अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार ०६:२२

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । बजेटमा योजनाहरु समावेश गराउन अहिले सभासदहरुको बाक्लो भीड मधेश भवन भित्र देखिएको छ । योजनासहित बजेट माग्दै मधेश भवनमा रहेका मन्त्री आवास भित्र सभासदहरुको भीडभाड हुन थालेपछि मन्त्रीहरुले बजेटको काम अर्थ मन्त्रालयमा पुगिसकेको भन्दै पञ्छिने गरेका छन् ।

असार १ गते सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने छ । देशको ७ वटै प्रदेशले एकै दिन प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने वैधानिक प्रावधान छ । प्रदेश सरकारले ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । अर्थ मन्त्रालयहरुले अन्य मन्त्रालयहरुलाई दिएको बजेटको सिलिंग भित्र रहेर बजेट बनाउन भनेपनि कतिपय मन्त्रालयले शीर्षकसमेत राखेर बढी रकमको बजेट बनाएको अर्थ मन्त्रालय सम्बद्ध स्रोतले जनाए । मन्त्रालयगत रुपमा बजेटको काम बुधबार राति नै सकिएको स्रोतले जनाए । मन्त्रालयहरुबाट प्राप्त भएको बजेटको बिहीबार अबेर रातिसम्म अर्थ मन्त्रालयले अन्तिम रुप दिनेछ ।

मन्त्रालयहरुमा योजना थप गराउन सभासदहरुले दबाब दिए पनि बजेट सार्वजनिक हुने क्रममा असन्तुष्टि बढने सम्भावना रहेको छ । दलका नेताहरु, सभासद, पालिकाहरु, प्रतिनिधि सभासदस्यहरु लगायतले दिएका सबै योजनाहरु समावेश गर्न असम्भव रहेको जनाउँदै अर्थ मन्त्रालय सम्बद्ध स्रोतले भने, योजना समावेश नहुने अथवा माग गरे अनुसारको रकम योजनामा नभए असन्तुष्टि व्यक्त हुनु स्वभाविक हो । तर अर्थ मन्त्रालयको आफ्नो बाध्यता रहेको उनले बताए । स्रोतहरुका अनुसार बजेटलाई सुत्रमा समावेश गर्न थप कर्मचारीहरुलाई परिचालन गरिएको बताइएको छ । सबै मन्त्रालयबाट सूचीकृत भइसकेका शीर्षक र रकमलाई अर्थ मन्त्रालयले बुधबार रातिदेखि बिहीबार रातिसम्म अन्तिम रुप दिनेछन् ।

मधेश प्रदेशमा करको दर अथवा अन्य कुनै निकासी पैठारी लगायतको दर निर्धारण भएर आर्थिक क्षेत्रमा ठूलो परिवर्तन आउने सम्भावना नदेखिएकाले आमनागरिकको प्रदेशको बजेटप्रति खासै चासो देखिदैन् । मधेश प्रदेशको बजेट पनि विकास निर्माणमा नै लाग्ने भए पनि प्रदेशवासीहरुको जनजीवनसित प्रत्यक्ष सरोकार राख्दैन् । प्रदेशको बजेटले महँगी घट्दैन् र महँगी बढदैन् पनि,प्रदेशको बजेट भान्सामा प्रवेश गर्ने प्रयाससमेत गरेको देखिदैन् । यद्यपि बेटी शिक्षा, दलित, सिमान्तकृतलाई राहत दिने काम प्रदेश वजेटले गर्नेछ । प्रदेशमा सडक, सिंचाई, पिउने पानी,स्वास्थ्य क्षेत्रमा बजेट पुग्नेछ ।

Comment


Related News

Latest News

Trending News