अपडेट 
२०८० असार ७, बिहीबार ०६:१४

भाटभटेनीको २५ औं शाखा जनकपुरधाममा संचालन भएको छ ।

एक समारोहबीच बुधबार शाखाका प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले जनकपुरधाम उपमहानगरपालिका –१४ मुजेलियामा भाटभटेनीको २५ औँ शाखाको शुभारम्भ गरेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम शहरलाई आर्थिक रुपमा थप चलायमान गराउन भाटभटेनीको स्टोर संचालनले टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । बहुप्रतिक्षित र ठूला लगानीले यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव उपलब्ध हुँदा थप सहज हुने दाबी गरिएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । आफू जनकपुरधामबारे सानै बाट जानकार रहेको र पहिला पनि धेरैपटक आइसकेको माता सीताको यो पुण्य भूमिमा केही गर्नु पर्छ भन्ने लागेर नै भाटभटेनी संचालनमा ल्याएको बताए । उनले अफू व्यवसायिक हिसाबले जोडिएर समाजका लागि केही गर्न पाउदा खुशी लागेको बताए ।

२ अर्ब बढी लगानीमा जनकपुरधाम उपमहानगरपालिका वडा न.१४ मुजेलिया, शहीदद्वार नजिकै स्थापना भएको सो स्टोर १ बिघा १० धुर क्षेत्रफलमा बनेको छ । २ लाख बढी वर्गफूट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएको भाट भटेनीले जनाएको छ । भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको अध्यक्ष गुरुङले दाबी गरे । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन, स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखेर रोजगार पनि प्रदान गर्दै आएका छौं, उनले भने । स्वदेश तथा विदेशबाट जनकपुरधाम घुम्न आउने पर्यटकलाईसमेत लक्षित गरी स्थापना गरिएको स्टोरमा उपलब्ध हुने सेवाले यहाँको पर्यटन व्यवसायमासमेत टेवा पुग्ने अपेक्षा गरिएको भाटभटेनी सुपरस्टोरका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए ।

सो स्टोर संचालनले जनकपुरधाम मात्र नभइ आसपासका जिल्लाहरुसंगै सीमावर्ति भारतीय शहरका बासिन्दाहरु पनि लाभान्वित हुने उनले बताए । स्टोर संचालनसंगै जनकपुरको आन्तरीक तथा वाह्य पर्यटनको प्रवद्र्धनमा पनि सहयोग पुग्ने हाम्रो विश्वास छ, उनले भने । स्टोरमा ग्रोसरी, किचनवेयर, रेडीमेड गार्मेन्ट, बच्चाका खेलौनाका सामान, फुटवेयर, ईलेक्ट्रोनिक्सका सामानहरु, वल्र्ड क्लास ब्राण्डेड लुगाहरु, ब्राण्डेड जुत्ताहरु लगायत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजार मूल्य भन्दा सस्तो उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराई जनाए । पूर्ण वातानुकुलित एवम् आकर्षक सजावटसहित एकै स्थानमा अन्तर्राष्ट्रिय स्तरको सपिङ गर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको पेपे पिज्जा, हिमालय मम, बास्किन रविन्स आइसक्रिम, अतिथि भेज रेष्टुरेन्ट लगायतको फुडकोर्ट रहेको यस स्टोरमा मल्टिप्लेक्स सिनेमा हल, बाबु नानीहरु खेल्नका लागि किड्स जोन,स्केट पार्क लगायतका सुविधाहरु पनि रहेको व्यावस्थापक भट्टराईले बताए । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशतसम्म नगद छुटसँगै निःशुल्क होमडेलिभरी सुविधा पनि दिइने जनाइएको छ । मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने अर्थतन्त्र सुधारमा टेवा पुग्ने गरी बजार विस्तारलाई थप तीव्रता दिएको छ ।

निजी क्षेत्रका अन्य उद्योगी तथा व्यवसायीहरुले जस्तै भाटभटेनीले संकटको सामना गर्नुपरेको भएता पनि ठूलो आँट गरेर नै स्टोर विस्तारलाई तीव्रता दिइएको बताइएको छ । बजार विस्तारमा आफ्नै फरक शैली अपनाएको भाटभटेनीले झापाको विर्तामोडमा २६ औं तथा दमकमा २७ औँ स्टोर संचालनमा ल्याउने जनाएको छ । विर्तामोडमा हाल निर्माण कार्य चलिरहेको र आगामी असोज महिनामा संचालनमा ल्याउने जनाइएको छ । भाटभटेनीले अहिलेसम्म ८ हजार बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिहेको छ ।

Comment


Related News

Latest News

Trending News