अपडेट 
२०८० श्रावण १६, मंगलवार ०७:३०

मधेश प्रदेश सरकारले सोमबार पूर्णता पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारलाई पूर्णता दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा कांग्रेसबाट मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन् । उनी सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित भएका हुन् । सभासद समिम पहिलो पटक सरकारमा गएका छन् ।

कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका संसदीय दलका नेता कृष्णा यादवका अत्यन्त सहयोगी मानिने मो.समिमलाई सरकारमा पठाउने तयारी पहिले नै भए पनि केन्द्रीय सभापतिको ‘ ग्रीन सिग्नल’ नहुँदा रोकिएको थियो । गत हप्ता सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा जनकपुरधाम आउँदा मो.समिम सरकारमा जाने वातावरण बनेको थियो ।

यसैगरी, जनमत पार्टीबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् । उनी महोत्तरी जिल्लाबाट समानुपातिक कोटामा सभासद भएका छन् । सिंह प्रदेश सभामा जनमत पार्टीका प्रमुख सचेतक थिए । यस अघि जनमत पार्टीबाट बिना विभागीय मन्त्री रहेका वसन्त कुशावाहाले राजीनामा दिएका थिए । कुशवाहा दुई महिना भन्दा बढी समयदेखि नै बिना विभागीय मन्त्री थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका बेला उनले मन्त्रीको आचरण प्रतिकूल कार्य गरेको आरोप लागेको थियो ।

मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले आजै पार्टीको निर्देशनमा राजीनामा दिएका थिए। सिंहलाई पनि बिना विभागीय मन्त्रीको शपथ गराउने तयारी थियो । तर जनमत पार्टी संसदीय दलका नेता समेत रहेका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले विभाग नदिए आफू पनि सरकारबाट अलग्गिने धम्की दिएपछि मुख्यमन्त्री यादवले सिंहलाई मन्त्रालय दिएको बताइएको छ । स्रोतहरुका अनुसार मुख्यमन्त्री यादव सिंहप्रति सकारात्मक रहेका छन् । नेपाल सद्भावना पार्टीको राजनीतिमा दुबै जनासंगै काम गरेका थिए ।

जनमत पार्टीबाट राज्यमन्त्री रहेका सञ्जय कुमार यादवले पनि राजीनामा दिएका छन् । उनको व्यवस्थापन शिक्षा मन्त्रालयमा गर्ने भनिए पनि सिंहका लागि मन्त्रालयको जनमतले अडान नछाडेपछि राज्यमन्त्री छाड्नु परेको स्रोतले जनाए । जनता समाजवादी पार्टी( जसपा)नेपालको तर्फबाट मन्त्री बनेकी सुरिता साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । मन्त्री साहले शिलान्यास, उद्घाटन गर्ने, ज्ञापन बुझ्नेलगायतका काम गर्ने छिन् । तर उनलाई चाँडै नै मन्त्रालयको जिम्मेवारी दिने तयारी सरकारले गरेको बताइएको छ । मन्त्री साहसँगै बिना विभागीय रहेका राज्यमन्त्री शेष अबुलकलाम आजाद(फूलबाबु) लाई उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा राज्यमन्त्री बनाइएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार साँझ नै पद तथा गोपनीयताको शपथ गराएका छन् । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुबै जना बिना विभागीय मन्त्री थिए । मधेश प्रदेशमा एमाले बाहेक सबै दल अब सरकारमा छन् । सरकार गठनको बखत एमाले भने सरकारमा थिए । सरकार गठनकालदेखि नै जनमत सरकारमा सहभागी छ ।

कांग्रेसले एमालेबाट चुनिएका सभामुख रामचन्द्र मण्डललाई हटाउन दुई तिहाइ बहुमत पु¥याएको छ । तर सत्ता गठबन्धकै केही दलले सभामुख हटाउन कांग्रेसलाई सघाउने सकारात्मक प्रतिक्रिया दिइसकेका छैनन् । सभामुख फेर्न प्रदेश सभामा चाहिने २ तिहाइ बहुमत सरकार सित छ । जनमत र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले कांग्रेसलाई सघाउन तयार छ । जसपा, नेकपा एस र माओवादी केन्द्र हच्किन सक्ने सम्भावना छ । सरकारलाई पूर्णता दिएपछि मुख्यमन्त्री यादवले भने,सरकारले अब द्रुतगतिमा काम अगाडि बढाउने छ । सुख्खाको समस्याबाट पीडित प्रदेशवासी र किसानलाई राहत दिन विभिन्न पहलहरु भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News