
भाडामा भैंसी ल्याएर अनुदानको भन्दै किसानलाई वितरण गरेका सहकारीलाई कानुन बमोजिम कारबाही गर्ने र भुक्तानी रोक्ने निर्णय औरही गाउँपालिकाले गरेको छ ।
औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले वडा नम्वर ४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेको बताए । उनले भने, ‘आइतबार बसेको कार्यपालिका बैठकले भैंसी वितरणमा अनियमितता गरेकाले उक्त सहकारीलाई भुक्तानी नदिने र कालो सूचीमा राख्ने निर्णय गरेका छौं ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाइ/भैंसी साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि उक्त सहकारीलाई गाउँपालिकाले छनोट गरेको थियो ।
उक्त कार्यक्रमका लागि २५ लाख बजेट थियो । जसमा १५ लाख भैंसी वितरण र १० लाख औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको वीउ वितरणका लागि छुट्याइएको थियो । वितरण गर्ने भैंसी उन्नत जातको १ लाख ५० हजार बराबरको हुनुपर्ने र कुल रकमको ५० प्रतिशत किसानले व्यहोर्ने सम्झौता गाउँपालिका र सहकारीबीच भएको थियो । तर कार्यक्रम गर्दा उन्नत जातको २० थान भैंसी वितरण गर्नुपर्नेमा व्यापारीबाट ३ हजारका दरले भाडामा ल्याएको १७ थान लोकल भैंसी मात्र १७ किसानलाई बाँडेर उक्त सहकारीले गाउँपालिकाबाट भुक्तानी लिन खोजेको थियो । भाडाको भैंसी किसानलाई बाँडेको र पुनः फिर्ता लिएको आरोप लागेपछि गाउँपालिकाले छानविन समिति समेत बनाएको थियो ।
छानविन समितिले समेत सहकारीले भाडाको लोकल भैंसी किसानलाई वितरण गरेको र किसानबाट पुनः फिर्ता लिइ अनुदानको दुरुपयोग गर्न खोजेको ठहर गर्दै कानुन बमोजिम कारबाही र भुक्तानी नगर्न सुझाव दिएको आधारमा कार्यपालिका बैठकले निर्णय लिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।