नियन्त्रणका लागि सरकारले ठोस निर्णय लिने उनले बताए । मापदण्ड विपरीतको दोहन नियन्त्रणका लागि पहल आवश्यक रहेको उनले बताए ।

नदी संरक्षण र त्यसको ठेक्का लगाउने अधिकार स्थानीय सरकारमा रहेको हुनाले यसलाई जोगाउने मुख्य दायित्य पनि स्थानीय सरकारलाई नै रहेको उनले बताए । ‘स्थानीय सरकार नै मनमौजी गरेर उत्खन्न गर्न दियो भने त्यसविरुद्ध केन्द्रीय सरकार सशक्तरुपमा काम गर्छ,’उनले भने ।

Comment


Related News