अपडेट 
२०८० असार १२, मंगलवार ०८:१४

कटहरिया नगरपालिकाको सातौं नगरसभा सोमबार सम्पन्न भएको छ । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ४१ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेका छन् । नगरसभामा कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ४१ करोड ९६ लाख १६ हजार ३ सय रुपैयाँको आयव्ययसहितको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित नगर प्रमुख जयसवालले नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ११ करोड १७ लाख, सशर्त अनुदान चालु १७ करोड १० लाख, संघीय सरकारको सशर्त पुँजीगत १ करोड १५ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ९ करोड ५२ लाख ७२ हजार, समपूरक अनुदान ५० लाख, प्रदेश सरकार वित्तीय सामानीकरण ८१ लाख ४४ हजार, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, आन्तरिक राजश्व १ करोड र नगरपालिकाको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रहेको मौज्दात २० लाख गरी कुल ४१ करोड ९६ लाख १६ हजार ३ सय रुपैयाँको आयव्ययसहितको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगर प्रमुख जयसवालले बताए ।

नगर प्रमुख जयसवालद्धारा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषितर्फ कृषि व्यवसायीलाई प्रोत्साहन गर्न कृषि विद्युत् मिटर जडान गरी सिँचाइ गर्दा उठेको विद्युत् महसुलको सतप्रतिशत अनुदान दिइने, किसानलाई सहज र सस्तो मलखाद उपलब्ध गराई उत्पादकत्वमा वृद्धि गरी खेतीको माध्यमले किसानलाई आत्मनिर्भर बनाउने कुरा समेटिएको छ ।

खेत खेतमा पानी पुर्याउनका लागि नहर नपुगेको ठाउँमा डिप ट्यूववेल तथा स्यालो ट्यूववेलको व्यवस्था गरिने, निःशुल्क सिँचाइको नीति अनुरुप विद्युत्को कृषि मिटर र कृषि मिटरमा उठेको बिल महसुल वापत लाग्ने रकम नगरपालिकाले तिर्ने व्यवस्था गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । सुरक्षित नागरिक आवास निर्माणका लागि प्रति घरपरिवार ५० हजारका दरले ६ सय २५ अति गरीब घरपरिवारलाई अनुदान रकम उपलब्ध गराइने, आवासविहीनलाई आवासको व्यवस्था गरिने कुरा समेटिएको छ । शिक्षातर्फ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने र पठनपाठनमा लाग्ने शुल्क निःशुल्क गर्न क्याम्पसलाई विशेष अनुदान दिने, नगर भित्रका सम्पूर्ण सामुदायिक तथा सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

फ्रि वाइफाइ सुविधाले सु सम्पन्न बनाइने, सिँचाइका लागि खेत खेतमा विद्युत् प्रसारण पुर्याइने, नगरमा इलाका प्रशासन कार्यालय, मुद्दाफाँट, मालपोत कार्यालय, विद्युत् महसुल संकलन कार्यालय स्थापनाका लागि विशेष पहल गरिने,सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने जस्ता कुराहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

Comment


Related News

Latest News

Trending News