अपडेट 
२०८० असार २४, आईतवार ०८:०३

नेकपा एमालेले मधेश प्रदेशसभाको बैठक शनिबार अवरुद्ध गरेको छ । एमालेले कानुन मिचेर बजेट रकमान्तर गरिएको आरोप लगाउँदै मुख्यमन्त्री सरोज कुमार यादवको जवाफ मागेको छ ।

बैठकको प्रारम्भ हुना साथ एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बजेट रकमान्तरको विषय उठाउँदै जवाफ नआएसम्म संसद चल्न नदिने बताए । पहिलो अधिवेशनको २८ औं बैठक एमालेले अवरुद्ध गरेपछि आइतबारसम्मको लागि स्थगित भएको छ । १० मिनेटका लागि स्थगित भएको बैठक सञ्चालनका लागि दलहरुबीच सहमति हुन नसकेपछि सूचना टाँस गरी आइतबार ११ सम्मका लागि स्थगित भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जनाए ।

बैठक साझ ५ बजे बस्ने भनिए पनि छलफलमा सहमति हुन नसकेपछि बैठक आइतबारको लागि सारिएको उनले बताए । एमालेका सांसदहरुले बैठक सुरु हुने वित्तिकै अर्थमन्त्री संजय कुमार यादवले कानुन मिचेर करोडौं रकम रकमान्तर गरेको भन्दै जवाफ मागेका थिए । एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्रीसंग रकमान्तर र सशर्त अनुदानको बारेमा जवाफ दिन अनुरोध गरेका थिए । ‘सरकारले सशर्त अनुदान वितरण गर्दा धनुषाको विदेह नगरपालिका जहाँ नेकपा एमालेका नगर प्रमुख छन्,त्यहाँ सशर्त अनुदान किन पठाइएन् ? उनले प्रश्न गरे । अर्को कुरा, बजेट भाषण असार १ गते भइसकेपछि पर्यटन मन्त्रालयबाट ८ करोड रकमान्तर भएको देखिन्छ । सामाजिक विकास मन्त्रालयबाट २० करोड रुपैयाँ रकमान्तर भएको छ,’ दाबी गर्दै उनले भने,‘जसमध्ये सर्लाही जिल्लामा २२ वटा योजना राखेर करीब १२ देखि १४ करोड रुपैयाँ राखिएको छ । के कति कारणले राख्नु भएको छ । जवाफ चाहियो ।’ ५ देखि १० प्रतिशत कमिशन उठाएर बिचौलियाको योजना रेडबुकमा समावेश गर्न थालिएको हल्ला बजारमा रहेको उनले आरोप लगाए । र, यस विषयमा पनि मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने उनले चेतावनी दिए । सांसद दासले आफ्नो विचार राखिसकेपछि नेकपा एमालेका सबै सांसदहरले उठेर संसद अवरुद्ध गरेका थिए ।

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बजेट सेसन अन्त्य भइसकेपछि, संसारमा कही नभएको काम सरकारले गरेको बताए । ‘आर्थिक सुशासन पालना गर्ने सबैभन्दा ठूलो अंग अर्थमन्त्रीले कानुन मिचेको देखियो । अन्याय गरेको छ । ठूलो भ्रष्टाचार गरेको छ । नीतिगत भ्रष्टाचार गरेको छ,’उनले भने,‘त्यसको हामी घोर भत्र्सना गर्दछौं । के कति कारणले रकमान्तर गरिएको छ, त्यसको जवाफ हामीलाई अविलम्ब चाहियो । नत्र हामी कुनै पनि हालतमा सदन चल्न दिदैनौं ।’ अर्थमन्त्रीले बजेट भाषण गरिसकेपछि बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको उनको आरोप छ ।

सभामुख रामचन्द्र मण्डलले सदन चल्न दिन आग्रह गरे पनि सांसदहरुले मानेनन् । त्यसपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । यद्यपि बैठक स्थगित गरेर छलफल गरेपछि पनि सहमति हुन नसकेको नेकपा एमालेका सांसद राजकुमार लेखीले जनाए ।

Comment


Related News

Latest News

Trending News