अपडेट 
२०८० जेष्ठ २३, मंगलवार ०६:५२

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने भएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो विषयमा प्रदेशसभालाई सोमबार पत्र पठाएको थियो । सो पत्र संसदमा सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएका थिए । सोही अनुसारको व्यवस्था गरिदिन पनि अनुरोध गरेका थिए । वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने भएकाले सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि प्रदेशसभाले पनि आग्रह गरेको छ।

प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले उत्पादनमूलक क्षेत्रमा केन्द्रित भएर नीति तथा कार्यक्रम तयार पारिएको बताए । आयोग र अनुत्पादक क्षेत्रको आयोजनाहरुमा कटौती गरिएको उनले जानकारी दिए । सरकारले पहिलो प्राथमिकतामा कृषिलाई राखेको उनले बताए । कृषिमा विद्युतीकरण र आत्मनिर्भर बनाउने सीपमूलक दीर्घकालीन योजनाहरु समावेश गरिएको उनले बताए । उनका अनुसार आगामी आर्थिक वर्षको कार्तिकमा मधेश प्रदेश सरकारले लगानी सम्मेलन गर्ने छन् । उक्त सम्मेलनमा एक सय योजना सार्वजनिक गर्ने दिशामा प्रदेश सरकार अगाडि बढिरहेको उनले बताए । त्यसका लागि दश वटा योजना तयार भइसकेको उनले दाबी गरे । प्रदेश सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि उक्त सम्मेलनभन्दा अघि भूमि व्यवस्था र गुठी सम्बन्धी ऐन बनाउने मन्त्री यादवले घोषणा गरे । ‘प्रदेश सरकारले विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी उनको सीपलाई प्रयोग गर्नेछन्,’उनले भने,‘हामी ल्याण्ड बैंक पनि बनाउँछौ । त्यसपछि उद्योग सञ्चालनको लागि उक्त जमीनमा सरकार र निजी क्षेत्रसंग सहकार्य गरेर उद्योगधन्दा चलाउने छन् ।’ प्रदेश सरकारको नियत र नीति प्रष्टहुँदा पनि न्यूनतम स्रोतसाधनका कारण अपेक्षा अनुसार काम गर्न नसकेको उनले स्वीकारे ।

सांसदहरुले उठाएका सवालको जवाफ दिँदै नीति तथा कार्यक्रम र बजेटमा एकरुपता हुने उनले प्रतिवद्धता जनाए । ‘सांसदहरुले औल्याएका पाटो संकलन गरिएको छ ’मन्त्री यादवले भने, सक्दो सुधार गरिनेछ । स्वास्थ्य र शिक्षामा हरेक नागरिकले अनुभूति गर्ने गरी बजेट ल्याउने उनको दाबी छ ।

Comment


Related News