अपडेट 
२०८० असार ६, बुधबार ०६:४५

जनकपुरधाममा मास्टर सेफ सन्तोष साहको मिथिला थाली सञ्चालनमा आएको छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिका रमान्नद चोकमा मिथिला थाली नामको होटेल शुभारम्भ भएको छ ।

बासको व्यवस्थासहित सेफ साहले जनकपुरधाममा पहिलो पटक होटेल सञ्चालनमा ल्याएका छन् । एक करोड ८० लाखको लागतमा होटेल बनाइएको छ । होटेलको हरेक समानमा मिथिला झल्किाइएको छ । मिथिलाको परिकारलाई स्थापित गर्ने उद्देश्यले होटल सञ्चालन गरेको सेफ साहले बताए । उनका अनुसार हिमालय ग्लोबल इन्भेष्टमेन्ट कम्पनीको होटेलमा लगानी छ । सो कम्पनीले मिथिला थालीको पाँच वर्षमा पाँच सय शाखा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । दोस्रो छिट्टै कतारको दोहामा सुरु गरिने उनले जनाए । मिथिलाको श्रमिकहरुलाई लक्षित गरी त्यहाँ होटेल सञ्चालनमा ल्याउन लागिएको छ । ‘मिथिलाको परिकारहरु उपेक्षामा पर्न थालेको छ । नयाँ पुष्ताले र्बिसिँदै गइरहेको छ,’उनले भने,‘हामीले मिथिला खाना स्वाद फर्काउने प्रयास गरेका छौं ।

मिथिलाको परिकारलाई स्थापित गर्न खोजेका छौं ।’ बीरिया, ओल, तरुवा, तिलौरी लगायतको परिकार चुलोको स्वादमा खुवाइने उनले बताए । सेफ साहले आम्दानीको प्रत्येक तीन रुपैयाँमा एक रुपैयाँ स्थानीय समाज कल्याणमा खर्च गरिने अवधारणा रहेका बताए । आम्दानीबाट केही रकम स्थानीय बाल आश्रम र अनाथ आश्रममा दिइने उनको भनाई छ । मूल्यमा पनि एकरुपता ल्याउने उनले बताए । दुई सय पच्चास रुपैयाँमा शाकाहारी खानाको १७ परिकार खुवाइने छन् । मांसाहारी र शाकाहारीको छुट्टाछुट्टै किचेन राखिएको छ ।

तीन सय जना अटाउन हल र सात वटा कोठाको समेत व्यवस्था छ । होटेलमा मिथिला खाना पाउनुको साथै मिथिलाका केही कच्चा परिकार बिक्रीको लागि पनि राखिएको छ । सिजन अनुसार अरकोच, ओल, आलसको तीलौरी लगायतको परिकार होटेलबाटै सस्तो मूल्यमा बिक्री गर्ने उनले बताए ।

Comment


Related News

Latest News

Trending News