अपडेट 
२०८० असार २१, बिहीबार ०७:४३

कर्णको इतिहासतिर जाँदा यहाँको जन्म र पालन–पोषण विचित्र किसिमले भएको पाइन्छ । कर्ण एक क्षेत्रिय पुत्र हुँदा पनि जीवनभर सूतपुत्रको नामले अपहेलित भएर बाँचेका थिए । सूतको अर्थ रथावह अर्थात जो रथ चलाउँछ । कर्णको जन्म कुन्तीको गर्भबाट भएको थियो । उनी जन्मिँदा कुन्ती कुमारी कन्या थिइन् । कुन्ती दुर्वासा ऋषिबाट पाएको मन्त्रको जाँच गर्ने क्रममा सूर्य भगवानबाट कर्णको जन्म भएको थियो । कुन्ती सामाजिक लोकलाजले गर्दा बच्चालाई सन्दूकमा राखेर नदीमा बगाइदिइन् । रथावह अधिरथ र उहाँकी पत्नी राधाले नदीमा स्नान गर्न गएको बेला बाकसमा के रहेछ खोलेर हेर्दा एउटा बच्चा पो रहेछ । हेरेर घर लगे । बच्चालाई तन, मन, धनका साथ पालन पोषण गर्न थाले । अधिरथ र राधाले बच्चाको नाम वसुषेण राखे ।

अधिरथ ध्रतराष्ट्रसँग नजिक भएको नाताले कर्णको शिक्षादिक्षा द्रोणाचार्यबाट नै गराए । विस्तारै कर्ण अस्त्र विद्यामा निपुण भए । बेदाङ्गहरूका ज्ञाता भए । उनी निकै उदार, सत्य, पराक्रमी र बुद्धिमान थिए । उनी दैनिक जग गर्थे र जप गर्ने बेलामा ब्राह्मणहरू आएर जे मागे पनि दिन ढिला गर्दैन्थे । उनी बाल्यकालदेखि नै भीमसेनको बल, अर्जुनको बाण चलाउने कला, युधिष्ठिरको बुद्धि, नकुल र सहदेवको सहनशीलता र नम्रस्वभाव र कृष्णसँग अर्जुनको मित्रता देखेर जल्ने गर्थे । यसरी विद्यार्थीकालदेखि नै दुर्योधनसँग मित्रता बनाएका थिए । एकदिन अर्जुनको धनुर्विद्यामा पराक्रम देखेर कर्णले गुरू द्रोणाचार्यसँग ब्राह्मास्त्र छाड्ने र फर्काउने विद्या सिक्न चाहे । कर्ण र अर्जुनको शत्रुता द्रोणाचार्यलाई थाहा थियो । उनले कर्णसँग भने–शास्त्रोक्त विधि अनुसार ब्रह्मचर्यको पालन गर्ने ब्राह्मण अथवा क्षत्रिय मात्रै ब्रह्मास्त्र सिक्न पाउँछन् । कर्ण उदास भए र गुरू द्रोणको आज्ञा लिएर त्यहाँबाट बाहिरिए । उनी महेन्द्रपर्वतमा पुगेर आफूलाई भृगुवंशी ब्राह्मण भनेर आफ्नो परिचय दिए । शिष्यभावले परशुराम आफ्नो शरणमा लिए । त्यही बसेर उनी विधिवत ब्रह्मास्त्रको अभ्यास गर्न थाले । त्यही उनको भेट गन्धर्व, राक्षस, यक्ष र देवताहरूसँग हुनथाल्यो । एकदिनको कुरा हो उनी एक्लै समुद्र किनारमा बसेका बेला एउटा ब्राह्मणको गाई त्यहाँबाट गएको अनुभव गर्दा कर्णले कुनै हिंसक जीव ठानेर गाईको हत्या गरि दिए । गाई हो भने थाहा भएपछि उनी तुरून्तै ब्रह्माण कहाँ पुगेर क्षमायाचना गर्न थाले । त्यसैबेला ब्राह्मण रिसाउँदै कर्णलाई सराप दिए–जीवनको अन्तिम समयमा पृथ्वीले तिम्रो रथको पाङ्ग्रा निल्ने छ र त्यसका करणले तिमी आतिन्छौ, त्यसैबेला शत्रुले तिम्रो मस्तक काटि हत्या गर्नेछ ।

कर्णले ब्राह्मणलाई निकै धेरै गाईवस्तु तथा धन दिएर ब्राह्मणको सरापबाट छुटकारा पाउन चाहन्थे तर त्यस्तो भएन । कर्ण सरापको कारणले डराउँदै गुरु पराशुराम कहाँ फर्किए । त्यसैबेला कर्णको कुराबाट सन्तुष्ट भै उनले ब्रह्मास्त्रको प्रयोग र उपसंहारका सम्पूर्ण विधि कर्णलाई सिकाइ दिए । एक दिन गुरू परशुराम कर्णसँगै आफ्नो आश्रम नजिकैको बगैंचामा बसिरहेका बेला परशुरामलाई निद्रा लाग्यो र उनले कर्णको काखमा शिर राखेर सुते । संयोगले एउटा किरा कर्णको तिध्रामा टोक्न शुरू ग¥यो । कर्ण गुरुको निद्रा भङ्ग नहोस् भने अभिप्रायले अलिकति पनि जिऊलाई नहल्लाइ बसिरहे । गुरु परशुरामको जिउ रगतले भिजेपछि उनी जागेर हेरेपछि दङ्ग परे । ब्राह्मणले यति धेरै कष्ट नसहने हुनाले उनले कर्ण पक्कै क्षत्रिय हो भने कुरा थाहा पाए । त्यसपछि कर्णले सबै सत्य कुरा बताउँदै दीनभावले हात जोडेर गुरुसँग माफी माग्न थाले । गुरु परशुराम हाँस्दै कर्णलाई सराप दिए मूर्ख ! जुन विद्या मसँग सिकेका छौ त्यो एकदमै आवश्यक परेको बेलामा तिमी भुल्नेछौ । अब यहाँबाट जाऊ । मिथ्यावादीका लागि यहाँ कुनै स्थान छैन । मेरो आशिर्वाद पनि छ तिमीलाई युद्धमा कुनै पनि क्षत्रियले तिम्रो सामना गर्न सक्ने छैन । त्यहाँबाट फर्किएपछि कर्णले मित्र दुर्योधनलाई भेटेर भने मैले ब्रह्मास्त्र सिकें । कर्णको कुरा सुनेर दुर्योधन अति खुशी भए । कर्णको विवाह पद्मावती नामक कन्यासँग भएको थियो । उहाँबाट क्रमशः बृषसेन, बृषकेतु र चित्रसेन गरी तीन छोरा जन्मिए । हस्तिनापुरका सबै राजकुमार अस्त्रविद्यामा निपुण भएपछि द्रोणाचार्यले त्यसको प्रदर्शन गर्ने योजना बनाएर सबैको कौशल प्रदर्शन गर्न लगाए ।

यसैबेला अर्जुनले देखाएको कौशल आफूले पनि प्रदर्शन गर्न सक्ने उत्कट अभिलाषासाथ आफ्नो प्रस्ताव राखेपछि गुरु कृपाचार्यले चलाखी गर्दै कर्णको वंशको परिचय माँग गरेपछि कर्णको पारिवारिक परिचय जान्नासाथ गुरु कृपाचार्यले भने कि राजकुमारहरू अज्ञात कुलसँग द्वन्द्वयुद्ध गर्न नमिल्ने प्रतिक्रिया दिए । यतिकैमा दुर्योधनले उनलाई अंग देशका राजा बनाइ दिए । यतिकैमा अधिरथ त्यहाँ आइहाले र खुशीहुँदै बाबुछोरा अंगालो मार्न थाले । अब कर्ण सूतपुत्र छ भने पक्का भइसकेपछि भीमसेनले तत्कालै आफ्ना प्रतिक्रिया दिए–सूतपुत्र ! तँ अर्जुनको हातबाट मर्न योग्य छैनस् । भीमको कुरा सुनेर कर्ण साह्रै दुःखी हुँदै रङ्गभूमिबाट बाहिरिए । एकपटक कर्णसँग जरासन्धको मुठभेर भयो । परास्त भएपछि जरासन्धले खुशीपूर्वक चम्पानगर राज्य उपहारमा दिए । अब कर्ण अङ्गदेश र चम्पानगरका राजा भएर राज्य गर्न थाले । पांडव जुवा हारेपछि द्रौपदीलाई समेत हारिसके । यसमा दुःशासनले द्रौपदीलाई दुर्योधनको आज्ञा अनुसार घिसार्दै राज्यसभामा ल्याए । त्यहाँ प्रत्यक्ष विरोध गर्ने व्यक्ति दुर्योधनका कान्छा भाइ विकर्ण थिए । विकर्णले द्रौपदी अपमानको विरोध गरेपछि कर्णले रिसाउँदै तिमी यस्ता उल्टा कुरा किन गर्दैछौ ? त्यहीं कर्णले भने देवताहरूले स्त्रीका लागि एक पतिको विधान गरेका छन् । द्रौपदीका पाँच पति भएको कारणले निःसन्देह उ वेश्या हो । त्यसपछि दुःशासन द्रौपदीको शरिरबाट बस्त्र तान्न थाले । कर्ण यति हुँदाहुँदै पनि एउटा महादानी थिए । त्यसैले उनलाई दानवीर भनेर मान्छेहरू सम्झन्छन् । कर्ण नित्यदिन मध्यान्नको समयमा पानीमा उभिएर सूर्यको स्तुति गर्थे ।

त्यस समयमा ब्राह्मणहरू धन पाउने इच्छाले उनका वरिपरि घुमिरहन्थे । ब्राह्मणहरूले जेमाग्दा पनि कर्णले दिन्थे । उनको दानशीलताको कुनै सीमा नै थिएन । पाण्डवको वनवासको बाह्र वर्ष बित्यो । तेह्रौ वर्ष भएपछि पाण्डवसँग बढी माया गर्ने इन्द्रले कर्णको कवच र कुण्डल माग्ने विचार गरे । यो कुरा सूर्यलाई थाहा भयो र यसबारे सविस्तार कर्णलाई ब्राह्मण भेषमा सम्झाउन प्रकट भए । सूर्यले भने कर्ण तिमी आफ् नो कवच र कुण्डल न दिनु । कर्णले जबाब दिए ब्राह्मणले मसँग शरिर माग्न आएपनि मपछि पर्दिन । त्यसपछि सूर्यले अर्को उपाय बताए यसको बदलामा इन्द्रसँग अमोघ शक्ति माग्नु । त्यो शक्ति निकै प्रवल छ । एकदिन इन्द्र ब्राह्मणको रूप धारण गरेर कर्णको सामुन्ने आए । उनले कर्णसँग कवच र कुण्डल भिक्षामा माँगे । इन्द्रसँग अनुनय विनय गर्दै कर्णले भने मसँग उत्पन्न भएको यो कबज र कुण्डल अमृतमय छ । यसैका कारण मलाइ तिनै लोकमा कसैले पनि मार्न सक्दैन । बरु मबाट राज्य लिनुहोस् कबज र कुण्डल नलिनुहोस् । किनभने मलाइ शत्रुसँग बचाउने यी दुबै ढालको काम गरिरहेछन् । इन्द्रले त्यही कुरामा अडिरहे । तर इन्द्रले नमानेपछि बदलामा मलाइ केही न केही दिनुपर्छ । इन्द्रले बदलामा बज्र छाडेर जे माँगे पनि दिन्छु । कर्ण अमोघ शक्ति माँगे । इन्द्रले एउटा शर्तमा त्यो अमोघ शक्ति दिन तयार भए र सतर्क गराइ दिए कि जब तिम्रो हातबाट छुट्ने छ, तिमीलाई अत्यन्तै सन्तप्त गर्ने एक मात्रै प्रवल शत्रुलाई मारेर फेरि मेरै हातमा फर्किआउने छ । कर्णले स्वीकार गरेर कबच र कुण्डल इन्द्रलाई बुझाइ दिए । कर्णले आफूसँग रहेको कबच र कुण्डल दान गरेर महादानी÷दानवीर कहलाए । कर्णलाई भीष्म रहुन्जेल महाभारत युद्धमा भाग लिन दिएनन् । भीष्मको मृत्यु पश्चात द्रोण, कृपाचार्य र अश्वथामाले कर्णको नियतमाथि शङ्गा गरे किनभने हरेक पटक अर्जुनसँगको युद्धमा उनी कमजोर बनेका थिए । बीचैमा अर्जुन कर्णसँग युद्ध गर्न चाहन्थे । कृष्णले रोकेर राखे । श्रीकृष्णले भीमको छोरा घटोत्कचलाई युद्धमा पठाए । घटोत्कच र कर्णका बीचमा घनघोर युद्ध भयो ।

कर्णको कुनै हतियारले घटोत्कचमाथि काम गरेन । अन्तमा कर्णले इन्द्रले प्रदान गरेको अमोघ शक्ति प्रयोग गरेर घटोत्कचलाई बध गरे । अर्जुन कर्णको हातबाट जोगिए । कर्ण र अर्जुनको बीचमा घमासान युद्ध भइरह्यो । यतिकैमा कर्णको रथ पृथ्वीले केही भाग निल्यो । कर्णले जति प्रयास गरेपनि उखेल्न सकेन । कर्णलाई ब्राह्मणले कोपवश दिएको सरापको याद आयो । यसैबेला कृष्णको प्रेरणाले अर्जुनले अञ्चलिक नामक वाणद्वारा कर्णको टाउको शरीरबाट अलग गरिदिए । कर्णको मृत्यु भयो । कर्णले महादानी भएपनि दुर्योधनको संगतले पाप गर्दै गए । कर्णले मर्ने बेला धर्मप्रति नकारात्मक कुरा गर्न थाले किनभने उनलाई लाग्थ्यो कि म निकै ठूलो धर्मिष्ट छु । तर कृष्णले भने तिमीलाई यस समयमा धर्मको याद आउनु राम्रो कुरा हो तर तिमीले पाण्डवको तेह्रौं वर्ष पुग्दा राज्य फिर्ता गर्न दिएनौं । तिम्रै सल्लाह लिएर दुर्योधनले भीमसेनलाई विष मिलाएको भोजन गराए र सर्पबाट डसाए । लक्षाभवन, द्रौपदीको चीरहरण, दोस्रो पटकको जुवा खेल, अभिमन्युको बध आदि प्रसँग उठाएर कृष्णले भने त्यसबेला तिम्रो धर्म कहाँ गएको थियो । महाभारत काललाई हेर्दा वर्ण व्यवस्था, स्त्री– पुरूषको बीचको विभेद, शिक्षामा विभेद आदि शिर्षमा पुगेका थिए । कर्णलाई जीवन भरी सूतपुत्र भनेर हेप्दै गरे । शिक्षाका लागि कर्णलाई हेपेर हस्तिनापुर दरबारबाट भगाइ दिएका थिए । बाध्य भएर जाति, धर्म लुकाउँदै परशुराम कहाँ शिक्षा पूरा गरे । त्यति मात्र कहाँ थियो त एकलव्यको त औठा नै गुरु द्रोणाचार्यले आफ्नो दक्षिणमा माँग गरेका थिए । स्त्रीको त अवस्था निकै दयनीय थियो । स्त्रीलाई बस्तु सरह प्रयोग गर्थे । द्रौपदीनै यस्को प्रष्ट प्रमाण रहेछ । जुवामा द्रौपतीलाई हार्नु भनेको बस्तु सरहको प्रयोग होइन र ! बच्चालाई जन्मको ठेगान नहुनु, जथाभावी बच्चालाई जन्म दिनु, बलजफ्ती स्त्रीको अपहरण गरि ल्याउनु, यस्ता कुरा सामान्य बनेका थिए ।

महाभारत युद्ध हुनुको पछाडि केही धार्मिक कारण भएपनि धर्म र अधर्म बीचको युद्ध थियो । पाण्डवहरूलाई कृष्णले धर्मको साथले मद्दत गरेका थिए । यदि कृष्ण अर्जुनको सारथी नभई दिएका भए यो युद्ध कतातिर मोडिन्थ्यो भन्न सकिन्न । कृष्णले गान्धारीको वंश नासको श्राप खपेर पनि युद्धलाई अन्तिम परिणामसम्म पु¥याइ हाले । यसरी यसबाट के शिक्षा लिन सकिन्छ भने जस्तो पनि दुःख कष्ट किन नआओस् धर्मबाट बिमुख हुनुहुँदेन । इतिश्री ।

Comment


Related News

Latest News

Trending News