अपडेट 
२०८० जेष्ठ २७, शनिबार ०५:५३

रौतहटको देवाही गोनाही नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नहुँदा विकास निर्माणका काम प्रभावित भएको छ । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहबीच रहेको आपसी विवाद, द्वन्द्व मतभेद तथा टकरावका कारण नगरमा विकास निर्माणका कामहरु ठप्प भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असार आउन लागे पनि मेयर साह, उपमेयर पटेल र प्रशासकीय अधिकृत साहबीचको विवादका कारण अझै विकासका कामहरु अगाडि बढ्न नसक्दा करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको वडा नं. ९ धरहरीका किसुनदेव साहले बताए । मेयर प्रेमलाल साह र उपमेयर परनिया देवी पटेलबीच विवाद गराउन प्रशासकीय अधिकृत सिकेन्द्र साहले ठूलो भूमिका खेलेको बताइएको छ । आफ्ना व्यक्तिगत फाइदाका लागि प्रशासकीय अधिकृत साहले मेयर र उपमेयरबीच विवाद गराइ त्यसको लाभ लिइरहेको नाम सार्वजनिक नगर्ने शर्तमा एक वडा अध्यक्षले बताए।

मेयर प्रेमलाल साहले प्रशासकीय अधिकृत सिकेन्द्र साहलाई हटाएर अर्को हाकिम ल्याउन खोजेको र उपमेयर परनिया देवी पटेलले सिकेन्द्र साहलाई नै हाकिम राख्न खोजेको कारण तिनै जनाबीचको विवाद उत्कर्षमा पुगेको ती वडा अध्यक्षले बताए । हाकिम साहले जनप्रतिनिधिबीच विवाद गराई नगरपालिकामा रजाई गर्न थालेपछि नगरपालिका अहिले सुनशान बन्नुका साथै अस्तव्यस्त बनेको छ । हामिक साहले मेयरलाई नै बाइपास गरी आफुखुशी कामकाज गर्न थालेपछि मेयर साहले उनलाई हटाएर अर्को हाकिम ल्याउने कसरत गरिरहेका छन् । तर नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत साहलाई सरुवा गराउन पुरै शक्ति लगाए पनि मन्त्रालयमा हाकिम साहको पावर र पहुचको अगाडि उनको शक्ति काम गर्न सकिरहेको छैन । कार्यालय प्रमुख साहले पावर र पहुचको भरमा नगरपालिका माथि कब्जा जमाउँदै आएका छन् । मेयर र केही जनप्रतिनिधिले मन्त्रालयबाट अर्को हाकिमको पत्र लिएर आए पनि कब्जा जमाइ बसेका कार्यालय प्रमुख साहले हाजिर हुन आएका नयाँ हाकिमलाई हाजिर हुन नदिएको जनप्रतिनिधिहरुको कथन छ ।

प्रमुख प्रशासकीय अधिकृत साहले जनप्रतिनिधि बाहेकका केही व्यक्तिलाई योजना दिने मनसाय राखेर मेयर र उपमेयरबीच विवाद सिर्जना गराएको नाम उल्लेख नगर्ने शर्तमा एक जना वडा सदस्यले बताएका छन् । सबै जनप्रतिधिलाई मिलाएर अगाडि बढनु कार्यालय प्रमुखको कर्तव्य हो तर देवाही गोनाही नगरपालिकाका कार्यालय प्रमुख सिकेन्द्र साहले जनप्रतिनिधिबीचको विवाद मिलाउनुको सट्टा उल्टै विवाद सृजना गराउन उद्यत रहेको पाइएको छ । जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले केही गर्छु भन्ने सोचिरहेका बेला कार्यालय प्रमुख साहले मेयर र उपमेयर बीच विवाद गराएर नगरपालिकामा आफनो सम्राज्य खडा गरेको ती वडा सदस्यको भनाइ छ । नगरपालिकामा कार्यालय प्रमुखको रुपमा सिकेन्द्र साह रहुन्जेलसम्म पालिकामा कुनै पनि विकास निर्माका कार्यहरु गति लिन नसक्ने स्थानीयहरु बताउँछन् । आफ्ना निहित स्वार्थ पूर्तिका लागि नगरको विकास निर्माणको कार्यमा कार्यालय प्रमुख साह बाधक बनेको भन्दै साहलाई फिर्ता बोलाएर अर्को हाकिम पठाउन स्थानीय वासिन्दाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका छन् ।

मेयर, उपमेयर र कार्यालय प्रमुखबीचको विवादले गर्दा अहिले सो नगरपालिकामा संचालन रहेको नगर अस्पतालको अवस्था नाजुक बन्दै गएको छ । तिनै जनाबीच तालमेल नहुँदा हालै सञ्चालनमा आएको नगर अस्पतालमा औषधिको अभाव हुनुको साथै मेसिनहरु संचालनमा आउन नसकेको स्थानीयहरुले बताएका छन् । नगर असपतालमा सेवा लिन जाने सेवाग्राहीहरु मेसिनहरु संचालन नहुँदा सेवा लिनबाट बञ्चित हँुदै आएका छन् । अहिले चर्को गर्मीको समयमा अस्पतालमा दिनहु बिरामीको चाप बढ्दै गएको अवस्थामा अस्पतालमा औषधि नहुँदा बिरामीहरु औषधि बिना फर्किन बाध्य भएका छन् ।

मेयर, उपमेयर र हाकिमबीचको विवादका कारण विकास निर्माणका कामहरु ठप्प हुनुको साथै अन्य कामकाजहरुसमेत प्रभावित भइरहेकोले तीनै जनाले विवाद अन्त्य गरी पालिकाको फ्रिज हुन लागेको करोडौं रकम फ्रिज हुनबाट जोगाउनु आवश्यक रहेको स्थानीयवासीको कथन छ ।

Comment


Related News

Latest News

Trending News