अपडेट 
२०८० श्रावण १९, शुक्रबार ०६:५०

धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । स्थानीय अभियन्ताहरुले ढल्केवर विकास संघर्ष समिति गठन गरेर इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहलकदमी लिएका छन् ।

बिहीबार ढल्केवर विकास संघर्ष समितिका संयोजक फुलगेन महतोको नेतृत्वमा पुगेका टोलीले ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। ढल्केवर भेगका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरबाट प्रदान गरिने सेवा जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय तवरले पु¥याइ संघीयताको धरातलीय अनुभूति अन्तर ह्रदयबाटै गराउने उद्देश्यले इलाका प्रशासन कार्यालय ढल्केवर स्थापना गरिदिन र सोको लागि नेपाल सरकार गृह मन्त्रालयमासमेत आवश्यक समन्वय, पहल तथा सहजीकरण गरिदिन ज्ञापनपत्रमा माग गरिएको छ ।

अहिले मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिकालगायत यस भेगका नागरिकलाई नागरिकता, राहदानी, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न सिफारिसलगायत आम जनताको दैनिक जीवनसँग प्रत्यक्ष एवं परोक्ष रुपमा सरोकार राख्ने विविध प्रशासनिक कार्यका लागि लामो दुरीको यात्रा गरेर जनकपुर धाउनैपर्ने बाध्यता रहेको समितिका संयोजक फुलगेन महतोले बताए । ‘सबै नागरिकलाई जनकपुरधाम पुगी सेवा लिने हैसियत छैन । विचौलियामार्फत मात्र चाँडो सेवा लिन सकिने अवस्थाको सामना गर्नुपरेको छ । आर्थिक रुपमा क्षति व्यहोर्नुपर्ने बाध्यता छ । हालै मात्र जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्तिका लागि झेल्नुपरेको सास्ती ज्वलन्त उदाहरण हो,’ प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले इलाका प्रशासन कार्यालय स्थापनाको प्रयास सराहनीय रहेको बताए । ‘यो माग अहिलेको आवश्यकता हो । यस विषयमा गृहमन्त्री र सचिवज्यूलाई पनि अवगत गराएको छु’ उनले भने, ‘यो मागमा म पूर्ण सकारात्मक छु । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’ ज्ञापनपत्र बुझाउन संघर्ष समितिका पदाधिकारीहरुसँगै मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष सन्तोषकुमार महतो, व्यापारी, सञ्चारकर्मी र स्थानीय अभियानकर्ताको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News