अपडेट 
२०८० जेष्ठ १८, बिहीबार ०६:५४

प्रत्येक देश आफ्ना सांस्कृतिक विरासतमा अडेको हुन्छ । प्रत्येक देशको आफ्नै संस्कृति, परम्परा, धर्म वा रीतिरिवाज हुन्छन् । कुनै पनि देशको निर्माण उसको सांस्कृतिक आधारमा हुन्छ । धार्मिक र सांस्कृतिक विरासत, राष्ट्रवाद र देशभक्तिको आधार बनाउँछ । प्राचीन मिथिला पनि आफ्नै सांस्कृतिक विरासतले विश्वमा प्रसिद्धि पाएको थियो जो आज पनि आफ्नो छाप प्रष्ट रूपले देखाइ रहेको छ । मिथिला राज्य त भूगोलको पानाबाट गए पनि जनकपुरले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ ।

प्राचीन मिथिला हाल दुई टुक्रामा विभाजित छन् । आधाभन्दा बढी भाग भारतको विहारमा परेको छ भने शेष भाग नेपालमा रहेछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम नेपालमै छ जो अहिले नेपालको धनुषा जिल्लाको सदरमुकाम र मधेश प्रदेशको राजधानीको रूपमा आफ्नो स्थान पाएको छ । वैदिक संस्कृति पूर्वीय दर्शनको आधार हो । यस दर्शनको मूलभाषा संस्कृत थियो । यस भाषालाई देवभाषा पनि भनिन्छ । संस्कृत भाषामा लेखिए अनुसार परापूर्वकालदेखि मान्यता पाएका दर्शनलाई पूर्वीय दर्शन भनिन्छ । दर्शनमा विषयवस्तुको सूक्ष्म विश्लेषण गरिएको हुन्छ । अर्कोतिर दर्शनमा जीव जन्तु, लोक–परलोक, जन्म–पुनर्जन्म, आत्मा–परमात्मा आदिलाई यसको विषय वस्तुको रूपमा लिएको देखिन्छ । मूल रूपमा दर्शनलाई तत्व ज्ञानको रूपमा समेटिएको देखिन्छ । यसरी निष्कर्षमा भन्नुपर्दा दर्शन शब्दको मूल अर्थ कुनै विषय वस्तुको अन्तिम वास्तविकताको खोज गर्नु हो । पूर्वीय दर्शनलाई हेर्दा पृथ्वीको पूर्वी गोलाद्र्धमध्ये दक्षिण–पूर्वी गोलाद्र्ध एसियामा रहेका देशहरूलाई सम्बोधन गरेको पाइन्छ । जीवन बाच्ने पद्धतिका जति पनि कुराहरू छन् त्यसको सही प्रतिपादन यी देशहरूबाट नै भएको देखिन्छ । यसमध्ये पनि मूल रूपमा प्राचीन मिथिलालाई लिन सकिन्छ ।

यसलाई जनकपुरसँग जोडेर हेर्दा यसको सान्दर्भिकता अझै बढ्न जान्छ किनभने जनकपुर एउटा यस्तो ठाउँ हो जो परापूर्व कालदेखि मानिसको जीवन बाँच्ने पद्धतिसँग सम्बन्धित कुराहरूमा निकै दर्शन प्रतिपादन गरेका छन् । पौराणिककालदेखि नै प्राच्य विधाको केन्द्रको रूपमा प्रख्यात यस ऐतिहासिक विदेह नगरी जनकपुरधामको गौरवमय इतिहास रहेको छ । जगत जननी जानकीको जन्मभूमि, याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान एवं विदुषीहरूका साधनाभूमि, ब्रह्मज्ञानी जनकको कर्मभूमि, अष्टावक्र जस्ता मनीषिहरूका शास्त्रार्थभूमि एवं विभिन्न जिज्ञासुहरूका जिज्ञासा पूर्ति गर्ने पवित्र एवं पुण्यभूमि जनकपुरधाम बारे पूर्वीय दार्शनिकहरू विभिन्न कोणबाट आ–आफ् ना विचार प्रकट गरेका छन् । मूल रूपले जनकपुर रामायणसँग जोडिएका कारणले पनि आजसम्म निकै प्रसिद्धि पाउँदै आएको छ । रामायण नेपाल र भारतमा मात्र होइन विश्वलाई नै एउटा असल चारित्रिक जीवनसँग बाँच्ने पद्धति प्रदान गरेको छ । जनकपुरले परम्परादेखि चल्दै आएको संस्कृतिलाई अंगाल्दै रामायणलाई आधार मानी वर्तमान कालसम्मको बाटो तयार गरेको देखिन्छ । अन्य धर्मतिर जाँदा शैवधर्मालम्बीहरू शिवको आचरणलाई अपनाउन खोज्छन् भने चार्वाक, जैन र बौद्ध नास्तिक दर्शनमा अडेका छन् ।

यसरी हेर्दा जनकपुर पूर्वीय दर्शनको संरक्षणमा उच्च स्थान प्राप्त गरी नेतृत्वसमेत प्रदान गरेको बुझ्न सकिन्छ । प्राचीनकालदेखि हालसम्म जनकपुरलाई हेर्दा मध्यकालमा केही नराम्रो अवस्था आएपनि जनकपुरले पूर्वीय सभ्यताको केन्द्रकै रूपमा आफूलाई प्रमाणित गरेको छ । प्राचीनकालमा वैदिक बाङ्मय, पुराण, रामायण, महाभारत आदि ग्रन्थहरूलेसमेत जनकपुरधामको अस्तित्वलाई स्वीकार गरिसकेका छन् । हालको जनकपुरको देन सन्तद्वय शूरकिशोर दास र चतुभुर्ज गिरीलाई जान्छ । त्यस बेलादेखि नै जनकपुर सन्तमहन्थ तथा सन्यासीहरूका आवास स्थलको रूपमा परिचित हुँदै आएको देखिन्छ । यहाँहरूले रामायणलाई जीवनको आधारशिलाको रूपमा अपनाएर विभिन्न भाषामा अनुवाद गरेर आदर्शताको पाठ सिकाएको देखिन्छ । अन्य धर्मालम्बीहरू समेत रामायणलाई उत्तिकै आदर्शका रूपमा हेरेका छन् । वर्तमान जनकपुरले पनि वैदिक दर्शनलाई जोगाउन सक्दो प्रयास गर्दै आएको छ । तर पनि अहिले विश्वव्यापीकरणको प्रवाहले जनकपुर पनि केही अंशमा मर्माहत भएको कुरालाई नकार्न सकिँदैन । यहाँ अहिलेपनि लगभग दुई सय मन्दिर तथा कुटीहरू यसको संरक्षण गर्न प्रयासरत छन् । पश्चिमी मूल भाषा अंग्रेजी र भारतीय भाषा हिन्दीबाट प्राचीन भाषा संस्कृत तथा मैथिली पूर्णरूपमा प्रभावित भएका छन् । भेषभूषा, खानपान, रहनसहन, धर्मकर्म आदि कुरा समेत प्रभावित भइरहेका छन् ।

हाम्रा पुर्खा यही साधुसन्त तथा ऋषि महर्षिद्वारा पाएको ज्ञानबाट प्रकृतिप्रेमी थिए । आजका मानिसहरू वैज्ञानिक विकासको हवाला दिँदै प्रकृति विरोधी बन्दै आएका छन् जो पूरै पृथ्वीलाई मर्माहत बनाएको छ । जनकपुरले अहिले पनि अपनाएका सामाजिक, सांस्कृतिक तथा धार्मिक पद्धतिलाई सबैले सहर्ष स्वीकार गरेका छन् । जन्मदेखि मृत्युसम्म हुने संस्कारहरूमा जनकपुरको स्थान अहिले पनि प्रथमै रहेको देखिन्छ । त्यतिमात्र होइन, जनकपुरले एउटा आस्तिक पक्षको नेतृत्वलाई जोगाएर आगाडी बढ्न खोजेको कुरा कसैबाट लुकेको छैन । पर्वतिहारदेखि सामान्य धार्मिक कार्यक्रममा पनि जनकपुरको भूमिका प्रमुख रहेको देखिन्छ । विश्वका सबै हिन्दुले अहिले पनि बैदिक दर्शनको प्रतीकको रूपमा माता जानकीलाई स्वीकारेका छन् । विभिन्न देशका हिन्दु राजामहाराजाहरूसमेत यस कुरालाई स्वीकार गरेरै जनकपुरलाई नमन गर्न यहाँ आएका हुन्छन् । उनीहरूपनि वैदिक दर्शनलाई जोगाएर नेतृत्व गरेको कुरालाई स्वीकारेका छन् । केन्द्रीय सरकार तथा स्थानीय सरकार समेत यस्ता वैदिक धरोहरलाई जोगाउन सक्रिय छन् । अहिले जनकपुरधाममा रहेका मन्दिर, कुटी तथा धर्मस्थललाई मर्मत सम्भार तथा निर्माण गर्न सुरू गरेका छन् । यहाँका धार्मिक पोखरी, तलाउ, कुण्ड तथा कूपलाई समेत आधुनिकीकरण गरी विश्वका पर्यटकलाई तान्न खोजेको प्रयास कम सराहनीय छैन । यसबाट हाम्रो वैदिक दर्शनलाई विश्वसमक्ष राख्न ठूलो अवसरको रूपमा लिन सकिन्छ । जनकपुरधाम आधुनिक युगको पनि यस्तो ठाउँ हो जहाँ अहिले पनि वैदिक युगको अनुभूति गराइ रहेको छ ।

यहाँ आउने जस्तो सुकै पर्यटक पनि सीताराम नामको जाप गर्न पछि पर्दैनन् । उनीहरू आएर अहिले जनककालीन जनकपुरकै अनुभव गर्न थालेका हुन्छन् । यसरी विश्वमा यस्ता कमै स्थान छ जहाँ सतप्रतिशत वैदिक संस्कृतिलाई स्वीकार गरी आफ्नो जीवनलाई अगाडि बढेको प्रण लिन्छन् । यस संस्कृतिको उत्थानमा अहिले पनि संस्कृत विद्यापीठदेखि अन्य संस्थाहरूसमेत लागि परेका छन् । यहाँ रहेका त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयका आंगिक क्याम्पसबाट विभिन्न विषयका प्राज्ञ उत्पादन हुँदै आएका छन् । यसरी अहिले पनि जनकपुरधाममा विद्वान विदुषीको कमी छैन भने कुरा प्रमाणित भएको देखिन्छ । जनकपुरधाम यस्तो ठाउँ हो जहाँ अहिले पनि पश्चिमी संस्कृति तथा धर्मको प्रवाहलाई स्वीकारेको देखिँदैन । त्यसैले यसको संरक्षण तथा संवद्र्धन गर्नु हाम्रो परम् कर्तव्य हुन आउँछ । वैदिक शब्द बेदकै अर्को रूप हो । वैदिक संस्कृतिको अर्थतिर जाँदा जो संस्कृति वेदमा आधारित छ यसलाई वैदिक संस्कृति भनिन्छ । प्राचीन मिथिला यस्तो ठाउँ थियो । जहाँ मानिसहरू पूर्णरूपेण वेदको अनुसरण गरेर जीवन विताउँथे । आज पनि विश्वमा जे जस्तो परिवर्तन आएपनि मिथिलाको संस्कृतिमा कुनै खासै असर परेको देखिँदैन । जनकपुरधाम प्राचीनदेखि हालसम्म यस संस्कृतिलाई निरन्तता दिन विर्सेको छैन् । त्यसैले अहिले पनि विश्वका हिन्दु धर्मालम्बीहरू जनकपुर आएर पवित्र जलाशयहरूमा स्थान गरेर जानकी माताको दर्शन पश्चात आफूलाई चोखो बनाउँछन् । जनकपुरको पाण्डित्य विदेहमा मात्र सीमित थिएन, पाञ्चाल, कुरू तथा कोशलसम्म पुगेको थियो । यसै मिथिलाको कमलाकाननमा ऋषिहरू न्यायसूत्रहरूका रचना गरेका थिए । यसै कालमा सिरध्वज राजर्षि जनकको नामले प्रसिद्धि पाएका थिए ।

सीतालाई प्रभुको प्रसाद सम्झेर पुत्रवत रूपमा पालेका थिए । विश्वाभित्र जस्ता महान ऋषि पनि मिथिलाकै पूर्वी क्षेत्रमा आफ्ना सिद्धाश्रम स्थापना गरेका थिए । विश्वाभित्र एक युगद्रष्टा ऋषि थिए । उहाँले नै सीतारामलाई पुलका रूपमा प्रयोग गरेर विदेह र कौशललाई मिलाएका थिए । सीतामाता एउटी शक्तिस्वरूपा तथा सहनशीलसुशीला नारी थिइन् । वहाँ जति पनि कठोर जीवनमा बस्दा कहिले पनि ब्याकुल भइनन् । यस्तै साहसी जीवन उहाँले लङ्का र वशिष्ट कुटीमा बिताएकी थिइन् । उहाँले नारी जातिको मानसम्मान दिएकी थिइन् । उहाँ एउटी आदर्श छोरी, बुहारी, पत्नी तथा आमा बनेर विश्वलाई आदर्शताको पाठ पढाएकी थिइन् । जनकपुरलाई अहिले पनि कुटी र पोखरीहरूको शहरको रूपमा जान्दछन् । यस्तो बेग्लै विशेषता भएको शहर विश्वमै बिरलै छ । अहिले पनि जनकपुरमा यी पौराणिक सम्पदाहरूमध्ये मन्दिर, कुटी, सरोवर आदि रहेका छन् । त्यसैले संत, कुटी तथा कुण्डहरूका संख्यालाई हेरेर एउटा कहावतले समेत यसलाई पुष्टि गरेको छ ः “बावन्न कुटी बहत्तर कुण्डा, फिरही संतजन झुंडहि झुंडा ।” पर्यटकीय दृष्टिकोणले जनकपुरका यी धार्मिक सम्पदाहरूको भूमिका निकै महत्वपूर्ण देखिन्छ । यस्ता सम्पदाहरूले विश्वका पर्यटकहरूलाई आफूतिर तानिराखेका छन् ।

कला संस्कृतितिर पनि प्राचीन कला संस्कृतिलाई वर्तमानसम्म निरन्तरता दिएको देखिन्छ । त्रेतायुगमा भएको रामजानकी विवाहलाई अहिले पनि मंसिर शुक्ल पञ्चमीका दिन पारेर विवाह वर्षगाठको रूपमा प्रत्येक साल धूमधामका साथ मनाउने गरिन्छ । जनकपुरधाम त हालसम्म आफ्नो अस्तित्व जोगाएर राखेको भएपनि अहिलेको २१ सौं शताब्दीको विश्वमञ्चमा यसलाई अझ बढी बलियो रूपमा कसरी प्रतिस्थापन गर्न सकिन्छ त्यतातिर सबैको ध्यान जानु पर्ने आवश्यकता छ । जनकपुरधामको संस्कृति जति पुरानो भएपनि यसलाई अहिलेसम्म विश्वसम्पदा सूचीमा दर्तासमेत गराउन सकेका छैनौं । विश्वसम्पदा सूचीमा दर्ता गराउन संघीय सरकार जहिले पनि उदास देखिन्छ । जनकपुरधाम राजनीति क्षेत्रको केन्द्र बिन्दुको रूपमा रहेको छ । यहाँबाट जहिले पनि संघीय सरकारमा हिस्सा पाएकै हुन्छन् तर पनि जनकपुरबारे किन आवाज उठाइएन, सोचनीय कुरो रहेछ । अहिले पनि समय छ सरकारमा सामेल भएका पार्टीहरूले संयुक्त रूपमा जनकपुर बारे सामूहिक आवाज बुलन्द भयो भने विश्वसम्पदा सूचीमा दर्ता हुन बेर लाग्दैन । विश्वसम्पदा सूचीमा दर्ता भयो भने विश्वका पर्यटकहरूको लिष्टमा समावेश हुन्छ जहाँबाट उनीहरू सजिलैपूर्वक जनकपुरसम्म पर्यटकीय भ्रमण गर्न सक्छन् । यसले गर्दा स्थानीय मानिसहरूसमेत रोजगार पाउन सक्छन भने सरकारलाई पनि विदेशी मुद्रा संकलन गर्न केही सजिलो पक्कै हुन जानेछ ।

यसरी आ–आफ्ना संस्कृति सबैलाई प्यारो हुन्छ । संस्कृतिनै हाम्रो चिनारी हो । वेदले हामीलाई संस्कृति सम्बन्धी जो ज्ञान दिन्छ त्यसैलाई हामी वैदिक संस्कृति भन्दछौं । एक देशले अर्को देशमाथि आक्रमण गर्दा सबैभन्दा पहिले संस्कृतिमाथि नै धावा बोल्छन् । तर जे जति उतार चढाव आएपनि हाम्रो संस्कृति प्राचीनदेखि वर्तमानसम्म निरन्तरता पाएको छ । आजको मिथिला भूगोलमा नभए पनि सांस्कृतिक रूपले अहिले पनि मिथि लाञ्चलन कायमै छ । यसलाई भविष्यमा समेत निरन्तरता दिइ वैदिक संस्कृतिलाई जोगाउनु हामी सबै मिथिलाबासीको परम कर्तव्य हुन आउँछ । इतिश्री ।

Comment


Related News

Latest News

Trending News