अपडेट 
२०८० असार १४, बिहीबार ०६:४४

इस्लाम धर्मावलम्बीहरूले आजबिहीबार) महान् चाड बकरिद (इद उल अजहा) मनाउँदै छन् । सो अवसरमा मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले मुस्लिम समुदायको बकरिद पर्वको शुभकामना दिएका छन् । उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ईद उल अर्थात बकरिदको शुभकाना दिएका छन् ।

देशभरीका मुस्लिम समुदायहरु पैगम्बर हजरतले आफ्नो प्रिय वस्तु कुर्वानी गरेको दिनलाई सम्झिदै बकरिद मनाउँदै छन् । सोही अवसरमा मुख्यमन्त्रीले सबैको परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिएका छन् । ‘तपाईहरु माथि सधैं अल्लाहको कृपा बर्सिरहोस् । सम्पूर्ण मनोकामना पनि पूरा होस् । अल्लाहले सबैको दुआ कवुल गरोस् । सारा परिवारमा शुख, शान्ति र समृद्धि छाओस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु’ विज्ञप्तिमा उल्लेख छ ।

बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानहरूले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसंग भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरूले कायम राखेको पाइएको छ । निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग दुवा माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुशी भएनन् ।

अन्त्यमा उनले आफ् ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुशी गराउन खोजेपछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरीब एवं विपन्न परिवारलाई,अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । पर्व मनाउनका लागि मुसलमान समुदायक तयारीमा जुटेका छन् । गत वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डर अनुसार १०÷१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।

बकरिद पर्वका निम्ति गरिने कुर्बानीका लागि खरिद गरिने जनावर पूर्ण रूपमा स्वस्थ हुनुपर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु नहुने र हेर्दा पनि आकर्षक हुनुपर्छ । बिना मोलमोलाई खरिद गरिने भएकाले कुर्बानीका लागि मानिसहरूले सके घरका सबै मानिसहरूको नाममा नभए घरको अभिभावकका नामबाट कुर्बानी गर्ने चलन छ । ठूलो जनावरमा (राँगा, भैँसी, ऊँटजस्ता जनावर) हलाल गरिन्छ त्यसमा सातजना मिलेर कुर्बानी गर्नुपर्छ भने साना जनावर जस्तै, खशी, बहिला बाख्रा, दुम्बा भने एकै जनाले कुर्बानी गर्नुपर्छ । कतिपय मानिसहरूले मृतात्मा(बुबा, हजुर बुबाआमा, पत्नी वा पति)को संझनामा कुर्बानी दिने गर्दछन् । अरब देशमा बुधबार मनाइएको बकरिद नेपाल,भारत, पाकिस्तान, बङ्गलादेशमा बिहीबार मनाइने भएको छ ।

सो अवसरमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी असार १४ गते बकरिद पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचना अनुसार इस्लाम धर्मावलम्बिको पर्व बकरिद भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

Comment


Related News

Latest News

Trending News