अपडेट 
२०८० श्रावण १९, शुक्रबार ०६:४५

नागरिकता सम्बन्धी कसुर मुद्दामा बिहीबार महेन्द्र कुमार यादव अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

यादव सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा कुमारी यादवका श्रीमान् छन् । सोही मुद्दामा १२ दिनअघि उपप्रमुख मीरा एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेकी छन् । अनुसन्धानका क्रममा पटक पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मीरालाई गत साउन ८ गते सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इंगनामको इजलासले एक लाख धरौटी बुझाई तारेखमा रिहा गर्ने आदेश जारी गरेको थियो ।

प्रतिवादी कृष्णकुमार यादवले भारतको समेत नागरिकता लिएको भन्दै उपप्रमुख मीरा र उनका श्रीमान महेन्द्र र स्थानीयवासी सहदेव यादवविरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेका थिए । उक्त प्रकरणमा अर्का आरोपि सहदेव यादव पनि तीन दिनअघि अदालतले दिएको आदेश बमोजिम एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेका छन् ।

उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा उपस्थित भएका थिए । उनलाई पनि अदालतले धरौटीमा छाड्ने अनुमान धेरैले गरेका थिए । तर, न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले महेन्द्रलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएसँगै आफन्त चकित परे । अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

डाक्नेश्वरी नगरपालिका –३ का कृष्ण कुमार यादवले गत असार १७ गते मीरा, उनका श्रीमान महेन्द्र र स्थानीय सहदेव यादवविरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धी कसुर मुद्दा दर्ता गराएका थिए । प्रहरीले उक्त मुद्दा दर्ता गर्न आलटाल गरेपछि उनी अदालत पुगेका थिए । उच्च अदालत जनकपुृर–राजविराज इजलासले उक्त मुद्दा उपर सुनुवाइ गर्दै परमादेश जारी गरेको थियो । त्यसपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मीराको नाम रहेको विवरण सूचीका साथै अनुमण्डलीय न्यायालय निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथपत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचानपत्रसमेत उजुरी मार्फत पेश गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News