अपडेट 
२०८० जेष्ठ २१, आईतवार ०६:३०

राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधाममा सर्वदलीय अभिनन्दन हुने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरीलाई आममाफी गरेपछि उल्लासमा रहेका तराई मधेशवासीले सर्वदलीय अभिनन्दन गर्न लागेका छन् । नेपालका पहिलो राष्ट्रपति जनकपुरधामकै डा. रामवरण यादवले नेपालको संविधान जारी गर्दासमेत सर्वदलीय अभिनन्दन नभए पनि पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र चौधरीलाई आममाफी गरेपछि मधेशमा राष्ट्रपति पौडेलको लोकप्रियता समेत बढेको छ ।

जेठ ३१ गते जनकपुरधाम आउन लागेका नेपालका राष्ट्रपति पौडेलको जनकपुरधाममा भव्य अभिनन्दन गरिने शनिबार जनकपुरधाममा बसेको सर्वदलीय बैठकले निर्णय गरेको छ । जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि जनक सभाहलमा प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिको पहल र जनकपुरधाम उपमहामनगरपालिकाद्वारा आयोजित सर्वदलीय/सर्वपक्षीय बैठकमा सहभागीहरुले तिरहुतिया गाछीमा राष्ट्रपति पौडेललाई भव्य स्वागत र नागरिक अभिनन्दन गर्नुपर्ने प्रस्ताव राखेका थिए । राष्ट्रपतिको जनकपुरधाम भ्रमणका विषयमा जानकारी गराउँदै सांसद निधिले राष्ट्रपति पौडेलको जनकपुरधाम आएर जानकी मन्दिरमा पूजा र दर्शन गर्ने पहिला देखिकै इच्छा रहेको साथै राष्ट्रपति पौडेल नागरिकता विद्येयक प्रमाणीकरण गरेर मात्र जनकपुरधाम जाने अठोटसमेत लिएकाले नागरिकताविहीन लाखौं युवाहरुको समस्या समाधान गरी आउन लागेकाले उनलाई जनकपुरधाम र मधेशवासीले भब्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबैदलले सहमति जनाएको बताए ।

राष्ट्रपतिले नागरिकता विद्ययेक प्रमाणीकरण गरेर मात्र मधेश जाने भन्दै आएकोमा उनको जेठ ३१ गते भ्रमण हुन गइरहेको बताउदै उनले राष्ट्रपतिले जनतालाई कुनै पनि मर्का नपर्ने गरी व्यवस्था मिलाउनसमेत भनेको जानकारी दिए । सो अवसरमा प्रदेशसभा सांसद रामसरोज यादव र दीपेन्द्र ठाकुरले पनि राष्ट्रपतिको भ्रमण सुखद रहेको बताउँदै भव्य र व्यवस्थित बनाउन आफूहरु प्रदेश सरकारलाईसमेत यसमा सहभागी गराउन पहल कदमी लिने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले धनुषाको सबै प्रत्यक्ष र समानुपातिक सांसदहरुसहितको मूल समिति बनाएर त्यसका अधीनमा अन्य उपसमितिहरु बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि तिरहुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको कामका लागि तयारी गर्ने सर्वसम्मत निर्णय भएको बताए । साथै बैठकबाट नागरिकता विद्ययेक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिले निर्णय गर्ने जनकपुरधामको एक चोकमा राष्ट्रपतिद्वारा काठमाण्डुको माइतीघर मण्डलामा रहेको जस्तै देशको ठूलो झन्डा ठडयाएर फहराउने निर्णयसमेत भएको छ । विमानबाट जनकपुरधाम आउने राष्ट्रपतिलाई विमानस्थलदेखि जानकी मन्दिर र मन्दिरदेखि पुनः तिर हुतिया गाछीसम्म पुग्ने क्रममा सडकको दुबै छेउको पेटीमा राष्ट्रिय झन्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आआफनो कार्यकर्ता र समाजलाई परिचालनमा भूमिका निर्वाह गर्ने पनि सहमति भएको छ ।

कार्यक्रममा जनकपुरधामका उपप्रमुख किशोरी साह, धनुषाका प्रमुख जिल्ला अधिकारीसहितका प्रशासनिक निकायका प्रमुखहरु, वृहत्र जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहित हरेक दलका नेताहरुसहित नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

एमाले पनि सहभागी हुने
राष्ट्रपति रामचन्द्र पौडेलको जेठ ३१ गते हुने सर्वदलीय अभिनन्दनमा नेकपा एमाले पनि सहभागी हुने भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आम माफी गरेको भन्दै कडा आलोचना गरिरहेको नेकपा एमाले राष्ट्रपतिको सर्वदलीय अभिनन्दनमा सहभागी हुने भएको छ । नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले राष्ट्रपति कुनै पार्टी वा भेगको नभइ सम्पूर्ण नेपालीको रहेका कारण आपूmहरु अभिनन्दन कार्यक्रममा सहभागी हुने जनाएका छन् । उनले सर्वदलीय अभिनन्दन अर्का पाटो भएको भन्दै राजनीतिक र सामाजिक व्यवहार फरक हुनुपर्ने बताउँदै अध्यक्ष यादवले राष्ट्रपतिलाई जनकपुरधामवासीले हृदयले अभिनन्दन गर्नुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरीलाई आममाफी गरेपछि आक्रमक बनेका एमालेले अभिनन्दन कार्यक्रममा सहभागी हुने भएपछि एमाले राष्ट्रपतिप्रति लचिलो देखिएका छन् ।

Comment


Related News