अपडेट 
२०८० असार १८, सोमबार ०६:२७

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका छन् । खापुङले नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्म ४ दिनको समय दिएका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेलगतै सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले हानथाप गर्न थालेका छन् । दुबै दलका प्रदेश सभासदहरु दलबलका साथ काठमाण्डु पुगेका छन् । माओवादीले पहिलो चरणमा सरकारको नेतृत्व गर्ने कांग्रेससित भद्र सहमति भएको दाबी गरेको छ । तर कांग्रेसले सरकारको नेतृत्वमा दाबी गर्दै माओवादीले भने जस्तो कुनै सहमति नभएको बताएको छ । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आह्वान गरेका छन् ।

यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो ।

प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको छ । प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान भएसँगै एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै एक पक्षीय,दुई पक्षीय छलफलमा रहेका दलहरूले आइतबार दिनभर काठमाण्डुमा आ–आफ्ना पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नै पार्टीका नेताहरूसँग भेटघाट मात्र भएको बताए । उनले अन्य दलका नेताहरूसँग कुनै छलफल र भेटघाट नभएको बताए । ‘भर्खरै सरकार गठनको आह्वान भएको छ,’ उनले भने, ‘अब समयमै नयाँ सरकार गठन गर्नेछौँ ।’ उता,नेपाली कांग्रेस कोशी प्रदेश समितिको पदाधिकारीको बैठक पनि काठमाण्डुमा बसेको थियो । उक्त बैठकले आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । उक्त बैठकले आफ्नै दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरेको उनले बताए ।

यस्तै,नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा जुटेका छन् । उनले पनि राप्रपा र जसपालाई फकाएर पुनःआफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेका छन् । कोशी प्रदेशमा नेकपा एमालेको सरकार ढलेपछि नयाँ समीकरण बनाउन नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग आइतबार भेटेका छन् । कोशी प्रदेशमा सरकार ढली सकेको र आगामी सरकारका लागि के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सचिव महासेठले अध्यक्ष यादवलाई भेटेको स्रोतले जनाएको छ । भेटमा अध्यक्ष यादवले आफूहरू समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले एक्लै निर्णय लिन नसकिने महासेठलाई बताएका छन् । अध्यक्ष यादवले गठबन्धनमा निर्णय गरेर अगाडि बढ्ने भन्दै छलफल गरेर थप जानकारी दिने प्रतिक्रिया दिएको जसपाका एक नेताले बताए ।

प्रदेश सांसद लिम्बुले पनि पार्टीले एक्लै निर्णय गर्ने भन्दा पनि गठबन्धनले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने बताइन् । कोशी प्रदेशमा एक सीट रहेका जसपा सरकार निर्माणको निर्णायक मानिएको छ । जसपाले जता समर्थन गर्छ त्यसको सरकार बन्ने भएकाले एमालेका कोशी इन्चार्ज महासेठले जसपा अध्यक्ष यादवसंग छलफल गरेका छन् । हाल विपक्षमा रहेका कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाले भने गठबन्धन बनाएर सरकार गठन गर्ने जनाएका छन् । कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा भने ठोस निर्णय लिन शीर्ष नेतालाई जिम्मा दिएको कांग्रेस नेता राईले बताए । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य मात्रै हुन्छ ।

कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् । एमाले र राप्रपा एकातिर र अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर हुने सम्भावना कमजोर छ । जसका कारण प्रदेशसभा विघटनको दिशामा जानसक्ने धेरैले अनुमान गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News