अपडेट 
२०८० असार ११, सोमबार ०७:०२

लामो समयदेखि नागरिकताविहीन रहेका जन्मसिद्ध नागरिकका सन्तानलाई आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ ।

मधेश प्रदेशसहित मुलुक भरका जिल्ला प्रशासन कार्यालयमार्फत आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ । विभिन्न जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयहरुले फरक फरक मापदण्ड तोक्दा नागरिकता सिफारिस लिनमा समस्या भएको भए पनि जिल्ला प्रशासन कार्यालयहरुले फाटपूmट रुपमा नागरिकता वितरण गरेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरी टोकन अनुसार नागरिकता वितरण गर्ने जनाए पनि आइतबार नागरिकता वितरण गरेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–३ का इन्द्रजीत साफीलाई आइतबार जन्मको आधारमा बंशज नागरिकता प्रदान गरेको छ ।

मधेशदेखि काठमाण्डुसम्म चरणबद्ध आन्दोलन गरेर उनले आइतबार नागरिकता प्राप्त गरेका छन्। तर, जिल्ला प्रशासन कार्यालयहरुले माग गरेको कागजात पूरा गर्न सर्वसाधारणहरुलाई ठूलो समस्या भएको छ । जनकपुरधाम–४ वडामा नागरिकताका लागि सिफारिस लिन आएका एक जनाले कागजात पूरा गर्न समस्या भएको बताए । उनले महोत्तरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसारको कागजात लिएर धनुषामा आए तर, यहाँ फरक कागजात माग गरिएको कारण आज सिफारिस लिन नसकेको गुनासो गरे ।

यस्ता समस्या अन्य जिल्लाहरुमासमेत देखिएको छ । तर, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कागजात पूरा गरेर आएकाहरुलाई मात्र नागरिकता वितरण गरिने बताए । उनले वास्तविक नागरिकले नागरिकता लिनुपर्ने धारणा राख्दै केही व्यक्तिका कारण लाखौं जनालाई बदनाम गर्ने कोसिश गरियो भने कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिए । उनले जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न १५ वटा कागजात माग गरेको छ कागजात पूरा गरेर आएकाहरुलाई नागरिकता आइतबार दिइएको जानकारी दिए ।

महोत्तरीमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए । आइतबार सिफारिसहरु आएको तर त्यसका कागजात कम रहेका कारण आइतबार शुरु गरिए पनि अपेक्षा गरे अनुसारलाई नागरिकता बाँड्न नसकेको बताए । उनका अनुसार नागरिकता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले नागरिकताका लागि आउने सिफारिसमा बढी समस्या देखिएको बताए । उनले जिल्ला प्रशासन कार्यालयले माग गरेको कागजात अनुसार आए नागरिकता वितरणमा कुनै समस्या नहुने बताए । वर्षौदेखि आफ्नै मुलुकमा अनागरिक सरह बसोवास गर्दै आइरहेकाहरुलाई नागरिकता दिलाउनका लागि लामो समयदेखि आन्दोलन तथा संघर्षका कार्यक्रम हुँदै आइ रहेको थियो । नागरिकताको विषय राजनीतिक बने पनि व्यवहारिक पनि त्यस्तै थियो ।

नागरिकता नपाएर उनीहरु नत सरकारी सेवा सुविधानै पाउन सकेका थिए नत सरकारी स्तरमा उच्च शिक्षानै प्राप्त गर्न सकेका थिए ।

दुई दुई पटक प्रतिनिधिसभाबाट बहुमतले पारित गरेर राष्ट्रसभाबाट पनि बहुमतले पारित गरी विधायन समितिमासमेत छलफल गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुग्दा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् । तर, मुलुकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई पाएपछि उनले त्यो विधेयक प्रमाणीकरण गरेपछि त्यसको विरुद्धमासमेत सर्वोच्चमा रिट परेको थियो तर, सर्वोच्चले रिट खारेज गरेपछि आइतबारदेखि नागरिकता वितरण कार्य जिल्ला प्रशासन कार्यालयहरुबाट सुरु भएको छ ।

Comment


Related News

Latest News

Trending News