अपडेट 
२०८० असार १६, शनिबार ०८:५७

एमालेको अवरोधका कारण धनुषाको मिथिला नगरपालिकाको नगरसभा अनिश्चित हुन पुगेको जनाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण नगरसभा बस्न नसकेको नगरप्रमुख महेन्द्र महतोले जनाएका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि नगरको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय ५ दिन वितिसकेको छ । मिथिला नगरपालिकामा एमालेको बहुमत छ । मिथिलाको २१ सदस्यीय कार्यपालिकामा एमालेको सबैभन्दा बढी उपप्रमुखसहित १० जना नगरसभा सदस्य छन् भने, नेपाली कांग्रेसको नगरप्रमुख सहित ५ जना नगरसभा सदस्य रहेका छन् । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन सकेको छैन ।

नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीका जनप्रतिनिधि सहभागी भए पनि हस्ताक्षर नगरी बैठक छोडेर गएपछि नगरसभा नै बस्न सकेनन् । नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास गराउन गत जेठ १७ र असार ३ गते बैठक डाकिएको थियो तर त्यसमा यी दुई दलका जनप्रतिनिधि सहभागी नै नभएको नगरप्रमुख महतोको भनाइ छ । नगरप्रमुखको बैठक डाकेर सबै जनप्रतिनिधिलाई छलफलमा बोलाउने प्रयास विफल भएपछि अन्ततः फेरि गत १२ गते बैठक डाकियो तर एमालेको अवरोध कायमै रह्यो । मिथिला नगरपालिकाका प्रमुख महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण बजेट प्रभावित भएको बताए । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो छ । उनले भने ‘ तीन पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान ग¥यौं । तर तीनै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु असहयोग गरे।’ केन्द्रमा नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा सहभागी छ, तर हाम्रो नगरपालिकामा कस्तो बिडम्वना छ त्यो दललाई एमालेले काँखी च्यापेर अगाडि बढी रहेको छ ।’ मिथिला नपाको ३ मा रहेको नगरस्तरीय योजनाबाट सडक ढलानका लागि २० लाखको बजेट छुट्याइएको थियो । जुन योजना वडाध्यक्षलाई जिम्मा लगाउन उपप्रमुख सुनिता सिंह बुढाथोकीले अडान लिँदै विवाद सिर्जना गरेको नगरप्रमुख महतोले आरोप लगाए । जब कि गत आर्थिक वर्षमा मिथिला नगरपालिकामा रहेको ११ वटै वडालाई समानरुपले १ करोड १० लाख बजेट वडाध्यक्षहरुलाई उपलब्ध गराइएको थियो ।

यसअघि एमालेकै नगरप्रमुख हुँदा पनि यति बजेट नदिने गरेको दाबी गर्दै नगरप्रमुख महतोले बजेट पर्याप्त मात्रामा उपलब्ध गराउन आफू तयार भए पनि एमालेको अवधरोधको तुक आफू बुझ्न सकिरहेको छैन बताए । यता मिथिला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष वीरेन्द्र महतोले नगरप्रमुखले नीति तथा कार्यक्रम पास गराउने वातावरण नै बनाउन नसकेपछि बजेट अझैसम्म आउन नसकेको आरोप लगाए । उनले आफूहरुको माग नीति तथा कार्यक्रम पारदर्शी रुपमा तयार नपारिएसम्म एमालेका कुनै पनि जनप्रतिनिधि छलफलमा सहभागीसम्म नहुने स्पष्ट गरे । मिथिला नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ का लागि झण्डै ८० करोड बराबरको बजेट ल्याउने लक्ष्य लिएको छ । यद्यपि समयमै नगरसभा हुन नसकेकाले त्यसमा केही कमी आउने नगरपालिकाले जनाएको छ । हुन त संघ सरकारले २० प्रतिशत कटौती गरेर बजेटको सिलिंङ्ग पठाएको छ ।

Comment


Related News

Latest News

Trending News