अपडेट 
२०८० श्रावण १४, आईतवार ०८:५५

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) ले आफ्नो पार्टीमाथि षड्यन्त्र भइरहेका कारण जनता सामु गरेको प्रतिबद्धता पूरा गर्न ढिलाइ भइरहेको बताएका छन् ।

सप्तरीको राजविराजमा शबिार आयोजित पार्टी प्रवेश, संगठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टी आठौं स्थानको हैसियतमा रहेको र निर्णायक स्थानमा पुग्न न सकेका कारण रोजगारी,किसानका समस्या समाधानलगायतका प्रतिबद्धता समयमा पूरा हुन नसकेको बताए । पार्टी अहिले शिशु अवस्थामै रहेको र भगवान श्रीकृष्णलाई कंशले मार्ने षड्यन्त्र गरे झै यस पार्टीका विरुद्ध पनि अनेकौं षड् यन्त्र भइरहेकाले यसको संरक्षण गर्ने जिम्मा जनता कै रहेको राउतले बताए ।

सरकारले ल्याएको बजेट जनतामुखी नरहेका कारण गठबन्धनमा रहेर पनि आपूmहरुले त्यसको विरोध गरेको तर अन्य पार्टीले समर्थन गरिदिदा बजेट पास भएको उनले स्पष्ट पारे । मुलुकमा व्याप्त सिन्डीकेट प्रथाका कारण ठूला उद्योगधन्दा स्थापित हुन नसकेको जिकिर गर्दै उनले किसानको समस्या हल गर्नका लागि रासायनिक मलको कारखाना स्थापित हुन न सक्नुमा यही सिन्डीकेट बाधक रहेको अध्यक्ष राउतले जनाए । आफूले रासायनिक मलको कारखाना नेपालमा स्थापनाका लागि भारत र जर्मनी सरकारसंग पहल गरेको दाबीका साथ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका बारेमा सकारात्मक सन्देश दिएको बताए । रासायनिक मल काराखाना स्थापनाका लागि जर्मन सरकार सित सम्झौतासमेत भएको उनले जानकारी दिए । महिलाहरुको रोजगारीका लागि ८० वटा बहुउद्देश्यीय औद्योगिक भवन तथा युवा रोजगारीका लागि मुलुकको विभिन्न ठाउँमा कल सेन्टर स्थापना गर्न आफूले पहल थालेको उनले जानकारी दिए ।

कार्यक्रमको बीच/बीचमा जनमत सांस्कृतिक संघका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुतिसमेत गरिएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कार्यक्रममा उपस्थित भएका ८ सय बढी नवप्रवेशीलाई अध्यक्ष डा.राउतले मञ्च मै सदस्यता प्रदान तथा फूलमालाले स्वागत गरेका थिए । जनमतका जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महेश प्रसाद यादव, प्रदेश सभासदस्य सतिश कुमार सिंह, केन्द्रीय प्रवक्ता शरद सिंह यादव, महिला नेतृ प्रियंका सन्तलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News