अपडेट 
२०८० जेष्ठ १९, शुक्रबार ०६:३६

केही दिन घामसंगै बढेको अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द हुन थालेको छ । सो क्रममा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रको विद्यालयहरुमा एक साताको लागि विदा दिइएको छ । अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या भएपछि सम्पूर्ण विद्यालय बन्दको घोषणा गरिएको छ । शुक्रबारदेखि विदा लागु हुने गरी आगामी शुक्रबार (जेठ २६ गते) सम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । ‘ उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द रहने व्यहोरा सूचनामा लेखिएको छ ।

त्यस्तै, सप्तरीको राजविराज नगरपालिकाकाले जेठ १९ गतेदेखि २३ गतेसम्मको लागि ५ दिन सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि जेठ २३ गतेसम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी,सिरहाको लहान नगरपालिकाले पनि शुक्रबारदेखि २६ गते सम्मको लागि पालिका भित्र रहेका बाल कक्षादेखि १२ कक्षा सम्म सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । अहिलेको विदा वर्षे विदामा कट्टा गर्ने गरी विदा दिएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा प्रकाशित सूचनामा उल्लेख छ । पछिल्लो केही दिन मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । जनकपुरसहित यस क्षेत्रको दैनिक तापक्रम विहान २८ र दिउँसो ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

यसैबीच, बारामा पनि अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेपछि कलैया उपमहानगरपालिकाले पालिकाभित्रका विद्यालयहरूमा सात दिन बिदा दिने निर्णय गरेको छ । कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद बर्णवालले एक विज्ञप्ति जारी गर्दै गर्मीका कारण पठनपाठनमा समस्या सृजना हुनुको साथ साथै खास गरी बालबालिकाहरूलाई गर्मीका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि सहजताका लागि बिदा घोषणा गरिएको उल्लेख छ । निजी तथा सरकारी विद्यालयहरूमा विद्यार्थी अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको चाप पनि घटेका हुँदा बिदा दिनुपरेको उनले बताए ।

तराई मधेशको जिल्लाहरूमा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीहरूलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सृजना भएको र कतिपय विद्यार्थीहरू गर्मीका कारण कक्षा कोठामा बेहोससमेत हुन थालेपछि बिदा स्वीकृत गरिएको शिक्षा शाखा प्रमुख बर्णवालले बताए। यसैक्रममा, राजविराजमा ३८ डिग्री देखि ४१ डिग्रीसम्म पुग्न थालेपछि जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पार्ने देखिएपछि सामुदायिक तथा संस्थागत विद्यालयहरुमा धमाधम गर्मी विदा दिन थालिएको छ । गर्मी अत्यधिक बढेकाले खास गरी स–साना बालबालिकाहरुलाई निकै समस्या छ, “राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले भने सोही कारणले ५ दिनका लागि नगर क्षेत्रका सबै विद्यालयमा गर्मी विदा दिइ विद्यालय बन्द गर्ने निर्णय गरेका छौं । बढ्दो गर्मीलाई ध्यानमा राखी गरिएको उक्त निर्णय शुक्रवारदेखि लागु हुने उनले जनाए । बिहीबारसम्म जिल्लाका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयले गर्मी विदा दिदँै विद्यालय बन्द गरिसकेको जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय राजविराजले जनाएको छ ।

केही दिन यता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ, खटिरा, आँउमासी, टाइफाइड, ज्वरो, झाडा पाखाला लगायतका रोगका बिरामीको चाप बढदै गएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए । उनले गर्मीको असरले स्वास्थ्यमा धेरै प्रकारको प्रभाव पार्ने भएकाले आवश्यक सावधानी अपनाउनसमेत सर्वसाधारणलाई सुझाव दिए । चर्काे घाम लाग्ने अनि हावा भने फिटिकै नचल्ने गरेका कारणले गर्मीबाट जोगिन घर बाहिर कमै निस्कने गरेको राजविराज– ४ का होटल व्यवसायी शम्भु साहले बताए । उनले भने घरमा वस्दा पनि गर्मीबाट खासै जोगिन सकिएको छैन । पंखाको हावाले काम गरिरहेको छैन । राती अलि शितल हुनुपर्ने हो, त्यो पनि छैन । प्रचण्ड गर्मी र घाम लागेकोले कोठाहरु पनि तात्ने गरेकोले राति सुत्नसमेत समस्या भइरहेको राजविराज– ७ का आयुर्वेदिक औषधि पसल संचालक उमाकान्त साहले बताए । गर्मी छल्न पंखा चलाउदा पनि तातो हावा फाल्ने गरेकाले सुत्न पनि निकै गाह्रो परिरहेको उनको भनाइ छ । समयमा मनसुन शुरु नहँुदा गर्मी अत्यधिक बढेको तथा केही दिन अझै यस्तो अवस्था रहने मौसमविदहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News