अपडेट 
२०८० असार १३, बुधबार ०८:०६

भाटभटेनी सुपर स्टोरका अध्यक्ष मिनबहादुर गुरुङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नक्सालस्थित निजी निवासबाट मंगलवार गुरुंगलाई पक्राउ गरेको छ । गुरुङले सरकारी कागज किर्ते गरी ललिता निवासको जग्गा खरिद बिक्री गरेको आरोप लागेको छ ।

ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको जग्गामध्ये १ सय १२ रोपनी ४ आना जग्गा गुरुङले खरिद बिक्री गरेको आरोप छ । गुरुङले शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी लगायतसँगको मिलेमतोमा सो जग्गा खरिद गरेका थिए । नेपालमा सुपर मार्केटको क्षेत्रमा सबै भन्दा ठूलो चेन(सञ्जाल) रहेको भाटभटेनी सुपर स्टोरको देशैभरि २५ वटा मार्केट छ । गुरुङले पछिल्लो पटक असार ६ गते जनकपुरधाममा २५ औं भाटभटेनी सुपर स्टोरको उद्घाटन गरेका थिए । त्यसको सातौ दिन उनी पक्राउ परेका छन् । गत जेठ महिनामा ३ बिघा क्षेत्रफल ओगटेको वीरगञ्जस्थित भाटभटेनी सुपर स्टोरको उनले उदघाटन गरेका थिए । ललिता निवास जग्गा खरिद बिक्रीका प्रमुख योजनाकार मानिएका भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङसहित थप ६ जनालाई पक्राउ गरिएको छ । ब्यूरो स्रोतका अनुसार गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा खरिदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरिएको छ । प्रहरीले धुम्बराहीस्थित निवासबाट सुधिर कुमार शाहलाई पनि पक्राउ गरिएको जनाएको छ । शाह पूर्व निर्वाचन आयुक्त हुन् ।

गुरुङ भ्याट छलीमा समेत जोडिएका छन् । भाटभटेनीले मूल्य अभिवृद्धि कर छली वस्तु आपूर्ति गर्नेहरूसँग खरिद गरेको नक्कली बिजक बनाएर आफ्नो खर्च बढाएको भन्दै सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भइसकेका केसीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका छन् । स्रोतका अनुसार सो घटनामा जोडिएका अन्य थप व्यक्तिहरुको पनि प्रहरीले खोजी गरिरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको छानविन गरी चर्चामा आएको सरकारले ललिता निवास जग्गाको फाइल पुनःखोलेर कयौं शक्तिशाली व्यक्तिलाई कानुनको दायरामा ल्याउने भएको छ । ललिता निवास जग्गा खरिद बिक्रीका आरोपित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल फेरि मुद्दामा तानिने सम्भावना छ । सीआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि कारबाहीबाट जोगिन तत्कालीन एमाले सरकारको आडमा ललिता निवासको जग्गा सरकारकै नाउँमा पौडेलले फिर्ता गरेका थिए । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले भ्रष्टाचार बाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने भनी राय तयार गरेको थियो । विशेष अदालतबाट २ करोड धरौटीमा रिहा भएका गुरुङ स्वयं अदालतमा उपस्थित भएका थिए । उनी अदालतमा उपस्थित भएकै दिन धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । गुरुङले खडा गरेको सुपर मार्केटको विशाल चेनका लागि सरकारी जग्गाको किर्ते काम र राजस्व छल्ने काम गरी आर्जन गरेको अकुत सम्पत्ति लगाएका छन् । हुनत कतिपयले गुरुङको भाटभटेनी सुपर स्टोरमा देशकै एकजना प्रभावशाली नेताको समेत लगानी रहेको बताउने गरेका छन् । दुई वर्षअघि सरकारी कागजात किर्तेको आरोपमा अनुसन्धान अघि बढे पनि मुद्दा दायर हुन सकेन । त्यतिबेला रोकिएको फाइल अहिले अघि बढेको हो । तत्कालीन मुलुकी ऐन अनुसार, किर्तेको अभियोगमा अनुसन्धान गर्न हदम्याद लाग्दैन । प्रहरीले ललिता निवास जग्गा अनियमितताका घटनामा चारवटा अनुसन्धान प्रतिवेदन तयार पारी ०७८ मंसिरमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

त्यतिबेला सरकारी वकिलको कार्यालयले पर्याप्त अनुसन्धान नगरेको र हचुवाको भरमा प्रतिवेदन पेश गरेको भनी निर्देशनसहित फाइल फिर्ता पठाएको थियो । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलेको छ । अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातदेखि दुई पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारी पनि सो जग्गा प्रकरणमा मुछिएका छन् ।

Comment


Related News

Latest News

Trending News