अपडेट 
२०८० असार ३, आईतवार ०७:३६

अत्यधिक गर्मीका कारण वीरगञ्जका सामुदायिक विद्यालयहरु थप तीन दिन बन्द हुने भएको छ ।

वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै तापक्रम घट्नुको सट्टा झन् बढ्दै गएपछि थप ३ दिनका लागि बिदा दिने निर्णय गरेको जनाएको छ । यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै महानगरले गत जेठ १९ गतेदेखि २६ गतेसम्म र त्यसपछि जेठ २८ देखि असार १ गतेसम्मका लागि बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो । तर गर्मी कम नभएपछि वर्षे विदामा कट्टा हुने गरी थप ३ दिन अर्थात असार ३ गतेदेखि ५ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले जानकारी दिए । उनले सामुदायिक विद्यालय बन्द रहे पनि संस्थागत विद्यालय भने आइतबारदेखि संचालनमा आउने बताए ।

यस्तै,आगामी असार ५ गते मंगलबार गहवामाई (माईस्थान मन्दिर) रथयात्रा रहेकाले एक दिनका लागि संस्थागत विद्यालय पनि बन्द रहने अधिकृत राउतले बताए । पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो तीन सातायता गर्मी अत्यधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । शुक्रबार वीरगञ्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News