अपडेट 
२०८० असार २६, मंगलवार ०८:०७

राजविराज नगरपालिकामार्फत गरिएको विभिन्न विकास निर्माण कामको भुक्तानी न पाएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरुले सोमबार राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

सडक , सामुदायिक भवन, मठमन्दिर, पोखरीघाट प्रवेशद्वारा, विद्यालय भवन, नाला निर्माणलगायतका योजनामा काम गरेवापतको भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै आक्रोशित भइ उनीहरुले तालाबन्दी र नाराबाजी गर्दै धर्नामासमेत बसेका थिए ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी तथा कर्मचारीलगायतले आफ्ना नजिकका मानिसहरुले गरेको कामको समय मै अनुगमन गरी भुक्तानी दिए पनि आफूहरुको भुक्तानी नदिएर रकम फ्रिज गराउन खोजेको विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुले आरोप लगाएका छन् । “मैले गरेको कामको फायल कार्यवाहक नगरपालिका प्रमुख परविन, प्रमुख प्रशासकीय अधिकृत जोशी र योजना तथा लेखा फाँटका कर्मचारीलाई ५ दिन अघि नै दिएर पटक पटक अनुगमनका लागि आग्रह गरे, उपभोक्ता समितिका अध्यक्ष विनोद यादवले भने–तर अन्तिम समयमा आएर अनुगमन नै नभएको भन्दै भुक्तानी रोकेर दुखः दिने काम भएको छ ।” आफूहरुको भुक्तानी नहुन्जेलसम्म कार्यालयको तालावन्दी र धर्ना यथावत रहने अर्का उपभोक्ता समितिका पदाधिकारी लक्ष्मण यादवले बताए । समय मै काम गरिदिदा पनि भुक्तानी नहुँदा आफूहरुले सुन चाँदी र जग्गा नै धितो राखेर उधारो लिएको निर्माण सामग्रीको भुक्तानी गर्नुपर्ने अवस्था आएको उपभोक्ता समितिका पदाधिकारीहरुले गुनासो गरेका छन् ।

कार्यवाहक नगरप्रमुख र कर्मचारीहरुले आफ्नो आसेपासे र मागे अनुसारको कमिशन दिएकाहरुको रकम भुक्तानी तत्कालै दिएको तर आफूहरुले कमिशन नदिएकै कारण रकम फ्रिज गराउन खोजेको अधिकांश उपभोक्ता समितिका पदाधिकारीरुले गुनासो गरेका छन् । कार्यालयको मूल गेट मै टायर बालेर धर्नामा बसेका आन्दोलनकारीहरुले पाउनुपर्ने रकम अविलम्ब उपलब्ध गराउनुपर्ने एक सूत्रीय माग अघि सारेका छन् । नगरपालिकाका योजना अधिकृत मनोज यादवले सरवरले ठीकसंग काम नगरेको तथा कर्मचारी – कर्मचारीबीच समन्वयको अभावले गर्दा समयमा भुक्तानी हुन नसकेको बताए। कार्यवाहक नगरप्रमुख परविनले ढिलो गरी कागजात ल्याएको, कतिपयको काम अधुरो रहेको र कतिपयले अन्तीम समयमा मात्र फायल पेश गरेकाले सबै ठाँउमा अनुगमन गर्न सम्भव नभएका कारण भुक्तानी दिन समस्या भएको बताइएकी छन् । उनले भुक्तानी रोकिएकाहरुको समस्याबारे आफू पूर्ण जानकार रहेको र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।

Comment


Related News

Latest News

Trending News