अपडेट 
२०८० जेष्ठ १८, बिहीबार ०६:१३

प्रदेशसभामा सत्तारुढ दलकै सांसदहरुले सरकारलाई खोजी गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा सरकारको प्रतिनिधित्व नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

सो बैठकमा सरकारको कुनै पनि क्याबिनेट मन्त्रीको उपस्थिति थिएनन् । यद्यपि बैठकको अन्त्यतिर शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव उपस्थित भएका थिए । सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्मा तिवारी विशेष समयमा रोष्टमबाटै आपत्ति जनाइन् । संसदमा सरकारको मन्त्री उपस्थित नभएको उनको गुनासो थियो । ‘अहिले नियामपत्ति गर्दा नि हुन्छ । यो सभा सञ्चालन भइरहेको छ । र, यहाँ सरकारको कुनै मन्त्री सहभागी छैनन्,’उनले भनिन्,‘ कुन नियमले हामी यो सभा सञ्चालन गर्दै छौं ? के मन्त्री ज्यूहरु बजेट वितरणमा व्यस्त हुनुहुन्छ ? सरकारको उपस्थिति यहाँ किन भएन् ? सरकारको लागि सभा प्राथमिकतामा छैन भने हामी किन चलाउँदै छौं,’उनले आक्रोशपूर्ण शैलीमा भनिन्,‘भागवण्डाको कारण यहाँ प्रदेशसभाको महत्वमाथि प्रश्न खडा भएको छ । यो खाली कुर्सीहरु देख्दा लाज लाग्दै छ । यहाँ सुन्ने र कराउने बाहेक अरु कुनै काम छैन् ।’

त्यसपछि उपभामुख बबिता राउत इसरले नेकपा (माओवादी केन्द्र)का सांसद रज्जी हैदरलाई बोल्न समय दिएको घोषणा गरिन् ।सांसद शर्मा आफ्नो प्रस्थानतर्फ जाँदै थिइन् । तर उनलाई सरकारको नेतृत्व गरिरहेको जनमत समाजवादी पार्टी (जसपा)को सांसदले संसदमा बिना विभागीय मन्त्री संजय यादव भएको जानकारी गराएकी थिइन् ।त्यसपछि लोसपा सांसद शर्माले पुनः टेबलमा सवाल जवाफमा उत्रिन् । सांसद शर्माले संजय यादव क्याबिनेट मन्त्री नभएको हुनाले सरकारको प्रतिनिधित्व संसदमा नभएको जिकिर गर्दै थिइन् । उपसभामुख बबिता राउतले रुलिङ गर्दै संजय यादव सरकारको मन्त्री भएको हुनाले सरकारको प्रतिनिधित्व भएको बताउँदै थिइन् ।त्यसपछि नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर उभेर क्याबिनेट मन्त्रीलाई बोलाउन माग गरे । ‘अविलम्ब मन्त्री बोलाउनु प¥यो नभए हामी हाउस अवरुद्ध गर्छौ,’उनले चेतावनी शैलीमा भने । उनको यो घोषणापछि एमालेका सबै सांसद उठेर नियामपत्ति जनाए ।

त्यतिबेला सांसद र उपभसामुखबीच जुहारी नै चलेको थियो । उपसभामुख राउतले पटक पटक सरकारको प्रतिनिधित्व रहेको भन्दै सांसदलाई बस्न अनुरोध गरिन् । सांसदहरुको नियामपत्ति नमिलेको उपसभामुख राउतको दाबी छ । केही समयको सवाल जवाफ पछि उपसभामुख राउतले पुनः सांसदलाई आफ्नो विचार राख्न आग्रह गरिन् । त्यसपछि एमाले सांसदहरु सभा सञ्चालन हुन दिए । संसदमा बुधबार कुनै मन्त्री उपस्थित थिएनन् । संसदको अन्त्य तिर शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव आएका थिए । उनले मुख्यमन्त्री सरोज कुमार यादवको तर्फबाट मधेश प्रदेशको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रदेशको नामकरण नहुँदा बनेको विधेयक तथा ऐनहरुमा प्रदेश नम्बर २ लेखिएको छ । सोही सच्याउनको लागि संशोधन प्रस्ताव पेश गरिएको छ । उनको प्रस्ताव सर्वसहमतबाट स्वीकृत भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए । बैठक बिहीबार दिउसो १ बजेसम्मको लागि स्थगित गरिएको छ ।

Comment


Related News