अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार ०६:३९

सरकारको वेवास्ता र राजनीतिक खिचातानीले राजर्षि जनक विश्वविद्यालयलाई स्थापनाकालको छोटो समयमै आफ्नो अस्तित्व जोगाउन मुस्किल परिरहेको छ । समयमा पदाधिकारी, कर्मचारी र आवश्यक भौतिक संरचना पाउन नसक्दा ६ वर्षअघि स्थापना भएको छोटो समयमै यो विश्वविद्यालय धराशायी बन्दै गएको छ ।

विश्वविद्यालय स्थापना भएपछि संस्थापक उपकुलपतिको जिम्मेवारी पाएका प्राध्यापक भरत झाको कार्यकाल सकिएपछि सरकारले विश्वविद्यालयलाई अर्काे उपकुलपति दिन सकेको छैन । २०७८ पुस २७ मा संस्थापक उपकुलपति झाको सेवाअवधि सकिएको थियो । त्यसको करीब तीन महिनासम्म विश्वविद्यालय उपकुलपतिविहीन भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको कुलपतिको हैसियतले ०७८ चैत २५ मा शिक्षा, समाज तथा कानुन संकायका डिन प्रा.डा शैलेन्द्रनारायण मल्लिकलाई उपकुलपतिको अतिरिक्त जिम्मेवारी तोकिएको थियो । सोही मितिमा व्यवस्थापन संकायका डिन जुगेश्वर साहलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको थियो । उपकुलपतिको अतिरिक्त जिम्मेवारीसमेत प्राप्त गरेका मल्लिकले उमेर हदका कारण २०७९ बैशाख १ मा अनिवार्य अवकाश पाएका थिए । तर, उनले ०७९ फागुन १५ सम्म उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए ।

रजिस्ट्रारको जिम्मेवारी पाएका साहको सेवा अवधि ०७९ भदौ १३ मा सकिए पनि १५ फागुनसम्म उक्त पदमा रहेर काम गरेका थिए । अनिवार्य अवकाश पाउँदा पनि पद नछाडेपछि सोही विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. बलराम झाले उनीहरूविरुद्ध सर्वाेच्च अदालतमा उजुरी दिएका थिए । उक्त उजुरीपश्चात ०७९ फागुन १५ मा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेर उनीहरूलाई विश्वविद्यालयबाट हटाएको थियो । उपकुलपतिको जिम्मेवारीमा रहेका मल्लिकको उमेर हदका कारण ०७९ वैशाख १ मा अवकाश पाए पनि १५ फागुनसम्म उक्त जिम्मेवारीमै रहेर काम गरे । रजिस्ट्रारको जिम्मेवारी पाएका साह सेवा अवधि सकिएको करीब पाँच महिनासम्म पनि उक्त जिम्मेवारीमै थिए । जसलाई सर्वोच्चले कानुनविपरीत भएको भन्दै हटाएको छ । विश्वविद्यालय पदाधिकारीविहीन हुँदा विगत चार महिनादेखि शिक्षक, कर्मचारीले तलब पाउन नसकेको शिक्षक रविराज साहले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा शिक्षकतर्फ उपप्राध्यापक २६ जना, अधिकृतस्तरका ७ जना र सहायक प्रथम स्तरका ८ जना र श्रेणीविहीन ६ जना गरी जम्मा ४७ जनाको दरबन्दी भए पनि अहिले दरबन्दी बमोजिमका शिक्षक कर्मचारी छैनन् । केही अवकाश पाएर गए भने केहीले विश्वविद्यालयको दयनीय अवस्था देखेर वैकल्पिक बाटो रोजेको शिक्षक साहले बताए ।

अहिले स्थायी प्राध्यापक तीन/चारजना र सोही संख्या कर्मचारी र ३५ जना कोर्स करार शिक्षक कार्यरत रहेको उनले जानकारी दिए। विश्वविद्यालयको एउटा मात्र आंगिक क्याम्पस छ त्यो पनि प्रमुखविहीन रहेको छ । गत जेठ ८ मा क्याम्पस प्रमुख विनोदकुमार कर्णको दुई बर्से सेवा अवधि सकिएपछि क्याम्पस प्रमुखविहीन बनेको छ । कर्णले वैशाखमै प्रमुखको पदबाट राजीनामा दिए पनि उपकुलपति नभएका कारण उनको राजीनामा स्वीकृत हुन सकेको थिएन । तर गत जेठमा उनले पनि अवकाश लिएपछि अहिले विश्वविद्यालय लथालिङ्ग र भताभुङ्गको स्थितिमा पुगेको छ । विश्वविद्यालयमा उपकुलपति, डिन र क्याम्पस प्रमुखविहीन भएपछि सबै काम ठप्प बनेका छन् । क्याम्पस प्रमुख र डिनहरूलाई उपकुलपतिले नियुक्ति गर्ने कानुनी व्यवस्था रहेका कारण पहिला उपकुलपतिको नियुक्त नभइ विश्वविद्यालयको अन्य काम अघि बढ्ने बताइन्छ । विश्वविद्यालयमा करीब ५ सय विद्यार्थी रहेका छन् ।

विद्यार्थी थोरै भए पनि नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बताइएको छ । विश्वविद्यालयको सेवा आयोग पनि लामो समयदेखि खाली छ । आयोगका अध्यक्ष र सदस्यको ०७८ माघ ११ मा चार बर्से सेवा अवधि सकिएपछि हालसम्म उक्त पदमा नियुक्ति भएको छैन । विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सरकारले दुई पटक दरखास्त आह्वान गरे पनि हालसम्म नियुक्ति भने गर्न सकेको छैन । पहिलोपटक गत वर्षको भदौ अन्तिम साता दरखास्त आह्वान गरेको शिक्षा मन्त्रालयले पुनः दोस्रो पटक ०८० वैशाख ४ मा दरखास्त आह्वान गरेको छ । पहिलोपटकको दरखास्त आह्वानमा आवेदन परेर पनि सर्टलिस्टमा सात जनाको नाम परेको थियो । त्यसलाई वेवास्ता गर्दै सरकारले पुन उपकुलपतिको लागि दरखास्त आह्वान गरे पनि अहिले अन्य प्रक्रिया भने अघि बढाएको छैन । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले उपकुलपति नियुक्ति भएपछि मात्र थाहा हुने बताए ।

सरकार परिवर्तन भएपछि प्रक्रियामा रहेका सबै कुराहरू पुनः सुरु हुने भएका कारण दुईपटक दरखास्त आह्वान गर्नुपरेको उनको भनाइ छ । शिक्षा, समाज तथा कानुन संकायका डिन प्रा.डा शैलेन्द्रनारायण मल्लिकले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उक्त संकाय डिनविहीन बनेको छ । यसैगरी व्यवस्थापन संकायका डिन साहको चार वर्षे सेवा अवधि ०७९ भदौ १३ मै सकिएको थियो । त्यस्तै विज्ञान तथा प्रविधि संकायका डिन श्यामकिशोर महतोको पनि सेवा अवधि भदौ १३ मै सकिएको थियो । यसरी तीन वटै संकाय डिनविहीन बनेका छन् ।

Comment


Related News

Latest News

Trending News