अपडेट 
२०८० श्रावण १३, शनिबार ०७:१४

मधेश प्रदेश सरकारलाई आइतबार पूर्णता दिने तयारी मुख्यमन्त्री सरोजकुमार यादवले गरेका छन् ।

प्रदेश सरकारमा २ वटा मन्त्रालय रिक्त छन् । २ जना मन्त्री बिना विभागीय छन् । उच्चस्रोतका अनुसार गृह, सञ्चार तथा कानुन मन्त्रालय कांग्रेसको भागमा परेको छ । त्यसमा मोहम्मद समिम मन्त्री बन्ने भएका छन् । सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को क बाट निर्वाचित समिमलाई मन्त्री बनाउने जानकारी मुख्यमन्त्री यादवलाई गराइएको छ ।

स्रोतका अनुसार कांग्रेस संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादवले मो. समिमलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । कांग्रेस मधेश प्रदेश संसदीय दलको चुनावमा मो.समिमले कृष्णा यादवलाई मतदान गरेका थिए । यादव निकट रहेका समिमलाई गृह मन्त्रालयको जिम्मेवारी दिने सहमति भइसकेको छ ।

कांग्रेसको भागमा परेको राज्यमन्त्रीको भने अझै टुंगो लागिसकेको छैन् । राज्यमन्त्रीका लागि धनुषाका शेषनारायण यादवको नाम प्रस्ताव गरे पनि उनले अस्वीकार गरिसकेका छन् । यादवलाई अर्को चरणमा मन्त्री बनाइने आश्वासन दिएको उच्च स्रोतले जनाए । तर,भौतिक पूर्वाधार मन्त्री यादवले सरकारमा पठाउने सभासदको टुंगो अझै लागि नसकेको बताएका छन् । मन्त्रीका लागि योग्य सभासदहरु धेरै भएकाले छनोटमा कठिनाइ भएको उनले बताए स्रोतका अनुसार धनुषाबाट महिलालाई राज्यमन्त्री दिने सम्भावना छ ।

प्रदेशको राजधानी धनुषामा भए पनि सरकारमा भने प्रतिनिधित्व छैन् । सरकारमा ६ वटा पार्टी रहेका छन् । तर कुनै दलले धनुषाका सभासदहरुलाई सरकारमा पठाएको छैन् ।

जनता समाजवादी पार्टी( जसपा)को कोटामा मन्त्री बनेकी सुरिता साहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ । हाल उनी बिना विभागीय मन्त्री छन् । सामाजिक विकास मन्त्रीको रुपमा शपथ लिएकी साहको मन्त्रालय विभाजित भएपछि उनी विभागविहीन भएकी थिइन् । दुई महिना भन्दा बढी समयदेखि विभागविहीन रहेकी साहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने स्रोतले जनाएका छन् ।

शेष अबुलकलाम आजादफूलबाबु)पनि सो मन्त्रालयमा राज्यमन्त्री रहने बताइएको छ । साहसँगै उनी पनि बिना विभागीय राज्यमन्त्री बनेका थिए । गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री यादवले सम्हाल्दै आएका छन् । प्रदेशमा प्रहरी समायोजन नभएकाले गृह मन्त्रालय आकर्षणविहीन रहेको छ । तुलनात्मक रुपमा बजेट पनि कमै रहेको छ । गृह मन्त्रालय भए पनि मातहतमा प्रहरी प्रशासन नभएकाले त्यो मन्त्रालय लिन सभासदहरुले रुची देखाउने गरेका छैनन् । यस अघि सो मन्त्रालय एमालेको भागमा रहँदा शत्रुधनप्रसाद सिंह कोइरी मन्त्री रहेका थिए । गत जेठ ११ गते उनको विभाग खोसिएको थियो । उनीसँगै बिना विभागीय बनेका मन्त्री वसन्त कुशवाहालाई भने हटाइने छ । उनको पद आइतबार खोसिनेछ । प्रारम्भमा कृषि मन्त्री बनाइएका कुशवाहाले सरकार विरुद्ध अभिव्यक्ति दिन थालेको आरोप छ । उनले उच्च पदस्थ कर्मचारीलाई समेत अनुचित लाभका लागि धम्काएको आरोप लागेको छ । कुशवाहालाई हटाइए पनि जनमत पार्टी भने सरकारमा रही रहने छ ।

शिक्षा मन्त्रालयमा प्रशंसनीय कार्यसम्पादन गरिरहेका मन्त्री महेश यादव यथावत रहने स्रोतले जनाएका छन् । उनी संसदीय दलका नेता पनि छन् । बिना विभागीय मन्त्री कुशवाहालाई बस्ने कार्यालय समेत रहेको छैन् । बिना विभागीय मन्त्रीलाई मुख्यमन्त्रीको सहयोगीको रुपमा राख्ने चलन रहे पनि फरक दलका भएकाले उनलाई कार्यालय दिएको छैन् । कुशवाहासँगै राज्यमन्त्री सञ्जय यादव पनि हट्ने निश्चित नै छ । कुशवाहको विभाग खोसिएसँगै यादवको पनि विभाग खोसिएको थियो । उनी पनि २ महिनादेखि विभाग बिनाको राज्यमन्त्री रहेका छन् ।

प्रदेश सरकारमा जसपाको मुख्यमन्त्रीसहित ३ जना मन्त्री, १ जना राज्यमन्त्री , कांग्रेसको २ जना मन्त्री, जनमतका २ जना मन्त्री, १ जना राज्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का १ जना मन्त्री, नेकपा एसका १ जना मन्त्री, माओवादी केन्द्रका १ जना मन्त्री र १ जना राज्यमन्त्री रहेका छन् ।

Comment


Related News

Latest News

Trending News