अपडेट 
२०८० श्रावण ११, बिहीबार ०६:४४

बारा जिल्लामा प्रहरीलाई कारबाही गर्नुपर्ने मागसहित राजनीतिक दलहरुले गरेको विरोध प्रदर्शन स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय बारामा संघर्षरत राजनीतिक दलका अगुवा र प्रशासनबीच बुधबार सहमति भएको छ ।

दुबै पक्षबीच भएको ४ बुँदे सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षकलाई कारबाही गरिने छ । डीएसपी पुरुषोत्तम पाण्डेय र इन्सपेक्टर रुपेश साहले घाइते भैयाराम यादवसित माफी माग्ने, डीएसपी र इन्सपेक्टरलाई २ वर्षसम्म गणमा राख्ने, घाइते यादवको उपचार खर्च सरकारबाट उपलब्ध गराउन पहल गर्ने र बिहीबारदेखि संघर्षका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाए अनुसार घाइते यादव उपचार गराई फिर्ता आएपछि डीएसपी पाण्डेय र इन्सपेक्टर साहले माफी माग्ने छन् । उनीहरुलाई विभागीय कारबाही स्वरुप २ वर्ष प्रहरी गणमा नै राखिने उनले बताए । तर संघर्षरत पक्षका नेता नेपाली कांग्रेसका उपसभापति मनोज भट्टले सहमतिपछि ७ दिनका लागि संघर्षको कार्यक्रम स्थगित गरिएको बताए । ‘जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे सहमति भएकाले विरोध कार्यक्रम बिहीबारदेखि स्थगन गरिएको छ’ भट्टले भने, तर भएको सहमति तोकिएको समय भित्र कार्यान्वयन नगरिए अझ सशक्त विरोध कार्यक्रम थालिनेछ ।

भैयाराम यादवलाई गम्भीर चोट लागेकाले उपचारका लागि भारत लगिएको छ । उनको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको बताइएको छ । उनको उपचारमा लागेको खर्च गृह मन्त्रालयबाट व्योहोर्ने आन्तरिक सहमति भएको छ । छलफलमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका छानबिन समितिका सदस्य, जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यद्यपि बैठकमा एमालेको भने सहभागिता थिएन् । नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम र नेकपा एसका उपसचिव ध्रुव यादवलाई कुटपिट गर्ने प्रहरी अधिकृतहरुलाई निलम्वनको माग गर्दै सत्तासीन गठबन्धन दलहरुले बुधबार बजार र यतायात ठप्प गरेका थिए । प्रदर्शनकारीहरुले बिहानैदेखि टायर बालेर बजार र यातायात बन्द गराउदै हिडेका थिए । सोही क्रममा कलैयाको मुख्य चोकमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप हुँदा प्रदर्शनकारी तर्फ दर्जन बढी घाइते भएको नेपाली कांग्रेसका जिल्ला सचिव राजेश रौनियारले बताएका छन् । शान्तिपूर्ण ढंगले विरोध गरिरहेका प्रदर्शनकारीहरु माथि प्रहरीले बिना कारण लाठी चार्ज गर्दा झडप भएको उनले बताए । प्रहरीको लाठीबाट नेकपा एसका जिल्ला उपसचिव धु्रव यादवको आँखामा चोट लागेर घाइते भएका थिए । युवा नेताहरु विकास सिंह, जटाशंकर सहनी, अजय टेमानी, दीपेन्द्र यादव, नागरिक उन्मुतिm पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष ओमप्रकाश कलवारसमेत घाइते भएका सचिव रौनियारले जनाए । प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारीहरुको टाउको, खुट्टा र ढाडमा चोट लागेको बताइएको छ ।

जिल्लाका प्रमुख दलहरुले संयुक्त रुपमा बन्दको आह्वान गरेको कारण बजार र यातायात पूर्णरुपमा ठप्प भएको थियो । कलैयादेखि वीरगञ्ज हुँदै चल्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनहरु बन्द ठप्प भएका थिए । यता प्रहरी निरीक्षक भिम ओली, सुरेन्द्र यादवसहित ४ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि गरेको ढुंगा प्रहारबाट उनीहरुलाई खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगा प्रहार गर्दा आत्मरक्षाका लागि प्रहरीले सामान्य बल प्रयोग गरेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जनाए । जिल्ला प्रहरी कार्यालय बारामा छलफलका लागि पुगेका भैयाराम यादव र धु्रव यादवलाई डीएसपी पाण्डेय र इन्सपेक्टर साहले कुटपिट गरेका थिए ।

भैयाराम कांग्रेसका जिल्ला सचिव र धु्रव नेकपा एसका जिल्ला उपसचिव हुन् । गत हप्ता उनीहरुलाई कुटपिट गरिएपछि ७ दिनदेखि बाराको सदरमुकाम कलैयामा दलहरुले विरोध कार्यक्रम गर्दै आएका थिए । तर प्रशासनले वेवास्ता गरेपछि बुधबार बजार बन्द र यातायात ठप्प गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News