अपडेट 
२०८० असार ७, बिहीबार ०६:१३

हालै घोषणा भएको समाजवादी मोर्चामा सहभागी भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि चर्चामा आएको छ । मधेश केन्द्रित राजनीति गर्दै आएको जसपाका अध्यक्ष उपेन्द्र यादवले वामपन्थी दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग मोर्चा बनाएपछि मधेशमा चर्चाको विषय बनेको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशमा आफ्नो पकड बनाएपछि जसपा अध्यक्ष यादव आपूmलाई कमजोर ठानेर शक्ति र प्रभाव बढाउन समाजवादी मोर्चामा गएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । दुई वटा संविधानसभा र एउटा प्रतिनिधिसभा चुनाव जितेका उपेन्द्र यादवलाई सप्तरी–२ बाट जनमतका अध्यक्ष सीके राउतले २०७९ को आम निर्वाचनमा पराजित गरेका थिए । आगामी दिनमा पनि मधेशमा सीके राउतबाट उपेन्द्र यादवलाई चुनौती रहने विश्लेषकहरु बताउँछन् । मधेश मामिलाका जानकार तुलानारायण साहले भने, ‘मधेशमा सीके राउतको उदय भएपछि उपेन्द्र यादव शक्ति सञ्चयमा लागेका छन् र त्यसको उपज हो समाजवादी मोर्चा ।’ त्यसो त, सीके राउत मूल धारको राजनीतिमा आउनु अघि उपेन्द्र यादव र उनको दललाई महन्थ ठाकुर नेतृत्वको पार्टीले मुख्य प्रतिस्पर्धीका रुपमा चुनौती दिँदै आएको थियो । तर, जसपाका अध्यक्ष यादवले महन्थ ठाकुरलाई आफ्नो प्रतिस्पर्धी माने पनि त्यति गम्भीर रुपमा लिएका थिएनन् । तर २०७९ को निर्वाचनमा सीके राउतबाट आफू पराजित भएपछि उपेन्द्रले मधेशमा आफूलाई असुरिक्षत ठानेका छन् । त्यही भएर उनी समाजवादी मोर्चाका माध्यमबाट मधेशमा आफ्नो बर्चस्व कायम राख्ने दाउमा छन् ।

उपेन्द्र यादवले २०६४ मा मधेशी जनअधिकार फोरममार्फत मधेशमा आन्दोलन सुरु गरेपछि त्यसको काउन्टरमा महन्थ ठाकुर नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन भएको थियो । ठाकुर नेतृत्वको पार्टी आफूविरुद्ध लक्षित गरेर गठन गरेको जिकिर उपेन्द्र यादवले पटकपटक गरेका थिए । त्यसो त, ठाकुर नेतृत्वको दलसँग उपेन्द्र यादवले सहकार्य नगरेका होइनन् । आन्दोलनका लागि तमलोपासँग पटक पटक मोर्चा बनाए पनि आपसमा सौहार्द्रपूर्ण सम्बन्ध कहिल्यै रहेन । उपेन्द्र यादवले तमलोपा (महन्थ ठाकुर)लाई मित्रशक्ति भन्दा पनि प्रतिस्पर्धीको रुपमा हेर्थे । त्यसैले पनि उनीहरुबीच आपसमा कहिल्यै राम्रो सम्बन्ध बन्न नसकेको राजनीतिक विश्लेषक बलराम यादव बताउँछन् । उनी भन्छन्, ‘सुरुमा उपेन्द्रजीले मधेशमा महन्थ ठाकुरलाई आफ्नो प्रधान शत्रु मान्नुभएको थियो अहिले सीके राउत हुनुभएको छ ।’ सीके राउतले उपेन्द्र यादवलाई पछिल्लो समय नराम्रो झट्का दिएका कारण वामपन्थी दलहरुको ओत लागेर उपेन्द्र यादवले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न खोजेको विश्लेषक यादवको भनाइ छ ।

उपेन्द्र यादवको राजनीतिक पृष्ठभूमि कम्युनिष्ट नै रहेका कारण अहिले कम्युनिष्ट घटकहरुसँग मिलेर समाजवादी मोर्चामा सामेल भएको उनले बताए ।समाजवादी मोर्चा बनाएर उपेन्द्र यादवले मधेश प्रदेश र सिंहदरवारमा आफ्नो प्रभाव बढाएको टिप्पणी पनि उनले गरे । जसपा मधेशको तेस्रो ठूलो दल हो । मधेश प्रदेशसभामा पहिलो दल एमाले छ भने दोस्रो दल कांग्रेस छ । मधेश प्रदेशसभामा छैटौं र सातौं दल क्रमशः माओवादी र नेकपा एकीकृतसँग जसपाले मोर्चा बनाएपछि मधेश प्रदेशसमा समाजवादी मोर्चामा आवद्ध सांसद संख्या ३४ पुगेको छ । जसपा नेतृत्वको सरकारलाई कांग्रेससहित समाजवादी मोर्चामा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ । गठबन्धनमा रहेको कारण लोसपा र जनमत पार्टीले पनि प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा समेत सामेल छन् । तर यी दुबै दलसँग जसपाको त्यति राम्रो सम्बन्ध छैन । जसपाका अध्यक्ष उपेन्द्र यादवले जनमत र लोसपालाई सरकारमा सहभागी गराउने इच्छा नै देखाएका थिएनन् ।

मधेशमा यी दुई दल कसरी कमजोर हुन्छन्, सत्ताभन्दा बाहिर कसरी राख्न सकिन्छ भनेर उपेन्द्र यादवले विकल्पहरु खोज्दै गरेको लोसपाका एक जना कार्यकारिणी सदस्य बताउँछन् । उनले भने, ‘उपेन्द्र यादवको इच्छा अनुसार हामी मधेश प्रदेशको सरकारमा सहभागी भएका छैनौं, सत्ता गठबन्धनमा भएका कारण मधेश प्रदेशमा पनि सोही अनुसार सहभागी भएका हौं ।’ समाजवादी मोर्चा बनाएर उपेन्द्र यादवले मधेशमा शक्ति ध्रुवीकृत गर्न खोजे पनि मधेश प्रदेशसभामा उनको पक्षमा साधारण बहुमत पनि पुग्दैन । प्रदेशसभामा जसपाका १९ सांसद छन् भने माओवादी केन्द्रको ८ र नेकपा एकीकृत समाजवादीको ७ जना छन् ।

समाजवादी मोर्चाले मात्र सरकार चलाउन खोजे सम्भव नहुने लोसपाका ती नेताले बताए । वामपन्थीहरु एकीकृत भए जस्तै लोकतान्त्रिक शक्तिहरु पनि एकीकृत हुने सम्भावना रहेको उनी बताउँछन् । राजनीतिक विश्लेषक ई.सत्यनारायण साह पनि यो सम्भावनालाई नकार्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘जसरी वामपन्थी शक्तिहरु एकीकृत भएका छन्, त्यसरी लोकतान्त्रिक शक्तिहरु पनि एकीकृत हुनसक्ने सम्भावना बढ्दै गइरहेको छ । यद्यपि जति पनि गठबन्धन वा मोर्चा बनिरहेका छन्, ती सबै सत्ताका लागि नै बनिरहेका छन् ।’ समाजवादी मोर्चा बनाए पनि मधेशमा त्यसको खास असर नपर्ने बताउँदै उनले मधेशका जनता वा भोटर निकै सचेत भइसकेको दाबी गर्दछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव वामपन्थी रहेको भन्दै साहले वामपन्थीहरुसँग मिलेर उपेन्द्र यादवले समाजवादी मोर्चा बनाउनु आफूलाई आश्चर्यको विषय नलागेको बताए । उनले भने, ‘उपेन्द्र यादवको स्कुलिङ विचार, राजनीति गर्ने शैली सबै वामपन्थी हो, त्यसैले यो मोर्चा बनाउनु स्वाभाविक नै थियो ।’

Comment


Related News

Latest News

Trending News