अपडेट 
२०८० असार २१, बिहीबार ०७:२३

मधेश प्रदेश सरकारको विस्तार साउनमा हुने भएको छ । प्रदेश सभाबाट बजेट पारित भएपछि मात्र सरकार विस्तारको विषयमा छलफल हुने बताइएको छ । मधेश प्रदेशमा असार १ गते बजेट सार्वजनिक भइसकेको छ । तर बजेट पुस्तिका अझै सभासदहरुलाई उपलब्ध गराइएको छैन् । प्रदेश सभामा बजेटमाथि नै छलफल हुने भएकाले बजेट पुस्तक सभासदहरुलाई पहिलो बैठकमा उपलब्ध गराइनेछ । सभासदहरु असारे योजना र भुक्तानीको प्रक्रियामा रहेकाले बैठकमा ढिलाइ भएको बताइएको छ ।प्रदेश र पालिकाको भुक्तानी असार २४ गते मध्यराति बन्द भए लगतै प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । स्रोतहरुका अनुसार प्रदेश सभाको बैठक असार २५ अथवा २६ गते बस्ने सम्भावना छ । तर प्रदेश सभाका सचिव रञ्जित यादवले बैठक सम्बन्धमा सरकारबाट कुनै सूचना प्राप्त नभएको बताए । ‘सरकारले बैठक बस्ने सम्बन्धमा कुनै सूचना पठाएको छैन्’ उनले भने, बैठकका लागि सरकारले मितिको जानकारी दिए सभासदहरुलाई सूचना पठाइनेछ । बजेटमाथि छलफल भएपछि पारित हुन केही दिन लाग्ने छ ।

प्रदेश सभाबाट दोस्रो पटक पनि सर्वसम्मत समर्थन प्राप्त गरेको सरोज कुमार यादव नेतृत्वको सरकार भने अझै पूर्णता पाइसकेको छैन् । सरकारलाई चाँडै विस्तार गर्ने सहमति सत्तासीन गठबन्धन दलका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले गरिसकेको छ । मधेश र लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाएको छैन् । कोशी प्रदेशमा सरकार गठनको प्रक्रिया थालिएको छ । त्यहाँ बिहीबारसम्म सरकारका लागि दाबी गर्न प्रदेश प्रमुखले समय सीमा तोकेका छन् । साउनको पहिलो हप्ता सरकारले पूर्णता पाउने मुख्यमन्त्री सरोज कुमार यादवले बताए । ‘बजेट पारित भइसकेपछि सरकार विस्तारको गृहकार्य थालिनेछ ’ उनले भने, मलाई सबैदलले विश्वासको मत दिए पनि सरकार विस्तारमा सत्तासीन दलहरुबीच छलफल हुन बाँकी छ । मधेश प्रदेश सरकारमा हाल २ जना मन्त्री र उतिकै राज्यमन्त्री बिना विभागीय छन् । तर २ वटा मन्त्रालय मन्त्रिविहीन छन् । सत्ता साझेदार सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका २ जना मात्र मन्त्री छन् । कांग्रेसबाट अझै मन्त्री हुन बाँकी छ । बिना विभागका मन्त्रीहरु मध्ये एकजना जनमत पार्टीका ई.वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादव रहेका छन् ।

त्यसैगरी,जनता समाजवादी पार्टी(जसपा)की मन्त्री सुरिता साह र राज्यमन्त्री शेष अब्दुल कलाम आजादले मन्त्रालय पाएका छैनन् । अब हुने मन्त्रीमण्डल विस्तारमा कुशवाहा र साह हट्न सक्ने संकेत देखिएको छ । उनीहरुलाई बिना विभागीय राख्नुको अर्थ नै आगामी दिनमा अवकास दिनुरहेको जसपाका एकजना उच्च नेताले बताए । सरकारले अझै पूर्णता नपाएकाले गति लिन नसकेको बताइन्छ । तर मुख्यमन्त्री यादवले सरकार नियमित प्रक्रियामा अगाडि बढेको बताए । साउनदेखि सरकारको गति बढने उल्लेख गर्दै उनले भने, मन्त्रालयको व्यवस्थापन,मन्त्रीको टुंगो लाग्ने लगायत अन्य राजनीतिक नियुक्तिहरु पनि टुंग्याइनेछ । सरकार विस्तारको विषयमा गठबन्धनका दलहरुबीच छलफल गर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने, शीर्ष नेताहरुबीच विस्तार गर्ने समझदारी भइसके पनि मन्त्रालय सम्बन्धमा हामी छलफल गर्न बाँकी नै छ ।

भाौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले साउन अगावै मन्त्रीमण्डल विस्तार नहुने बताए । ‘गठबन्धनका कुनै विवाद नरहे पनि मन्त्रिपरिषद् विस्तार बारे छलफल भइसकेको छैन्’ उनले भने, दलका नेताहरु बसेर मन्त्रालय थप्ने अथवा भएकै मन्त्रालयमा व्यवस्थापन गर्ने विषय गठबन्धन दलको बैठकबाट निर्णय हुनेछ । सरकारमा मन्त्रीहरु थपिने र हट्ने विषय बजेटसित सम्बन्धित नरहेको मुख्यमन्त्री यादवले बताए ।‘बजेट प्रदेश सभाबाट पारित हुने पर्याप्त बहुमत सरकारसित रहेको छ ’उनले भने, तर सर्वसम्मतिबाट नै बजेट पनि पारित हुनेमा म विश्वस्त छु । ‘अहिले सभासदहरु विकासे योजनाहरुको अनुगमनमा रहेकाले प्रदेश सभाको बैठक बस्न केही ढिला भए जस्तो देखिएको छ ’उनले भने, आगामी आर्थिक वर्षदेखि सरकारले असार अगावै काम सम्पन्न गर्ने क्यालेण्डर बनाएको छ ।

Comment


Related News

Latest News

Trending News