अपडेट 
२०८० जेष्ठ २५, बिहीबार ०७:१७

नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघको जिल्ला अधिवेशनमा नेता विमलेन्द्र निधिले कडा विरोधको सामना गर्नुपरेको छ ।

जनकपुरधाममा बुधबार आयोजित नेपाल मुस्लिम संघ धनुषा जिल्लाको तेश्रो अधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसकै कार्यकर्ताहरुले अन्तरघाती मुर्दावाद, अवैध अधिवेशन रोक जस्ता नारा लगाउँदै विरोध गरे । गत आमनिर्वाचनमा संघका जिल्ला अध्यक्ष मो.ईब्राहिम राइनले धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवारलाई घात गरेको आरोपमा कारबाहीमा परेका छन् ।

गत सोमबार जनकपुरधाममा संघका धनुषा सभापति राइनले आयोजना गरेको अधिवेशनलाई कांग्रेसका मधेश प्रदेश सचेतकसमेत रहेका क्षेत्रीय सभापति कुमरकान्त झाको नेतृत्वमा गएको टोलीले अध्यक्षलाई लखेटेर भगाएर बिथोलेका थिए । अधिवेशन स्थलबाट लखेटिएका राईनले नेता निधिलाई प्रमुख अतिथि बनाएर विरोधका वावजुद अधिवेशन गरेका छन् ।

कांग्रेस भित्रको विवाद मुस्लिम संघमा छताछुल्ल भएको छ । उनीमाथि निर्वाचनको एक दिन नेकपा एमालेको प्रचारप्रसारमा सहभागी भइ अनुशासन विपरीत काम गरेको आरोप लगाइएको छ । विभिन्न आरोपका वावजुद उनले जवर्जस्ती नेता निधिको आडमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेका छन् ।

निधि निकट नेताहरुले भने सीमित संख्यामा विजातियहरुले प्रायोजित ढंगले अधिवेशन विथोल्न गरेको प्रयास सफल नभएको दाबी गरेका छन् । उनीहरुलाई संघका नेता, कार्यकर्ताहरुले कार्यक्रम स्थलबाट धपाएको दाबी गरिएको छ ।

उद्घाटन सत्रमा नेता निधि , प्रदेश सभासद रामसरोज यादव, नेकां धनुषा सभापति योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगरका उपप्रमुख किशोरी साह लगायतका नेताहरुको सहभागिता रहेको थियो । नेता निधिले पार्टीमा अन्तरघातीहरुलाई प्रश्रय दिएको आरोप लगाउँदै सहमहामन्त्री महेन्द्र यादवले पार्टीका इमान्दार नेता कार्यकर्ताहरुको चाहना अनुरुप जिल्ला अधिवेशन हुने बताए । जिल्लामा निधि र यादव दुई खेमामा देखिए पनि केन्द्रमा दुबै संस्थापन पक्षमा नै रहेका छन् । मुस्लिम संघको अधिवेशनलाई नेकां धनुषाले मान्यता दिए पनि मधेश प्रदेश समितिले मान्यता नदिने बताइएको छ ।

Comment


Related News