अपडेट 
२०८० असार १५, शुक्रबार ०७:२७

जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ ।

आठौं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले २ अर्ब १ करोड ८० लाख ४८ हजार ४११ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । उपपप्रमुख अधिकारीले सडक, कृषि, शिक्षा , स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता राखेको बताएका छन् । १ अर्ब ७० करोड ६ लाख ६५ हजार ५ सयको आयमा संघीय तथा प्रदेश सरकारको सिलिङ अन्तर्गतको सशर्त अनुदान ५१ करोड ४३ लाख मुख्य आयको श्रोत रहेको छ । संघीय र प्रदेश सरकारको विशेष अनुदान ३ करोड २५ लाख, समपुरक अनुदान ४ करोड ५० लाख , राजश्व बाँडफाँट, मालपोत, ढुँगागिट्टी बालुवा लगायत राजश्व बाँडफाँटबाट ३९ करोड ७३ लाख ३२ हजार ४ सय पनि उपमहानगरपालिको मुख्य आयमा देखाइएको छ । कुल बजेटमध्ये ३५ करोड १० रकम नगरस्तरीय ठूला योजनामा खर्च गर्न ५८ वटा योजना अघि सारिएको छ । बजेटमा २० लाखदेखि २ करोड सम्मका योजनामा समावेश गरिएको छ ।

नगर स्तरीय योजनामा जीतपुर बकुलिया अमाडार खैरहवा फत्तेपुर बडहर्वा सडक कालोपत्रे देखि वडा नं. १४ मा शहीद पार्क निर्माण सम्मका योजना समेटिएका छन् । उपमहानगरपालिकाले आगामी वर्षको बजेटमा नगर प्रहरी भर्ना गर्ने योजनामा उल्लेख छ । जसका लागि ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । यस्तै महिला पुनस्र्थापना केन्द्र सञ्चालन गर्ने, युवा स्वरोजगार प्रोत्साहन कार्यक्रम ,हरुवा चरुवाको तथ्याङ्क सङ्कलन जस्ता नयाँ कार्यक्रममा पनि बजेट विनियोजन गरेको छ । माध्यमिक र आधारभूत तहका विद्यालयहरूमा नगरस्तरीय स्वयम् सेवक शिक्षक राख्न ३ करोड २ लाख २५ हजार बजेट विनियोजन गरेको नगरले पालिका भित्रका ३५ वटा माध्यमिक, ३० वटा निम्न माध्यमिक र २५ वटा प्राथमिक गरी ७५ वटै विद्यालयमा यो सेवा सञ्चालन गर्ने भएको छ । जीतपुर सिमरासहित ईनर्वासिरा, मनहर्वा, अम्लेखगञ्ज र डुमरवानमा बर्थिङ सेन्टर सञ्चालन, मानसिक स्वास्थ्य कार्यक्रम, प्रसूति र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवालाईसमेत बजेटमा समेटेको छ । ६५ वर्ष पूरा गरेका महिला स्वयम् सेविकालाई बिदाइ गर्ने, स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने, मोबाइल ल्याब सञ्चालन गर्ने योजना सहितको बजेट व्यवस्था उपमहानगरले गरेको छ ।

Comment


Related News

Latest News

Trending News