अपडेट 
२०८० जेष्ठ २८, आईतवार ०६:१९

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति (भीसी)का लागि चिकित्सकहरुले दौडधुप गर्न थालेका छन् ।

भीसी डा.रामकेवल साहको देहान्त भएपछि सो पद रिक्त भएको छ । भीसीका लागि आधा दर्जन भन्दा बढी चिकित्सकहरु जसपा र नेपाली कांग्रेसको विभिन्न शक्ति केन्द्रहरुमा धाइरहेका छन् । तर अधिकांश चिकित्सकहरु विभिन्न माध्यमबाट शक्ति केन्द्रलाई रिझाएर पद पाउन सक्रिय भएका छन् । उपकुलपति डा.साह संस्थापक रहेका थिए । उनको निधन भएसँगै भीसी बन्ने दौडमा चिकित्सकहरुको संख्या थपिएका छन् । प्रतिष्ठान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको छ । सामाजिक विकास मन्त्रालय विभाजित भएपछि प्रतिष्ठान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएको छ । सो मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र कुमार सिंह कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर हुन् । प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालको निर्देशकमा उनले डा.रामनरेश पण्डितलाई हालै नियुक्त गरेका छन् । डा.पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन् । भीसी नियुक्तिमा पनि उनले कांग्रेस पक्षधरलाई नियुक्त गर्ने प्रयास गर्ने बताइन्छ ।भीसी नियुक्तिमा आर्थिक चलखेल प्रमुख हुनसक्ने आशंका पनि गरिदैछ । भीसीका लागि जसपा अध्यक्ष उपेन्द्र यादवका सम्धी डा.विश्वनाथ यादव, प्रतिष्ठानका रेक्टर डा.अंकुर साह, डा.प्रमोद यादवलगायतका चिकित्सकहरु भीसीको दौडमा रहेका छन् ।

त्यस अतिरिक्त पनि आधा दर्जन चिकित्सकहरु भीसीका लागि प्रयास गरिरहेको बताइएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको प्रादेशिक अस्पतालबाट सर्वसाधारणले अपेक्षित सुबिधा प्राप्त गर्न सकिरहेको छैन् । अस्पतालका कर्मचारीहरुले प्रतिष्ठानबाट अलग गरिनुपर्ने माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News