अपडेट 
२०८० असार २०, बुधबार ०७:५८

नेपाल र भारतका समेत गरी दुइ देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव र उनका श्रीमान महेन्द्र कुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

उच्च अदालत जनकपुर–राजविराज इजलासले मंगलबार दुबै जनालाई नागरिकता सम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति प्रदान गरेसंगै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले पक्राउ पुर्जी जारी भएसंगै उपप्रमुख मीरा र उनका श्रीमान महेन्द्रको खोजतलास सुरु गरिएको जनाएका छन् ।

डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलासमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउमा परमादेश जारी गरेको थियो । परमादेश जारी भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो ।

कृष्णाले भारतीय नागरिक मीरा नेपालको नागरिकतासमेत लिइ उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए । उपप्रमुख मीराकुमारी यादव र उनका श्रीमान महेन्द्रकुमार यादव भारतको विहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै ०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । भारतको मतदाता सूचीमा मीराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।

Comment


Related News

Latest News

Trending News