अपडेट 
२०८० श्रावण १५, सोमबार ०७:०४

रौतहट जिल्लामा राजनीतिक शक्ति प्रदर्शन हुन थालेको छ । आम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साहले ६ दलीय गठबन्धनको ‘काउण्टर’मा आइतबार बृहत् मोटरसाइकल ¥याली गरेका छन् ।

१७ वर्ष पूर्व गौर राइस मिलमा भएको हिंसात्मक घटनाको फाइल खोल्न र दोषी उपर कारबाही गर्न माग गर्दै साहले सुरु गरेको विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । घटनाका दोषीलाई कारबाहीको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा बृहत् मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । त्यसबेला २७ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दवाव दिने उद्देश्यले पूर्व घोषित कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरक्षेत्रमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।

रौतहटको गरुडा बजारबाट निस्केको ¥यालीले पूर्वपश्चिम राजमार्गस्थित चपुरको बजार र मुख्य चोक क्षेत्रमा परिक्रमा गरी तिनकुने पार्कमा कोणसभा गरिएको थियो । गौर राइस मिलमा मारिएकाहरुका परिवारले शनिबारबाट चन्द्रनिगाहपुरमा सुरु गरेको धर्ना स्थलमा आयोजना भएको कोणसभामा आजपाका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, महासचिव उपेन्द्र साह, स्थायी समिति सदस्य मनोज यादवलगातका नेताले गौर घटनाका दोषीलाई कारबाही गर्न माग गरे ।

यसअघि मृतक परिवारले सदरमुकाम गौरमा ¥याली र गत आइतबारदेखि चन्द्रनिगाहपुरमा अनिश्चितकालीन धर्ना दिंदै आएका छन् । २०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल परिसरमा पूर्व निर्धारित तत्कालीन मधेशी जनअधिकार फोरमको कार्यक्रम विथोल्न सोही परिसरमा माओवादीले कार्यक्रम गर्न खोज्दा झडप भएको थियो । तत्कालीन माओवादी नेता प्रभु साहले भरतपुरबाट चैत ६ गते २ वटा बसमा मगाएका माओवादी लडाकुहरुलाई आक्रोशित स्थानीय बासिन्दाहरुले लखेटर हत्या गरेका थिए । हतियारसहितका माओवादीलाई तराईको भूगोलबारे जानकारी नहुँदा ज्यान गुमाएको बताइएको थियो । मृत्यु भएका माओवादी कार्यकर्ताहरुलाई बाँसको फाटा र काठको चिर्पटले आक्रमण गरिएको प्रहरीले जनाएको थियो ।

गौर घटनाको विषयमा राजनीतिक दलहरु आमुने सामने भएपछि स्थानीय प्रशासनको समेत टाउको दुखाइ भएको छ । सदरमुकाम गौरमा सत्तासीन ६ दलले सशक्त विरोध प्रदर्शन गरेपछि साहले गरुडादेखि चपुरलाई विरोध प्रदर्शनको केन्द्र बनाएका छन् । गौर घटनाका पीडित महिलाहरुसहित आजपा सम्बद्ध महिला र कार्यकर्ताहरुले शनिबारदेखि चपुरमा धर्ना दिइरहेका छन् । आइतबार मोटरसाईकल ¥याली गरेको आजपाले सोमबार रौतहट जिल्ला बन्दको आह्वान गरेको छ ।

बन्दको क्रममा पूर्वपश्चिम राजमार्गलाई समेत चपुरमा अवरुद्ध गर्ने उनीहरुको प्रमुख कार्यक्रम रहेकोछ । आजपा सम्बद्ध एकजना नेताले बन्दलाई प्रभावकारी रुपमा सफल बनाउन बृहत् मोटरसाइकल ¥याली गरिएको बताए । ‘पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न शक्ति प्रदर्शन गरिएको छ ’ वरिष्ठ उपाध्यक्ष न्यौपानेले भने, पीडितको पक्षमा जिल्लावासी र यातायात व्यवसायीहरुले बन्दलाई पूर्ण समर्थन गर्नेछन् । गौरमा भीडन्त हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी प्रशासनले आजपालाई सदरमुकाममा प्रदर्शन गर्न रोक लगाएको बताइएको छ ।

रेष्टुरेन्टद्वारा पेट्रोल कुपन
आजपाले आइतबार गरेको मोटरसाइकल ¥यालीका लागि मौलापुर नगरपालिकामा हालै सञ्चालनमा आएको एउटा रेष्टुरेन्टले कुपन बाँडेको देखिएको छ । रेष्टुरेन्टको छाप र हस्ताक्षरसहितको कुपनमा एउटा मोटरसाइकललाई साढे दुई लिटर पेट्रोल दिने लेखिएको छ । कुपनको क्रमसंख्या अनुसार मोटरसाइकल ¥यालीमा हजार भन्दा बढी मोटरसाइकल रहेका थिए । सार्वजनिक भएको रेष्टुरेन्टको कुपनको क्रम संख्या ८९४ रहेको छ । यसै महिनाको प्रारम्भमा आजपाका अध्यक्ष समेत रहेका सांसद प्रभु साह र उनकी पत्नी मेयर रिना साहले रेष्टुरेन्टको उद्घाटन गरेका थिए । गौर हत्या काण्डका दोषीलाई कारबाहीका लागि भइरहेको विरोध कार्यक्रममा सांसद साह र मौलापुर नगरपालिकाले आर्थिक सहयोग गरिरहेको आरोप लगाइएको छ ।

बन्द विफल पार्न प्रशासन सक्रिय हुने
गौर हत्या काण्ड पीडित संघर्ष समितिले सोमबार रौतहट बन्द आह्वानलाई विफल बनाउन प्रशासन सक्रिय रहने बताइएको छ । बजार, यातायात, शिक्षण संस्थालगायतका निकायहरु बन्द नगर्न ६ दलीय संघर्ष समितिले आह्वान गरेको छ । बन्दलाई विफल गराउने जिम्मेवारी प्रहरी प्रशासनले लिएको बताउँदै जनता समाजवादी पार्टी(जसपा)का केन्द्रीय सदस्य योगेन्द्र यादवले आम गौरवासी प्रभु साहलाई कारबाही हुनुपर्ने पक्षमा रहेकाले बन्दको प्रभाव नपर्ने दावी गरे । ‘ काशीनाथ तिवारीलगायतका हत्यामा प्रत्यक्ष संलग्न रहेका साहलाई कारबाही नगरी हामी अझ सशक्त विरोधमा उत्रने छौ’ यादवले भने, दर्जनौ बढी हत्याका नाइके साहले फेरि रौतहटमा राजनीतिक द्वन्द्व चर्काएर हिंसा गराउन खोजेका छन् ।

Comment


Related News

Latest News

Trending News