अपडेट 
२०८० असार ३१, आईतवार ०७:५१

तराई मधेशमा क्रियाशील साना दलहरुले पुराना मुद्दालाई फेरि उठाउने तयारी गरेका छन् । तराई मधेश केन्द्रित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले छाडेका मधेशका मुद्दा उठाएर मधेशमा राजनीतिक ठाउँ बनाउने प्रयासमा साना दल लागेका छन् ।

हालै महाधिवेशन सम्पन्न गरेको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले नागरिकताको समस्या आंशिक रुपमा मात्र समाधान भएको भन्दै पूर्णरुपमा समाधानका लागि आफूहरुले संघर्षका कार्यक्रम अगाडि बढाउने बताए । नेपाली सेनामा मधेशी समुदायको सामूहिक प्रवेश, एक मधेस प्रदेशलगायतका एजेण्डासहित कार्यक्रम बनाएर अगाडि बढ्ने अन्सारीको भनाइ छ । ‘जसपा, लोसपा, जनमत पार्टी अहिले सरकारी पार्टी भए, सत्ताधारी दल भएको कारण मधेशका राजनीतिक एजेण्डा छाडेर उनीहरु सिंहदरवारमा अल्झेका छन्,’ उनले भने, ‘अब हामी ती मुद्दा लिएर जनतामा जान्छौँ ।’ नेपाल सद्भाना पार्टी, जनमुक्ति पार्टीसँग एकीकरणको तयारीमा रहेका अन्सारीले मधेशका एउटा शक्तिको आवश्यकता रहेको र त्यसका लागि प्रयास भइरहेको बताए ।

महाधिवेशनपछि आफ्नो पार्टी संगठन विस्तारमा लागेको र अन्य दलहरुसँग पनि एकता वा गठबन्धन बनाएर अगाडि बढ्ने तयारी भइरहेको अन्सारीको भनाइ छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले पनि मधेशको मुद्दा र एजेण्डा छाडेर तराई केन्द्रित दलहरु सरकारी पार्टी भएको टिप्पणी गरे । उनले भने, ‘तराई मधेशका जनतालाई विभिन्न आश्वासन दिएर पार्टी बनाए, चुनाव जितेर सरकारमा गए तर अहिलेसम्म मधेशी जनताको माग पूरा भएको छैन ।’ २२ वटा जिल्ला भएको मधेशलाई आठ वटा जिल्लामा सीमित गरेको उनको आरोप छ । ‘निर्वाचन क्षेत्र पनि समावेशी छैन, संघीय संरचना पनि व्यवस्थित छैन,’ लालले भने, ‘यी सबै विषयमा तमलोपालगायत तराई मधेशका क्रियाशील पार्टीहरु एक भएर अगाडि बढ्ने छन् ।’ तमलोपाले नेपाल सद्भावना पार्टी, राष्ट्रिय सद्भावना पार्टी र ऐतिहासिक जनता पार्टीसँग मोर्चाबन्दी गरेको छ । चार दलको यो मोर्चाले नागरिकता लगायतका विषयमा सरकारलाई दबाब दिँदै आएको थियो । ‘नागरिकता समस्या केही हदसम्म समाधान भएको छ, अब संघीय संरचना, समानुपातिक समावेशीलगायतका विषयमा एकताबद्ध भएर अगाडि बढ्ने तयारी गरेका छौँ,’ लालले भने, ‘हामी मोर्चाको तर्फबाट कार्यक्रम तयारी गरी मधेशमा सशक्त रुपमा अगाडि बढ्ने तयारी भइरहेको छ ।’ मोर्चामा रहेका र त्यसबाहिर रहेका दलहरुसँग भविष्यमा एकताका लागि प्रयास भइरहेको बताउँदै उनले तराई मधेशमा वैकल्पिक शक्ति बनाउने प्रयास भइरहेको दाबी गरे ।

नेपाल सद्भावना पार्टीका महासचिव डा.राजेश चौधरीले मधेसमा रहेका विभिन्न दलको बीचमा एकता वा मोर्चाबन्दीका लागि प्रयास भइरहेको जानकारी दिए । अहिले आफ्नो पार्टी संगठनको अन्तरिक तयारीमा रहेको बताउँदै उनले त्यसका लागि विभिन्न दलहरुसँग छलफल गरिरहेको बताए । ‘विभिन्न दलहरुसँग मिलेर एउटा मोर्चा बनेको छ । त्यसले विभिन्न मुद्दा र एजेण्डामा काम गरिरहेको छ,’ चौधरीले भने, ‘मोर्चालाई अझ सशक्त बनाउन अन्य दलहरुसँग पनि सम्पर्क भइरहेको छ ।’ उनले थरुहटमा क्रियाशील नागरिक उन्मुक्ति पार्टीलाई पनि मोर्चामा ल्याउने प्रयास भइरहेको बताए । २०७९ को चुनाव अघि हृदयेश त्रिपाठीले पनि जनता प्रगतिशील पार्टी गठन गरेका थिए । चुनावमा भाग लिए पनि यो पार्टीले खासै सफलता हात पार्न सकेन ।

कृषिलाई मुख्य एजेण्डा बनाएर गठन भएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवले पार्टीमा आन्तरिक छलफल भइरहेको जानकारी दिए । संगठन निर्माण र अन्य पार्टी एकीकरण तथा गठनबन्धन लगायतका विषयमा छलफल चलिरहेको उनको भनाइ छ । जसपा, लोसपा लगायतका दलहरुले मधेसका एजेण्डा छाड्दै गइरहेको अवस्थामा मधेसमा एकपटक फेरि सामूहिक प्रयासको आवश्यकता रहेको यादव बताउँछन् । प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि संगठन निर्माणमा जुटेको छ । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएपछि साहले दल गठन गरेका छन्

। मेघराज निसादले गठन गरेको राष्ट्रिय समता पार्टी नेपाल अहिले निष्क्रिय छ । मेघराजको निधनपछि उनका छोरा विजय प्रकाश निषाद उक्त पार्टीको अध्यक्ष छन् । अध्यक्ष निषादले भने, ‘हामी समतामुलक समाज निर्माण महाअभियान बनाएर काम गरिरहेका छौँ, आन्तरिक रुपमा पार्टीको संगठन निर्माणको काम भइरहेको छ । तीन महिनापछि पार्टीलाई बाहिर ल्याउने गरी तयारी भइरहेको छ ।’ तराई मधेशमा बहुजन एकता पार्टी नेपाल, नेपाल समाजवादी पार्टी (लोहियावादी), पिछडा वर्ग निषाद जनता पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम मधेस, मधेस तराई फोरम, नेपाल जनता पार्टी लगायतका पार्टी पनि छन् । तीमध्ये कतिपय पार्टी निष्क्रिय छन् ।

Comment


Related News

Latest News

Trending News