अपडेट 
२०८० श्रावण ९, मंगलवार ०७:४२

नागरिकता सम्बन्धी कसुरमा विगत २३ दिन देखि प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा कुमारी यादव १ लाख धरौटीमा रिहा भएकी छन् ।

दुई दिनसम्म चलेको लामो थुनछेक बहस सोमबार दिउसो ४ बजे सकिएपछि न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले उप प्रमुख मीरालाई १ लाख रुपैयाँ धरौटी र तारेखमा रिहा गर्ने आदेश दिएको छ । थुनछेक बहस भइरहँदा मूल ढोका बाहिर आफ्न्त र समर्थकको ठूलो भीड जम्मा भएको थियो । भीडमा एमालेका केन्द्रीय नेता सुमनराज प्याकुरेलदेखि जिल्ला कमिटीका ताराकान्त चौधरी,देवनाथ यादवलगायतका स्थानीय नेतासमेत सहभागी थिए । उप प्रमुख मीरा विरुद्धका नागरिकता सम्बन्धी कसुर मुद्दामा जाहेरवालाको तर्फबाट सरकारी वकिल गोकुल निरौलाका साथै अधिवक्ता हेमनारायण चौधरी, सुभाष यादव र पुण्य प्रसाद यादव तथा उप प्रमुख मीराको पक्षबाट अधिवक्ता भरत प्रसाद यादव, राम कुमार यादव, भानु निरौला, हरि प्रसाद यादव, सुरेश सिंह, फुल नारायण यादवलगायतले बहस गरेका थिए ।

अदालतको फैसलाप्रति संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदैँ उप प्रमुख मीराले अदालतबाट प्रारम्भिक न्याय पाएको बताइन् । डाक्नेश्वरी नगरपालिका ३ का कृष्ण कुमार यादवले गत असार १७ गते मीरा विरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धी कसुर मुद्दा दर्ता गराएका थिए । प्रहरीले उक्त मुद्दा दर्ता गर्न आलटाल गरेपछि उनी अदालत पुगेका थिए ।

उच्च अदालत जनकपुर–राजविराज इजलासले उक्त मुद्दा उपर सुनुवाइ गर्दै परमादेश जारी गरेको थियो । त्यसपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेकाले उप प्रमुख मीरा शक्ती प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन । यस अघि अदालतबाट चार पटक म्याद थप गरी २३ दिन उनी थुनामा वसेकी थिइन । मीरा र उनका पति महेन्द्र भारतीय नागरिक भएको भन्दै सोही नगरपालिकाका कृष्णले प्रहरी र अदालतमा उनी विरुद्ध उजुरी पेश गरेका थिए । दुबै जनाले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको उजुरीमा दाबी गरिएको थियो ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मीराको नाम रहेको विवरण सूचीका साथै अनुमण्डलीय न्यायालय निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथपत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेत उजुरी मार्फत पेश गरिएको थियो । सोही मुद्दाका अर्का आरोपि मीराका पति महेन्द्र भने अझै फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News