अपडेट 
२०८० असार १२, मंगलवार ०८:०३

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५२ करोड ७३ लाख ५ हजारको अनुमानित बजेट पेश गरेको छ ।

नगर प्रमुख जितनारायण यादवले सो बजेट प्रस्तुत गरेका छन् । गणेशमान चारनाथ नगरपालिकाले दिगो स्रोत व्यवस्थापनका लागि नयाँ स्रोतहरुको पहिचान र प्रवद्र्धन गर्न स्रोतको सम्भाव्यता अध्ययन गर्ने कार्यलाई निरन्तरता दिँदै कर वृद्धि भन्दा करको दायरा विस्तार गर्ने नीति लिइएको छ । गैर करका क्षेत्रहरुलाई करको दायरामा ल्याउन आवश्यक नीतिगत प्रवन्ध मिलाउने भएको छ । स्थानीय स्रोत र साधनको विकास र परिचालन गरी आन्तरिक राजस्वमा वृद्धि गर्न करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

राजस्व असुलीलाई अझ प्रभावकारी बनाउन स्थानीय स्तरका उद्योग वाणिज्य संघलगायतका सम्वद्ध निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गर्नेभएको छ । घरेलु उद्योग र लघु उद्यमलाई प्रोत्साहित गर्ने नीति लिएको छ । नगरपालिकाले कृषिजन्य उत्पादकत्वमा वृद्धि गर्न नहर तथा सिँचाइको प्रवन्ध नभएका खेतीयोग्य जमिनको लागि भूमिगत सिँचाइलाई प्राथमिकताका आधारमा आयोजनाहरु सञ्चालन गर्ने नीति लिएको छ । पशुपालनलाई व्यवसायिक रुपमा विकास गर्न गोठ सुधार कार्यक्रम जस्ता कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । अत्यावश्यक गोरु, बोका तथा बंगुर खरिद गरी कृषक समूहमा हस्तान्तरण गर्ने जनाएको छ । नगरक्षेत्र भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा प्रदान गर्न पारित नगर शिक्षा योजना प्रभावकारी रुपमा लागु गरिनेछ । सार्वजनिक विद्यालयहरुमा प्रधानाध्यापकसित कार्यसम्पादन सम्झौता गरी सोही अनुसार कार्य सम्पादन मूल्यांकन हुने व्यवस्था गरिने भएको छ ।

सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार, शिक्षण पद्धति, विद्यार्थी, सहुलियत तथा जनशक्ति व्यवस्थापनको लागि नगर स्तरीय मापदण्ड तयार गरी लागु गर्नेभएको छ । युवा मैत्री कार्यक्रम संचालन गरी युवालाई विकासको सम्बाहकको रुपमा परिचालित गर्दै लग्ने भावी योजना रहेको छ । आयुर्वेद चिकित्सा पद्धतिलाई दिगो भरपर्दो बनाइ आयुर्वेद सम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । स्थानीय वासिन्दाहरुको स्वास्थ्य सुविधालाई मध्यनजर गरी हाललाई भरतपुर स्वास्थ्य संस्थामा प्रयोगशाला, इमरजेन्सी प्राथमिक उपचार कक्षको व्यवस्था गरिएको र आगामी वर्षमा यस नगरपालिका भित्र निर्माण भएको नगर अस्पताल सञ्चालन गरिने जनाइएको छ । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधिहरुको सूची सम्पूर्ण स्वास्थ्य चौकीहरुमा राखी तोकिएका औषधिहरु अनिवार्य उपलव्ध गराउन आवश्यक प्रवन्ध गरिने भएको छ ।

गणेशमान चारनाथ नगरपालिकाले गर्भवती र सुत्केरी महिलाहरुलाई जाँचका लागि स्वास्थ्य संस्था सम्म पहुँच पुर्याउनकोलागि विशेष कार्यक्रम ल्याउन लागेको छ । भरतपुर स्वास्थ्य चौकीमा ल्याबको जाँचको विशेष प्याकेज व्यवस्था गरिने तयारी गरिएको छ । खानेपानी अभावलाई परिपूीर्त गर्न भइरहेको स्रोत परिचालन र खानेपानीको दिगो उपयोगकोलागि विशेष अभियानसहित कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिनेभएको छ ।

खानेपानीको मुहानको संरक्षण सम्वद्र्धन गरिनुका साथै खानेपानी योजनाहरुको मर्मत सम्भार गर्दै लिने भएको छ । नगरपालिकाले प्रदान गर्ने सेवा सुविधालाई व्यवस्थित गर्नका लागि नगर कार्यपालिकाले आफ्नै भवन निर्माण गरी सो भवनबाट सेवा प्रवाह गरिरहेकोमा आगामी वर्षमा यस भवनमा थप संरचनाहरु निर्माण गरी सेवा प्रवाहलाई थप व्यवस्थित गर्दै वडा नं. १,३,४,१० र ११ का नवनिर्मित भवनबाट सेवा प्रवाह भइरहेको छ भने वडा नं. २,५,६,७,८, ९ को कार्यालय भवन निर्माण प्रक्रिया आगाडि बढाइएको जानकारी दिइएको छ ।

मौसमी महामारी, संक्रामक रोग, कोभिड १९, हैजा, डेंगु, शीतलहर, डुबान जस्ता विपद् रोकथाम र नियन्त्रणका लागि सरोकारबाला सबैको सहयोगमा आवश्यक व्यवस्था गरिने भएको छ । विपद् व्यवस्थापनका लागि नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको र सो बाट तत्काल राहत दिने व्यवस्था मिलाइएकोमा सो कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News