अपडेट 
२०८० असार १२, मंगलवार ०७:४४

धनुषाको सबैला नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । ९ औँ नगरसभाबाट आइतबार आर्थिक वर्ष ०८०/०८१ का लागि अनुमानित ५९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरप्रमुख कारीराम यादवले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगारलगायत विषयलाई बजेटमा प्राथमिकता दिइएको छ । पालिकामा किसानहरुले उन्नत जातको बीउ उत्पादन गर्दा २५ प्रतिशत र मलखाद उत्पादन गर्दा ५० प्रतिशत अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । वार्षिक रुपमा कृषि मेला आयोजना गरी उत्कृष्ट किसानलाई पुरस्कृत गरिने पालिकाको तयारी छ । पुरस्कृत किसानलाई थप अनुभवको लागि कृषिमा प्रगति भएको ठाउँमा भम्रण गराइने छ । नगरपालिकाभित्र सहकार ीसँग कृषि साझेदारीमा धान प्रशोधन उद्योगलाई निरन्तरता दिइने छ भने बासमती धानको बजारीकरणको लागि पहल गरिने जनाइएको छ । सात जनालाई स्थानीय उद्योगमा रोजगारी दिएका उद्योगलाई करमा सहुलियत दिइने छ ।

सबैला नगरपालिका वडा नम्बर ९, १० र १२ मा बर्थिङ सेन्टर सञ्चालन गर्ने नगर प्रमुखको योजना छ । नगर स्तरीय सामुदायिक विकास अध्ययन केन्द्र सञ्चालनमा ल्याइने र पालिकाभित्र मनोविमर्श केन्द्र पनि स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रत्येक वडामा मेलमिलाप समिति गठन तथा परिचालन गरिने छन् । सामुदायिक विद्यालयहरुमा दरबन्दी मिलान, माध्यमिक शिक्षा पूरा गरेका युवाहरुलाई कम्प्यूटर तालिम, लोकसेवाको कक्षा संचालन गरिने लक्ष्य राखिएको छ । बाहिरका पर्यटकलाई भित्र् याउन वडा नम्बर ४ कमलाको छेउमा पर्यटकीय स्थल निर्माण गरिने छन् ।

पालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनको लागि संघीय सरकारको सशर्त अनुदान २३ करोड ३ लाख, राजश्व बाँडफाँट अन्तर्गत ११ करोड ५५ लाख ८ हजार र समायीकरण अनुदान १३ करोड ७८ लाख गरी ४८ करोड ३६ लाख ८ हजार प्राप्त गर्ने जनाइएको छ । यस्तै, मधेश प्रदेश सरकारबाट एक करोड ५२ लाख र पालिकाको आन्तरिक स्रोतबाट ९ करोड रुपैयाँ रहेको छ ।

Comment


Related News

Latest News

Trending News