अपडेट 
२०८० असार ४, सोमबार ०६:१५

मधेश प्रदेश सभा अन्तर्गतका तीन समितिको सभापतिमा महिला सभासद सर्वसम्मतबाट चुनिएका छन् ।

मधेश प्रदेशसभा अन्तर्गतका सात विषयगत समिति रहेका छन् । ती मध्ये ५ समितिको आइतबार सभापति चयन भएकोमा तीन समितिको सभापतिमा महिला सर्वसम्मतले चयन भएकी छन् ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको छ । विकास समितिमा जनता समाजवादी पार्टी नेपालका शारदा शङ्करप्रसाद कलवार, अर्थ तथा योजनामा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)की शारदा पहाडी दास, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापामगर र महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टीका रुपाकुमारी यादव सभापतिमा चयन भएकी छन् ।

विषयगत समितिका सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गराए । उनीहरुले आइतबार नै पदभार पनि ग्रहण गरेका छन् । कृषि तथा भूमि व्यवस्थापन र प्रदेश मामिला समितिको सभापति चयन हुन बाँकी छ ।

मधेश प्रदेशमा अर्थ तथा योजना समितिमा सभापतिसहित ११, कृषि तथा भूमि व्यवस्थापन समितिमा १२, प्रदेश मामिला समितिमा ९, प्राकृतिक स्रोत तथा वातावरण समितिमा १२, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा १३, विकास समितिमा १२ र सार्वजनिक लेखा समितिमा १५ सदस्यीय रहने व्यवस्था छ ।

चयन हुन बाँकी रहेका समितिका सभापति पनि चाँडै टुंगिने सभामुख रामचन्द्र मण्डलले बताएका छन् । प्रदेश सभामा संसदीय समिति गठन भएपछि संसदको गतिविधि फराकिलो हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News