अपडेट 
२०८० जेष्ठ २९, सोमबार १२:५९

संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले जेठ ३१ गते उजुरीकर्ताहरुसंग छलफल गरि ३२ गते कार्कीको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । बैठकमा कार्कीमाथि परेका २९ वटा उजुरीहरु अध्ययनका लागि समिति सदस्यहरुलाई उपलव्ध गराइएको छ । कार्की विरुद्ध न्यायसम्पादनका बिषयमा उजुरी परेको छ भने पदीय आचरणबिपरितका कार्य गरेको लगाएतका उजुरीहरु समितिमा परेका छन् । बैठकमा समिति सदस्यहरुले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाईलाई थप लम्वाउन नहुनेमा जोड दिएका थिए । समिति सदस्य महेश बर्तौलाले एउटै मान्छेले चर्चामा आउन व्यक्तिको चरित्र हत्या गर्नका लागि उजुरी प्राप्त भएको हुनसक्ने भएकाले सजक हुनुपर्ने बताउनुभयो । उहाले उजुरीको प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले उजुरीका लागि उजुरी गर्ने संस्कारको बिकास भएकाले २९ वटा उजुरीलाई गहन ढंगले अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाले उजुरीकर्तासंगको छलफल एक दिनमा नै सम्पन्न गर्दै छिटो मुलुकलाई प्रधानन्यायधिश उपलव्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरे राष्ट्रपतिबाट नियुक्ति गर्ने बाटो खुल्नेछ ।

Comment


Related News

Latest News

Trending News