अपडेट 
२०८० असार ३०, शनिबार ०८:२२

साढे ५ वर्षको अन्तरालमा पुत्र प्रकाश र पत्नी सीता दाहाललाई गुमाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भावुकता आर्यघाटमा छता छुल्ल भयो । छोरीहरु रेणु र गंगा तथा बुहारीहरु सृजना तिवारी र विना मगरसंगै नातिनातिनाहरुलाई सान्त्वना दिदै भनेका थिए – ‘म छु नि ।’ घनघोर जनयुद्धका कथा नायक वा भनौ सर्वोच्च कमाण्डर प्रचण्ड त्यतिवेला पुष्प अर्थात् फूल झै कोमल देखिएका थिए । भावुक देखिएका थिए । मुटु भित्र उठेको दुःखको वेगवान ज्वार भाटालाई घुटुक्क पिउँदै निलकण्ठ महादेव जस्तै धीर गम्भीर देखिए । साँचै यो क्षण भावुक थियो । सबैलाई रुन बाध्य बनायो ।

यता सीता दाहालको सम्झनामा कवि अर्जुन पराजुलीले लेखेको कविता पनि त्यतिकै भावुक थियो । स–साना १२ पंक्तिमा लेखिएको यो कविता सीता दाहालको व्यक्तित्वलाई अक्षरशःचरितार्थ गरेको छ । नेपालका केही प्रधानमन्त्री र मन्त्रीहरुका पत्नीले देश चलाएको हल्ला नयाँ होइन । केही मन्त्री र प्रधानमन्त्रीको पत्नी सरकार बनाउन र भत्काउनसम्मको काम गर्ने लियाकतका छन् । मन्त्री बनाउने, टिकट दिलाउने अनि कमिशनको रकम सोहर्ने काम पनि नगरेका होइनन् । तर जनयुद्ध सुरु (वि.स. २०५२) भए यताका झण्डै तीन दशक मुलुककै सर्वाधिक प्रभावशाली व्यक्ति प्रचण्डकी पत्नी सीता दाहालमा यस्तो महत्वकांक्षा कहिल्यै पनि देखिएन । १५ वर्ष की छँदा २०२६ वैशाख २६ गते पुष्पकमल दाहालसंग विवाह बन्धनमा बांधिएकी सीता गृहिणीको रुपमा घर परिवार चलाउनु भयो । १० वर्षे जनयुद्धमा प्रचण्डसंग कांधमाकांधमिलाई जनयुद्ध लडनु भयो तर उहाँमा प्रचण्डकी पत्नी भएको दम्भ भने कहिल्यै देखिएन । त्यसैले त कवि अर्जुन पराजुलीले लेखेका छन् – प्रचण्ड र सीताबीच ५४ वर्ष २ महिनाको सहयात्रा रह्यो ।

२०७६ साल वैशाख २६ गते उनीहरुले पञ्चेबाजा बजाएर विवाहको ५० औं वर्षगाठ मनाएका थिए । दाहालका चार सन्तान मध्ये जेठा छोरा प्रकाशको हृदयघातबाट तथा जेठी छोरी ज्ञानु दाहालको क्यान्सरबाट मृत्यु भइसकेको छ । रेणु दाहाल भन्ने चितवनका मेयर हुन् । जेठा छोरा प्रकाश दाहालको अल्पायुमै मृत्यु भएपछि सीतामा मानसिक समस्या पनि सुरु भयो । पुत्रशोकले विह्वल सीता फेरि उठ्न सकिनन् । साढे पाँच वर्ष ओछ्यानमै विताइन । प्रचण्ड उनलाई उपचारको लागि भारत,सिंगापुर,थाइल्यान्डदेखि अमेरिकासम्म लग्नु भयो । मनोवैज्ञानिक उपचारको लागि तातो पानी कुण्डमा स्नान पनि गराउनु भयो तर उनी बाँच्न सकिनन् । सामान्य पढेलेखेकी सीता जनयुद्ध कालमा पहिलो पुस्ताका नेताहरुका लागि दिदी,बहिनी र भाउजु थिइन भने दोश्रो पुस्ताका नेताकार्यकर्ताहरुका लागि आमा थिइन । पार्टी भित्रको आन्तरिक विवाद मिलाउन खप्पिस थिइन । माओवादी जनयुद्धकालीन इतिहासमा २०६१ सालमा रोल्पाको फुन्टिवाङ बैठकमा सीताले खेलेको भूमिको चर्चा पाइन्छ । उक्त बैठक सुरु हुनु भन्दा अघि सीता दाहाल बिरामी भएर भारतमा उपचार गराउँदै थिइन ।

बैठकमा प्रचण्ड र डा.बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुग्यो । पार्टी विभाजनको अवस्था सृजना भयो । घटना बारे जानकारी पाउने वितिकै सीता नेपाल फर्किइन । प्रचण्ड र बाबुरामलाई संगै राखेर भनिन– ‘ माओवादीले गर्दा संसार पनि हल्लिएको छ तर तपाइहरु झिनामसिना कुरामा अड्किएको जस्तो लाग्यो मलाइ । बाबुरामजीको पनि गल्ती त अनि तपाइ(प्रचण्ड)ले पनि थोरै कमजोरी गर्नु भएको छ । ’ चुनवाङ बैठकमा पनि सीतादाहालले बाबुराम र प्रचण्ड दुबैलाई हकारेका थिए –‘ यत्रो जनताको रगत बगिसकेको छ । तपाईहरुको के हो यस्तो ताल? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईहरुलाई जनता र विदेशी मित्रहरुले पनि छाड्दैनन ।’ आज प्रचण्डसंग प्रधानमन्त्रीको कुर्सी त छ तर सुख दुखका साथी सीता दाहाल छैनन् । पुत्र प्रकाश पनि छैन तर प्रधानमन्त्री प्रचण्ड ‘ वालुवाटारमा बसेर पनि बालुवाटार नचलाउने सीता दाहाललाई स्मरण गरेर गर्वको अनुभूति गरिरहनु भएको होला । सलाम सीता कमरेड ।

Comment


Related News

Latest News

Trending News