अपडेट 
२०८० जेष्ठ २९, सोमबार ०५:४९

लगन भए गाउँघरमै सुन फलाउन सकिन्छ, यसको ज्वलन्त उदाहारण हो धनुषाको शहीद नगर नगरपालिका–४ ननुपट्टीका ७५ वर्षीय बौएलाल मुखिया । २०२३ साल तिर गाउँघरको नहर तथा खाल्डाखुल्डीमा माछा मारेर जीविकोपार्जन गर्ने मुखिया अहिले वार्षिक ४ करोडको हाराहारी माछाको व्यापार गर्दै आएका छन् । शून्यबाट आफ्नो व्यापार सुरु गरेका मुखिया कडा मिहेनत र लगनको कारण देशभरि माछा पालक किसानको रुपमा आफूलाई ब्राण्ड बनाउन सफल भएका छन् ।

मुखियलाई यहाँसम्म पुर्याउन विजय राज विष्टको ठूलो योगदान रहेको उनी बताउँछन् । मुखियालाई माछा पालन र व्यापार गर्न विष्टले नै प्रेरणा दिएका थिए । व्यापार फस्टाउँदै गएपछि मुखियासंग हाल निजी जग्गा ७ विघा क्षेत्रफलमा फैलिएको १५ वटा पोखरी तथा लिजमा ७० वटा गरी ८५ वटा पोखरीमा खाने माछा तथा भूरा उत्पादन गरी आर्थिक लाभ गर्दै आएका छन् । एउटा पोखरीमा वार्षिक साढे ५ क्वीन्टलसम्म माछा उत्पादन हुने गरेको छ । मुखिया मत्स्य प्रजनन् फार्म नामक माछा फार्म खोलेका मुखिया अहिले वृद्धि भएपछि उनका छोरा कन्हैया मुखिया र रमेश मुखियाले व्यवसायलाई अगाडि बढाउँदै आएका छन् । अहिले सो फार्ममा २५ जना कामदारहरु प्रत्यक्ष रोजगारी पाएका छन् भने करीब १० हजार भन्दा बढी सानो ठूलो व्यापारीहरु त्यहाँबाट माछा किनेर अन्यत्र बिक्री गरी आर्थिक उपार्जन गर्दै आएको मुखियाले बताए । भारतमा वार्षिक २५ लाखको माछा मुखियाको फर्मबाट बिक्री हुने गरेको छ ।भारतको विभिन्न जिल्ला मधुवनी, दभंगा लगायतका ठाउँबाट मानिसहरु फर्ममै आएर माछा किन्ने गरेको मुखियाको भनाइ छ ।

सिलभर, बिग्हेट, नैनी, ग्रास, भाकुरा, कमल कार्पलगायतका विभिन्न जातका माछा र माछाका भूराको उत्पादन र बिक्री हुने गरेको छ । त्यहाँबाट उत्पादित माछा र भूरा पूर्वमा मेचीदेखि पश्चिमका जिल्लाहरुको बिक्रेताहरु किन्न आउने गरेको उनका छोरा रमेश मुखियाले बताए । कक्षा ८ सम्म पढेका बौएलाल मुखिया माछा पालनको क्षेत्रमा देशभरि ब्राण्ड बनेका छन् । मुखियाले नेपाल सरकारबाट भारत र बंगलादेशसमेत भ्रमण गरेका छन् । २०४८ साल तिर ह्याचरी बनाउन नेपाल सरकारले २५ हजार आर्थिक सहयोग गरेको स्मरण गर्दै मुखियाले गुनासो गरे प्रदेश सरकारले हालसम्म कुनै अनुदान दिएको छैन । देशभरिबाट किसानहरु यहाँ आएर माछा उत्पादन सम्बन्धी ज्ञान हासिल गर्ने गरेका छन् । माछाको दानामा सिद्रा चाहिने गरेको र भारतबाट ल्याउँदा बढी भन्सार लाग्ने गरेकोले सो भन्सार छुट हुनुपर्ने, यस क्षेत्रलाई माछा सुपर जोन घोषणा गर्नुपर्ने, सरकारले माछा पालक गर्ने किसानलाई माछा ढुवानी अनुदानमा गाडी उपलब्ध गराउनुपर्ने तथा व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले पोखरीहरुमा अक्सीजन प्लान्ट लगाउनुपर्ने माग मुखियाको छ । मुखियाले माछा व्यवसायीबाट राम्रो प्रगति हासिल गरेको देख्दा अन्य किसानहरु पनि माछा व्यवसाय गर्न हौसिएका छन् ।

नेपाली कांग्रेस नेता तथा सो क्षेत्रका सासद रामकृष्ण यादव कृषि मन्त्री भएको बेला सो क्षेत्रलाई लक्षित गरी यदुकोहामा माछा सुपर जोन कार्यालयको शिलान्याससमेत गरिएको थियो । तर कांग्रेस नेतृत्वको सरकार ढलेपछि उक्त कार्यालय जनकपुर सारिएपछि सो क्षेत्र माछा सुपर जोन हुनबाट वञ्चित भएको वडा अध्यक्ष तथा मुखिया कान्छो छोरा रमेश मुखियाले बताए ।

Comment


Related News

Latest News

Trending News